ad ad

राजनीति


रविको सांसद पद फेरि जाने र चितवन-२ मा तेस्रोपटक चुनाव हुने गोकुलको दाबी

रविको सांसद पद फेरि जाने र चितवन-२ मा तेस्रोपटक चुनाव हुने गोकुलको दाबी

फाइल तस्बिर : गोकुल बाँस्कोटा र रवि लामिछाने


नेपालखबर
असोज २, २०८१ बुधबार ९:६, काठमाडौँ

संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेपछि अहिले यसका पक्ष-विपक्षमा बहस भइरहेको छ। 

सत्ता पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने दोषी किटान भएको जिकिर गरिरहेका छन् भने लामिछाने पक्ष पनि आफू निर्दाेष प्रमाणित भएको दाबी गर्दै रमाइरहेको छ। सर्वसाधारण भने रनभुल्लमा परिरहेका छन्। 

यसैबीच सत्ता नेतृत्वकर्ता नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नाम नलिईकन पूर्वगृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्षेत्र नम्बर २ मा फेरि उपचुनाव हुने दाबी गरेका छन्। 

पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत ‘संसदीय समितिले दोषी ठहर’ गरेसँगै उनको सांसद पद फेरि पनि खारेज हुने र चितवन २ मा दोस्रोपटक उपनिर्वाचन हुने लगभग निश्चित भएको दाबी गरेका हुन्।    

‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीनवटा गर्न पनि तयारी हालतमा बस्न सक्ने’, बाँस्कोटाले लेखेका छन्, ‘कानुनविद्‌का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्काजस्तै छ भनिन्छ। ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई!’

संसदीय समिति एमालेकै सांसद सूर्य थापाको नेतृत्वमा रहेकाले बाँस्कोटाको भनाइ व्यंग्य मात्र नभई अर्थपूर्ण हुनसक्छ। 

यसअघि पनि नागरिकता प्रकरणका कारण सांसद पद गएपछि लामिछाने पुनः उपचुनावमा प्रतिस्पर्धा गरी सांसद चुनिनुपरेको थियो।

लामिछाने चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .