२० वर्षीया एकल आमा इसाटा, सियरा लियोनमा यौनकर्मीहरूको डरलाग्दो जीवनको प्रतीक हुन्।
उनलाई कुटियो, लुटियो, अपहरण गरियो, अर्को देशमा बेचियो, उद्धार गरियो, फेरि बेचबिखन गरियो र त्यसपछि उद्धार गरियो।
यसबीच उनलाई खतरनाक ड्रग ‘कुश’को लत लाग्यो, यो त्यही नशा हो, जसले पश्चिम अफ्रिकी देशहरूमा आतंक मच्चाइरहेको छ।
बीबीसी अफ्रिका आईले सियरा लियोनको राजधानी फ्रिटाउनबाट करिब २०० किलोमिटर टाढा रहेको मकेनी सहरमा यौनकर्मीहरूको एक समूहको जीवनलाई नजिकबाट नियाल्यो।
यो सहर एउटा त्यस्तो क्षेत्रमा छ, जहाँ हीरा पाइन्छ, जुन हीराले सियरा लियोनलाई गृहयुद्धलाई धकेलेको थियो।
यी महिला जो आफ्नो परिवार चलाउन निकै कष्ट भोगिरहेका छन्
मकेनीमा बस्ने इसाटा, सयौँ यौनकर्मीमध्ये एक हुन्। हामीले कुरा गरेका धेरै महिलाजस्तै इसाटाले पनि आफ्नो पहिलो नाम मात्र प्रयोग गर्न चाहिन्।
उनी भन्छिन्, ‘जति त्याग गरिरहेकी छु, छोरीको लागि गरिरहेकी छु। मैले सडकमा धेरै पीडा सहेकी छु।’
उनी थप्छिन्, ‘मैले एउटा क्लबमा एकजना मानिसलाई भेटेँ। उसले मेरो लुगा च्यात्यो। मेरो ब्राबाट पैसा निकाल्यो। म उसबाट फुत्किने प्रयास गर्दै थिएँ। उसले आफ्नो बन्दुकले मलाई पछाडि हिर्कायो। ऊ मलाई मार्न चाहन्थ्यो।’
यो निकै खतरापूर्ण जीवन हो, हामीले भेटेका केही महिला एचआईभीबाट संक्रमित छन्, केहीको सोही कारण मृत्यु भइसकेको छ।
धेरै महिलालाई लाग्छ- आफूहरूसँग विकल्प एकदमै कम छन्।
सहरको एउटा अँध्यारो र दलदलयुक्त क्षेत्रमा दुईजना यौनकर्मीले खाली अन्नका बोरा भुइँमा छरिएको ठाउँतर्फ इशारा गरे।
एक युवती माबिन्तीले भनिन्, ‘यो त्यही ठाउँ हो जहाँ हामी दुवै सँगै काम गरछौँ।’
एकै रातमा दस जनासम्म पुरुषसँग भेट भएको उनले सुनाइन्। उनका अनुसार एक व्यक्तिले एकपटकका लागि एक डलर दिन्छन्।
उनी राम्रो पैसा कमाउने प्रयास गर्छिन् ताकि आफ्ना छोराछोरीलाई सहयोग गर्न सकियोस्। उनका ६ सन्तान थिए तर तीन जनाको मृत्यु भइसकेको छ। बाँकी तीनजना विद्यालय जान्छन्।
उनी भन्छिन्, ‘एउटा बच्चाले भर्खरै परीक्षा दियो, यदि मैले यौन नबेच्ने हो भने मसँग मेरा बच्चालाई स्कुल पठाउन पैसा पनि हुँदैन। यो मेरो पीडा हो।’
यौनकर्मी महिलाको संख्या बढ्दै
एक अनुमानअनुसार सियरा लियोनमा हजारौँ महिलाले यौन व्यवसाय अपनाएका छन्।
यीमध्ये धेरै युवती यस्ता छन्, जो युद्धपछि अनाथ भए। ५० हजारभन्दा बढी मानिसको ज्यान लिएर २०२२ मा अन्त्य हुनुअघि नै यो युद्धले देशको आधा संख्याका मानिसलाई विस्थापित गरेको थियो।
