राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका चिकित्सक रन्जित साहले शुक्रबार थप १४ जनामा कोरोना संक्रमित भएको पुष्टि गर्दा नेपाल पनि अन्य देशकै बाटोमा हिँडेको जस्तै महसुस भएको बताएका छन्।
कन्सल्टेन्ट माइक्रोबाइलोजिष्ट डा. साह कै नेतृत्वमा राष्ट्रिय प्रयोगशालामा कोरोना संक्रमण भए/नभएको परीक्षण हुने गर्छ। शुक्रबार उदयपुरका १२ र चितवनका २ जनाको नमूना समेत उनकै नेतृत्वमा परिक्षण गरिएको थियो।
अरु देश झै नेपालमा पनि संक्रमित बढ्दै गएको तर्फ इंगित गर्दै उनले भनेका छन्, 'यी केसहरु पुष्टि गर्दा साच्चैकै हामी अरु देशकै बाटोमा हिडेको अनुभव भयो। हामीले यस भाइरसलाई गम्भीर रुपमा लिनुपर्छ।'
शुक्रबार दिउँसोसम्म नेपालमा १६ जनामा मात्रै कोरोना संक्रमण थियो। तर, शुक्रबार साँझ नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका १२ तथा चितवनका २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।
नेपालमा स्थानीय संक्रमण बढेको आशंका गरिएकाबीच साह भन्छन्, 'मानिसहरुले शारिरिक दूरी कायम गर्ने चेना विकास गर्नुपर्छ। सबैले अनिवार्य घर बसौं। शंकास्पदहरुको परिक्षण गरौं।'
Shares
प्रतिक्रिया