आज बिहान बस्ने भनिएको संसदीय सुनुवाइ समितिकाे बैठक दिउँसोको लागि सरेको छ।
श्रीलंकका लागि राजदूत प्रस्तावित रामकृष्ण भट्टराईको विषयमा निर्णय लिन मंगलबार बिहान ९ बजे हुने भनिएको समितिकाे बैठक आज दिउँसो ३ बजेको लागि सरेको हो।
श्रीलंकाका लागि राजदूतमा प्रस्तावित भट्टराईले संसदीय सुनुवाइ समितिमा आवश्यक शैक्षिक योग्यताको प्रमाण पत्र बुझाउन सकेका छैनन्।
उनीबारे निर्णय लिन सोमबार समितिको बैठक बोलाइएको थियो। समिति सदस्य श्याम घिमिरेकाअनुसार दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा भट्टराईबारे हिजो निर्णय भएको थिएन।
उनले राजदूत बन्न चाहिने आवश्यक स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र अझै समितिमा बुझाउन सकेका छैनन्। आजसम्म पनि भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाए उनको नाम राजदूतमा अस्वीकृत हुने समिति सदस्यहरुले बताएका छन्।
प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम संसदीय समितिले अनुमोदन गरेको थियो। तर, त्यतिबेला भट्टराईको स्नातकको प्रमाणपत्र नपाइएपछि उनको विषयलाई थाँती राखिएको थियो।
Shares
प्रतिक्रिया