परोपकारी समूहहरूका अनुसार इबोला र कोरोना भाइरसको महामारीका कारण उत्पन्न आर्थिक बोझका कारण यौनकार्य गर्ने युवतीको संख्या बढेको छ। अन्य संकटजस्तै यो संकटको असर पनि महिलाहरूमा बढी परेको छ।
यो देशमा यौन पेसा गैरकानुनी त छैन तर यी महिलालाई समाजबाट अलग मानिन्छ। उनीहरूले सरकार वा समाजबाट एकदमै कम मात्र सहयोग पाउँछन्।
इसाटा जब पहिलोपटक मानव तस्करको फन्दामा परिन्
२०२० मा इसाटालाई भेटेको केही समयपछि नै उनलाई एक आपराधिक गिरोहले अपहरण गर्यो र यौन दासीसरह गाम्बिया, सेनेगल र अन्तमा मालीमा बेचिदियो।
उनले कुनै न कुनै तरिकाले फोनसम्म पहुँच बनाइन् र आफ्नो अवस्थाको बारेमा जानकारी दिइन्।
उनले भनिन्, ‘उनीहरू हामीकहाँ जसरी आइपुग्छन्, लाग्छ– तिनले हामीलाई मार्छन्। मलाई धेरै पीडा भोगिरहेकी छु।’
त्यसपछि बीबीसी अफ्रिका आईले उनलाई खोज्यो र फेला पार्यो र संयुक्त राष्ट्रसंघको निकाय, इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनलाई सियरा लियोन फर्काइयो।
उनले यौन कार्य छाडेकी थिइन् तर हामीले जब उनलाई २०२१ मा भेट्यौँ तब उनलाई स्थानीय भान्छामा खाना पकाएर आफ्नी छोरीको पालनपोषणका लागि पैसा जुटाउन निकै मुस्किल परिरहेको थियो।
अर्कोपटक हामीले सन् २०२३ मा इसाटाको बारेमा जानकारी पायौँ। त्यतिबेलासम्म उनी ‘कुश’को लतमा परिसकेकी रहिछन् अनि र फेरि यौन व्यवसायमा कार्यमा फर्किसकिछन्। ‘कुश’ एउटा लागुऔषध हो, जुन सस्तोमा बेचिन्छ र यसमा मानव हड्डी पनि पाइन्छ।
यो लागुऔषध सियरा लियोनमा यति ठूलो समस्या हो कि राष्ट्रपतिले यसलाई राष्ट्रिय आपत्काल घोषणा गरेका छन्।
यही लतका कारण इसाटाले आफ्नो कान्छो बच्चालाई अलपत्र छाडिन्। जतिबेला बच्चा चार महिनाका मात्र थिए। उनको हेरचाह इसाटाकी आमा पोसेहले गरिरहेकी थिइन्।
पोसेह भन्छिन्, ‘सडक जीवनले उनलाई कुश खान बाध्य बनायो। तनाव नै कारण हो।’
'म पीडा भूल्न धूमपान गर्छु'
नाटा करिब २० वर्षकी भइन् र उनी पनि एकल आमा हुन्। उनका तीन छोरी छन्।
हामी उनलाई भेट्न उनको घरमा उनी कामका लागि बाहिर जाने तयारी गर्दै थिइन्।
उनी भन्छिन्, ‘म मेरा छोराछोरीले आफ्नो जीवनमा केही राम्रो गरून् भन्ने चाहन्छु। मलाई आशा छ- भगवान्ले मेरो प्रार्थना सुन्नुहुन्छ।’
उनकी छोरी आफ्नी आमाले मेकअप गरिरहेको हेरिरहेकी छन्। उनले ठूलो भएपछि वकिल बन्ने चाहना रहेको बताइन्।
उनी भन्छिन्, ‘म मेरी आमालाई मद्दत गर्न चाहन्छु।’
सहरको अर्को भागमा हामीले अर्की १० वर्षीया बालिका भेट्यौँ। उनको नाम थियो- रुगियाटु।
उनकी आमा जिना पनि यौनकर्मी थिइन्, तर उनको २०२० मा १९ वर्षको उमेरमै हत्या भएको रहेछ।
रुगियाटु भन्छिन्, ‘मेरा आमाबुबा बितिसक्नुभएको छ। अहिले हजुरआमा मात्र हुनुहुन्छ। उहाँ पनि बित्नुभयो भने त मैले सडकमा भिख माग्नुपर्छ। म सडकमा मारिन चाहन्नँ।’
जब हामीले नाटालाई दोस्रोपटक देख्यौँ, हामीले उनलाई चिन्न सकेनौँ। उनी पनि कुशको लतमा फसिसकेकी रहिछन्।
त्यसपछि उनले हामीलाई भनिन्, ‘यसरी बाँच्नुपर्दा म खुसी छैन, तर म धेरै सोच्न चाहन्नँ। कहिलेकाहीँ सम्झेर रुन्छु। त्यसैले म धूमपान गर्छु ताकि पीडा भूल्न सकूँ।’
उनका तीन छोरी अहिले आफन्तसँग बस्न बाध्य छन्।
जब इसाटा फेरि मानव तस्करको सिकार भइन्
फेरि २०२४ को सुरुमा इसाटाका लागि नराम्रो दिन आयो। उनी फेरि मानव तस्करको फन्दामा परिन्। तस्करले उनलाई घानामा बच्चा हेर्ने काममा लगाइदिने आश्वासन दियो। तर उनलाई माली लगियो र सुनखानी क्षेत्रमा यौन कार्य गर्न बाध्य पारियो।
इसाटाले हामीलाई फोनमा भनिन्, ‘म घर फर्कन चाहन्छु, मेरो बिन्ती छ, मलाई पश्चाताप भइरहेको छ।’
बच्चा हेर्ने जागिर दिने भनेको व्यक्तिले आफूलाई हरेक प्रहरी चेक प्वाइन्ट र सीमा नाका छल्दै लग्दा आफू चिन्तित भएको उनले बताइन्।
इसाटा सुनाउँछिन्, ‘उसले मलाई जोय नामकी नाइजेरियाली महिलालाई सुम्प्यो।’
‘हामीले सोध्यौँँ– तपाईंले हामीसँग घानामा बच्चा हेर्ने काममा लाने भन्नुभएको थियो, यो घाना हो र?’
‘त्यसपछि जोयले सोधिन्– तिमीहरूलाई यौन कार्यका लागि लगिँदै छ भनेर भनिएको थिएन? अनि मैले भनेँ, ‘अहँ!’
‘जोयले भनिन्– त्यसो भए जाऊ केही थप पैसा ल्याएर मलाई देऊ।’
बेचबिखनमा परेका अन्य महिलाहरूलाई जस्तै इसाटालाई पनि मुक्त हुन चाहने हो भने तस्करलाई ठूलो रकम तिर्नुपर्ने बताइयो।
इसाटालाई १७०० डलर तिर्न भनियो।
यति रकमका लागि उनले सयौँ पुरुषसँग यौनसम्पर्क राख्नुपर्ने थियो। यो रकम तीन महिनाभित्र तिर्नुपर्ने तस्करले बताए।
संयुक्त राष्ट्र संघको निकाय इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन (आईओएम) ले तस्करको कब्जामा परेका मानिसलाई मद्दत गर्छ। आईओएमका अनुसार हरेक वर्ष बालबालिकासहित हजारौँ सियरा लियोनवासी बेचबिखनको सिकार हुने गरेका छन्।
उनीहरूलाई कि त अपहरण गरिन्छ वा राम्रो रोजगारीको आश्वासन दिएर देश बाहिर लगिन्छ र पछि बेचिन्छ। जहाँ उनीहरू कि मजदुरका रूपमा काम गर्छन् कि यौन शोषणमा पर्छन्।
तीमध्ये धेरैजसो आफ्नो घर फर्कन पाउँदैनन्।
इसाटा भने भाग्यमानी परिन्, जो अन्ततः मकेनी फर्कन सक्षम भइन् र अहिले उनी आफ्ना दुई छोराछोरी र आमासँग बस्छिन्। बीबीसी हिन्दी
Shares
प्रतिक्रिया