ad ad

राजनीति


कर्णालीमा प्रचण्डलाई सुझाव : भेटघाट बन्द गरेर योग–ध्यान थाल्नुस्

कर्णालीमा प्रचण्डलाई सुझाव : भेटघाट बन्द गरेर योग–ध्यान थाल्नुस्

योग दिवसमा प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


सागर न्यौपाने
भदौ १४, २०८१ शुक्रबार २१:२१, काठमाडौँ

कांग्रेस–एमाले गठनबन्धनका कारण सत्ताच्युत भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले देशका विभिन्न स्थान डुलिरहेका छन्। 

असार २८ गते सत्ताबाट हटेका प्रचण्डले सुरुमा पार्टीको पदाधिकारी (कार्यालय) बैठक राखे। त्यसपछि साउन २५ देखि ३१ सम्म स्थायी समिति बैठक राखे।

स्थायी समितिमा उनलाई झस्काउनेगरी उपमहासचिव जनार्दन शर्माले पार्टीका समस्या र निर्माण सम्बन्धी प्रस्ताव ल्याएपछि प्रचण्डले देश घुम्ने योजना बनाए।

भदौ ५ गतेदेखि सुरु भएको प्रदेशस्तरीय परामर्श बैठक असोज १ गतेसम्म चल्नेछ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरूको लर्काे लिएर प्रचण्ड काठमाडौँदेखि सुदूरपश्चिम हुँदै अहिले कर्णाली प्रदेशमा पुगेका छन्।

९ दिनसम्मको बैठकमा बोल्ने झण्डै चार सय नेताले धारणा राखिसकेका छन्।

बोल्ने अधिकांश नेता प्रचण्डको पक्षमा रहेको बताए पनि कतिपयले उनीप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

परामर्श बैठक अन्तर्गत अहिलेसम्म बागमती प्रदेश, उपत्यका विशेष सम्पर्क समन्वय,  गण्डकी प्रदेश र सुदूरपश्चिमका नेताहरूले बोलिसकेका छन्।

परामर्श बैठकबाट निस्केको निचोडका आधारमा प्रचण्डले राजनीतिक प्रतिवेदन बनाएर असोजको पहिलो हप्ता बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्न लागेका हुन्।

उपमहासचिव शर्माले ल्याएको प्रस्तावले माओवादीमा खैलाबैला मच्याएको छ। प्रचण्डले देशव्यापी कार्यकर्ताको मुड बुझ्न परामर्श बैठक राखेका हुन्।

शर्माको पक्षमा समेत नेताहरू उभिएका छन्। केही नेताले खुलेर शर्माको समर्थन गरेका छन् र प्रचण्डलाई सुध्रन चेतावनी दिएका छन्।

जनार्दनले सांगठनिक नेतृत्व तेस्रो तहलाई दिन सुझाव दिएका छन्। आफ्नै विरुद्धमा जनार्दन आउन खोजेको आशंका गरेका प्रचण्ड पार्टीभित्रको आन्तरिक समस्या मिलाउने प्रयासमा देखिन्छन्।

एकाधबाहेक सबै पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रचण्डले पार्टीभित्र देखिएका तमाम समस्या हल गर्ने दाबी गरेका छन्। तर, केन्द्रीय तहका नेता त्यसलाई मान्न तयार छैनन्।

प्रचण्ड चापलुसको घेरामा परेको आरोप
कर्णाली प्रदेशमा भदौ १४ गतेको परामर्श समिति बैठकमा बोलेका एक नेताले राजनीतिक भेटवार्तामै समय बढी खर्चेको भन्दै रोक्न सुझाव दिएका छन्। 

जनयुद्धमा हुँदा निकै पढ्ने प्रचण्ड अचेल साह्रै व्यस्त भएको, दिनभर अनावश्यक छलफलले नयाँ रणनीति बनाउन नसकेको भन्दै सल्यानका केन्द्रीय सदस्य निमबहादुर केसीले प्रचण्डको नामै लिएर भेटघाट बन्द गराउन आग्रह गरे। 

