कोरोना (कोभिड–१९) संक्रमणको त्रासका कारण प्रतिनिधि सभाको बैठक चैत १३ सम्मका लागी स्थगित गरिएको छ।
संसदकाे उपल्लाे सदन राष्ट्रिय सभाको बैठक पनि चैत १३ सम्म स्थगित गरिएको छ।
सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकले शुक्रबारका लागि तय भएको प्रतिनिधि सभा बैठक सार्ने निर्णय गरेको हो।
‘कोरोना संक्रमणको त्रास र सोहि कारण देखाउँदै सरकारले २५ जनाभन्दा बढि भेला हुन निषेध गरेको हुँदा बैठक सार्ने निर्णय गरिएको हो,’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालखबरलाई बताए।
उनले प्रतिनिधि सभाको कुनै निर्णय गर्न आवश्यक पर्ने न्यूनतम संख्या (कोरम) पु¥याउन पनि ६९ जना सांसद बैठकमा उपस्थित हुनुपर्ने हुँदा बैठक गर्न संभव नभएको बताए।
उनका अनुसार कार्य व्यवस्था परामर्श समितिले सभाको बैठक एकैपटक लामो समयसम्म सार्न नसक्ने हुँदा अर्को बैठक चैत १३ गतेका लागि तोकिएको बताए।
परिस्थितिमा सुधार नभए सो समितिले पुनः बैठक सार्नेछ, उनले भने।
यसैबीच राष्ट्रिय सभाको बैठक पनि कार्यव्यवस्था परामर्श समितिले चैत १३ गते सम्मका लागि स्थगित गरेको छ।
सरकारले २५ जनाभन्दा धेरै जम्मा हुने सभा, बैठक आयोजना नगर्न भने पनि राष्ट्रिय सभाले सोको अवज्ञा गदै बिहीबार बैठक राखेको थियो।
प्रतिक्रिया