मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गरेका छन्।
संविधान दिवस–२०८१ को पूर्वसन्ध्यामा दिएको शुभकामना सन्देशमा पूर्वअध्यक्ष रेग्मीले परिणाममुखी कामले मात्र जनआकांक्षा पूरा हुने भएकाले संविधान लक्षित उद्देश्यतर्फ अघि बढ्न सुझाव दिए। ‘स्थिरता, जनसहभागिता, प्राप्त हकअधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएकाले यसको संवर्द्धन गर्नु आजको लोकतन्त्रको सारभूत विषय हो। हाम्रा सबै क्रियाकलाप यसतर्फ केन्द्रित हुनुपर्दछ,’ उनले भने।
पूर्वअध्यक्ष रेग्मीले भने, ‘अब अलमलिने र अलमल्याउने छुट कसैलाई छैन। आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका छन्।’
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्त्वपूर्ण कार्यभार र आवश्यकता भएकाले जनताको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न सबैलाई सुझाव दिए।
पूर्वप्रधानन्यायाधीश रेग्मीले अहिले संविधान संशोधनको विषय एजेन्डाका रुपमा सरकार पक्षबाट उठाइएकाले सार्वजनिक चासो र बहसको विषय बनिरहेको उल्लेख गरे।
‘संविधान दिवसका अवसरमा नेपाली जनताका आकांक्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस्, सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले भने।रासस
Shares
प्रतिक्रिया