ad ad

राजनीति


ग्यास उत्पादन कम्पनीमा अनियमितताको आशंका सहित राप्रपाले माग्यो सूचना

ग्यास उत्पादन कम्पनीमा अनियमितताको आशंका सहित राप्रपाले माग्यो सूचना

नेपालखबर
भदौ १९, २०८१ बुधबार १२:२१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य खुस्बु ओलीले झापामा सञ्चालित ग्यास उत्पादन कम्पनीमा अनियमितताको आशंका सहित परियोजना सम्बन्धि सूचना माग गरेकी छिन्।

विश्व बै‌क, स्थानीय निकाय र उपभोक्ताको संयुक्त लगानीमा झापाको कन्काई–२ स्थित सुकेडाँगीमा निर्माण भएको कनकाई–विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहर व्यवस्थापन कम्पनीसँग त्यहाँ भएका सम्पूर्ण गतिविधिको विस्तृत विवरण माग गरेकी हुन्।  

१४ करोडको हारहारीमा सुरु भएको सो परियोजनाको लागत अहिले २२ करोड पुगेको र परियोजनामा अनियमितता भएको आशंका सहित नेतृ ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव प्रसाद ओझा सहितको टोलीले कन्काई नगर प्रमूख राजेन्द्रकुमार पोखरेलसँग परियोजनाको विवरण लिखित रुपमा माग गरेको हो।

सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार कुनै पनि नागरिकाले सरकारी निकाय र सार्वजनिक निकायसँग मागिएको विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने हुन्छ। परियोजनाको उच्चस्तरीय संयन्त्रको संयोजकमा नगर प्रमुख पोखरेल छन्।

निवदेन दर्तापछि ओलीले संचारकर्मीसँग भनिन्, ‘विश्व बैंकको ४० र बाँकी तीन नगरपालिका र स्थानीय उपभोक्ताको ६० प्रतिशत प्रतिशत लगानी सहित करिब १४ करोडको विस्तृत परियोजना प्रतिवेदन बनेको यो परियोजना अहिले लगभग बन्द हुने अबस्थामा छ। लागत निरन्तर बढिरहेको छ तर प्रतिफल छैन।’

ओलीका अनुसार अहिले २ प्रतिशत पनि पूर्ण क्षमतामा काम हुन सकिरहेको छैन्। यदि यो परियोजना बन्द भयो भने धेरै जनताको पैसा डुब्ने बताउँदै तत्कालै सरोकारवालाको ध्यानाकर्षण गर्न आफूले सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना मागेको जानकारी गराएकी छिन्। 

झापाको कन्काई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्येश्यले कम्पनी स्थापना गरेका हुन्।

प्लान्टमा हाल ७५० जनाभन्दा बढी उपभोक्ताले १० हजारदेखि एक करोड रुपैयाँसम्म शेयर लगानी गरेका छन् । 

ओलीले भनिन, ‘यसमा भएको लगानी अनुसार कार्य प्रगती नहुनु र यसका अन्य पक्षबारे जनताले यथार्थ जानकारी पाउनुपर्छ त्यसैले एक जिम्मेवार नागरिक, यहाँको स्थानीय र राजनीतिकर्मीको नाताले मैले यो पहल गरेको हुँ। उनले सूचनाको हक मार्फत सुशासन, पारदर्शीता कायम गर्नुका साथै भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुग्ने बताइन्। यदि समयमा नै सूचना प्राप्त नभएमा राष्ट्रिय  सूचना आयोगले यो विषय हेर्नसक्छ।’

‘सूचनाको हक सम्बन्धि अधिकार प्रयोग गरी त्यस परियोजनाको आर्थिक प्रतिवेदन, करचुक्ता, कार्य प्रगतिको विवरण, डिपीआर, सम्भाव्यता अध्ययनको रिपोर्ट माग गरेका छौं’, ओलीले भनिन्, ‘जनताको करोडौं पैसा कुनै आयोजनामा सिक्न र परिक्षणका लागि प्रयोग गर्न मिल्दैन, यो सरासर दुरुपयोग हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .