राष्ट्रपति असरफ गानीले लडाकु छाड्न आदेश दिएपछि सरकार र तालिबानबीच पनि अब शान्ति स्थापना हुने विश्लेषण गरिएको छ।
सुरुमा गानीले तालिबान लडाकु छाड्ने विषय अमेरिका र तालिबानको सम्झौताले तय नगर्ने र त्यो अफगान सरकारको आन्तरिक विषय भएको बताएका थिए।
तर सोमाबर गानीले राष्ट्रपतिमा सपथ लिँदा विपक्षी दलका नेता अब्दुल्लाह अब्दुल्लाहले पनि स्वयं राष्ट्रपतिको सपथ लिएका थिए। उनले गानीले जाल झेल गरेर राष्ट्रपति बनेकाले त्यो आफूलाई अमान्य भएको बताएका थिए।
यससँगै त्यहाँ राजनीतिक संकट चुलिएको थियो। संकटको अवस्थामा गानीले तालिबान लडाकु छाड्ने बताएका थिए। यसबीचमा अमेरिकाले भने अफगानिस्तानमा दुई राष्ट्रपति मान्य नहुने अभिव्यक्ति दिएको छ।
गानीले तालिबान लडाकुले हिरासत मुक्त हुनपूर्व फेरि युद्ध मैदानमा कहिल्यै नफर्कने लिखित प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका छन्। गानीको घोषणामा १५ दिनभित्र एक सयका दरले लडाकुहरु दैनिक छाडिनेछन्।
तालिबान लडाकु छाडेपछि तालिबान पक्षले हजारभन्दा बढी सरकारी सेना र प्रहरी मुक्त गर्ने बीबीसीले जनाएको छ। यसअघि मंगलबार तालिबानका अधिकारीहरुले आफूले आफ्ना लडाकु फर्काउन गाडीहरु पठाएको बताएका थिए।
अमेरिका र तालिबान करिब २० वर्षयता जारी युद्ध अन्त्य गर्ने सहमतिमा पुगेपछि अफगान सरकारसँग पनि तालिबानको शान्तिको बाटो खुलेको हो।
गत फेब्रुअरीको अन्तिममा अमेरिका र तालिबानबीच भएको सहमतिअनुसार तालिबान शान्ति प्रक्रियामा आउनु पर्नेछ र अमेरिकाले आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता लानु पर्नेछ।
सहमतिमा अमेरिकाले तालिबान र सरकारबीच शान्तिवार्तामा सघाउ पुर्याउनुपर्ने उल्लेख थियो।
अमेरिकाले गत सोमबारदेखि नै सेनाहरु फर्काउन थालेको बताएको छ। सम्झौताअनुसार अमेरिकाले १ सय ३५ दिनभित्र १२ हजारदेखि ८ हजार ६ सयसम्म आफ्ना सेना फिर्ता बोलाउनेछ। १४ महिनाभित्र सबै अमेरिकी सेना फिर्ता भइसक्नेछ।
आगामी दिनमा यसरी नै तालिबान, अमेरिका र सरकारबीच शान्ति सम्झौताबारे छलफल जारी रहनेछ। तालिबानका ५ हजार लडाकुहरु र सरकारका अन्य सेना तथा प्रहरीहरु सहमति अनुसार क्रमश छाडिनेछन्।
अफगानयुद्धको पृष्ठभूमि
सन् २००१ सेप्टेम्बर ११ मा जब अमेरिकामा आतंकवादी आक्रमण भयो त्यसको एक महिनापछि अमेरिकाले तालिबानविरुद्ध अफगानिस्तानमा आक्रमण थालेको थियो।
अमेरिकामा आक्रमण गर्ने ओसामा बिन लादेनलाई सुम्पन अस्वीकार गरेपछि अमेरिकाले आक्रमण थालेको थियो।
त्यसबेला तालिबान समूह अफगानिस्तानको सत्तामा थियो। अमेरिकासँग अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरु लागेपछि तालिबान सत्ताबाट तत्काल हटाइएको थियो।
त्यसयता तालिबानले विद्रोहीको रुपमा अफगान सरकारलाई निस्क्रिय बनाउने हिसाबले आक्रमण गर्दै आएको छ।
सन् २०१४ मा अन्तर्राष्ट्रिय गठबन्धनको तालिबानविरुद्ध आक्रमण अभियान समाप्त भएको थियो। तर अमेरिकाले अफगान सरकारलाई साथ दिँदै तालिबानविरुद्ध आक्रमण गरिरह्यो।
यद्यपी तालिबानले आफ्नो पकडलाई थप मजबुत बनाउँदै आएको छ। बीबीसीका अनुसार तालिबानले सन् २०१८ मा अफगातिस्नातको ७० प्रतिशत स्थानमा सक्रिय रुपमा गतिविधि सन्चालन गरिरहेका थिए।
अफगान युद्धमा अन्तर्राष्ट्रिय गठबन्धनका ३५ सय सेनाको मृत्यु भएको छ। तीमध्ये २३ सय अमेरिकी सेना हुन्।
यस युद्धमा अफगानका सर्वसाधारण, अफगान सेना र तालिबान लडाकु कति मरे भनेर यकिन तथ्यांक छैन। सन् २०१९ मा संयुक्त राष्ट्रसंघले अफगान युद्धमा ३२ हजार सर्वसाधारणको ज्यान गएको बताएको थियो।
ब्राउन युनिभर्सिटीको अनुसन्धानअनुसार अफगान युद्धमा ५८ हजार सुरक्षाकर्मी मारिँदा ४२ हजार तालिबान लडाकु मारिएका छन्। एजेन्सी
प्रतिक्रिया