राष्ट्रिय जनमोर्चाले विभिन्न ठाउँमा अलपत्र परेका नागरिक तथा विपन्न समूदायप्रति मानवीयता देखाउन सरकारसँग आग्रह गरेको छ। गन्तव्यमा पुग्न पैदल हिँडिरहेका नागरिकहरुलाई रोकेर होइन गन्तव्यमा पुर्याएर स्वास्थ्य परीक्षण तथा क्वारेन्टिनको व्यवस्था गर्न राजमोले माग गरेको छ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले शुक्रबार एक वक्तव्य प्रकासित गरी आफ्नो घर पुग्न पैदलै हिँडिरहेका नागरिकहरु तथा भारतीय सीमामा अलपत्र परेका नेपालीहरुप्रति सरकार सम्वेदनशील बन्न नसकेको आरोप लगाएकी छन्।
देशका विभिन्न स्थानहरूमा रोजगारी समाप्त भएर बेखर्ची भएर आफ्ना गाउँघरमा जानका लागि पैदल हिँडेका बृद्ध, बिरामी र गर्भवती महिलाहरूलगायतका नागरिकबारे सरकारले मानवीय र न्यायसंगत व्यवहार नगरेको राजमोले आरोप लगाएको छ। ‘कैयौँ जिल्लाहरूले उनीहरूलाई आफ्नो जिल्लामा प्रवेश गर्नको लागि प्रतिबन्ध लगाएको र फर्काउने गरेका छन्। त्यो अत्यन्त अमानवीय र क्रुर व्यवहार हो’ राजमोले भनेको छ।
विदेशस्थित सबै प्रवासी नेपालीहरूको हित र मानव अधिकारको रक्षा गर्नु नेपाल सरकारको जिम्मेवारी भएको स्मरण गराउँदै वक्तव्यमा विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार नेपालीहरू जुन देशमा रहेका छन्, त्यही नै आवश्यक व्यवस्था मिलाउनु कूटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ।
यस्तै, राजमोले कोरोना संक्रमणलाई हल्का रुपमा नलिएर गम्भीर तयारी गर्न पनि सरकारसँग आग्रह गरेको छ।
प्रतिक्रिया