‘दुनियाँमा भेट्न चाहने विभिन्न मान्छेलाई भेट्न समय दिएर समय बर्बाद भयो,’ बस्नेतले प्रचण्डलाई सुनाए, ‘अध्यक्षको भेटघाटमै समय बित्यो, अध्ययन, अनुसन्धान, योग, ध्यान लगायतमा समय छुट्याउनुपर्‍यो, अब यो भेटघाटको शैली बन्द गर्नुपर्‍यो।’

भदौ १४ गते कर्णालीमा ४७ जनाले धारणा राखेका छन्।

कर्णाली प्रदेश सह–इन्चार्ज टेकबहादुर केसीले अहिले माओवादीले लिएको पार्टीको कार्यक्रमले नहुने भन्दै विकास गरेर नयाँ कार्यक्रम ल्याउन प्रचण्डको ध्यानाकर्षण गराए।

‘मिसन ०८४ भनेर मात्र हुँदैन, अब मिसन ०८१/८२ को कार्यक्रम बनाउनुपर्छ,’ केसीले बैठकमा भने।

केही नेताले प्रचण्ड चाकडीमा अलमलिएको भन्दै सुधार गर्न आग्रह गरे।

‘वरिपरि घुम्नेहरूको, चाकडी र चाप्लुसी गर्नेहरूको कुरा सुन्ने, सामान्य फिल्डमा खट्ने साथीहरूको कुरा नसुन्ने, उनीहरूले भेट्न पनि नपाउने भन्दै अध्यक्षप्रति तीव्र असन्तुष्टि जनाउनुभयो,’ अर्का केन्द्रीय सदस्यले बैठकमा नेताहरूको भनाइ उधृत गर्दै भने, ‘चाकडी, चाप्लुसी गर्ने र नातावादमा लाग्नेहरूले मात्र अध्यक्षलाई घेरामा पारे।’

उनका अनुसार कर्णालीमा बोलेका नेतामध्ये करिब एक तिहाइले उपमहासचिव शर्माको प्रस्तावको पक्ष लिए। यस्तै, एक तिहाइ शर्माको प्रस्तावको विरोधमा उत्रिए र अध्यक्ष प्रचण्डको पक्षमा उभिए।

अर्को एक तिहाइले भने बीचमा रहेर धारणा राखेको ती नेताले नेपालखबरलाई जानकारी दिए।

‘पार्टीमा एकजुट हुने बेलामा उपमहासचिव शर्माले ल्याएको प्रस्ताव जरुरी नभएको धारणा राख्नुभयो,’ ती नेताले भने, ‘केही नेताले जनार्दनजीको प्रस्ताव अत्यावश्यक रहेको र सही समयमा आएको भन्दै पार्टी थप बलियो हुने बताउनुभयो।’

शर्माको कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पकड बलियो रहेको बताइन्छ।

सरकारमा रहेर राम्रा काम गरेको चर्चा गर्नुपर्ने र कांग्रेस–एमाले गठबन्धन विरुद्ध एकजुट हुनुपर्ने बेला शर्माले प्रस्ताव ल्याएर पार्टीभित्र समस्या पैदा गरेको भन्दै केहीले उनको आलोचना गरेका छन्।

प्रचण्डले यी बैठकहरूमा सुरुमा आफूले बोलेर अन्य नेताहरूलाई समय दिएका छन्। आफूलाई लागेको कुरा निर्धक्क राख्न भनिएकाले सबैले मनदेखि धारणा राखेको महासचिव देव गुरुङ बताउँछन्।  

९ दिनदेखि परामर्श बैठकमा व्यस्त प्रचण्डले आफू दबाबमा नरहेको देखाइरहेका छन्। अध्यक्ष पदमा बसिरहने चाहना नभएको भन्दै उनले भन्ने गरेका छन्, ‘प्रचण्ड पार्टीभन्दा पनि माथि छ। मलाई अध्यक्ष भइराख्नै पर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .