ad ad

राजनीति


सचिवालयको निर्णय कार्यान्यवन गर्दिनँः ओली, त्यसरी पार्टी चल्दैनः नेपाल

सचिवालयको निर्णय कार्यान्यवन गर्दिनँः ओली, त्यसरी पार्टी चल्दैनः नेपाल

नेपालखबर
फागुन १४, २०७६ बुधबार १८:२४,

नेकपा सचिवालय बैठकले बुधबार सर्वसम्मत निर्णय गर्यो– वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपति समक्ष सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने।

दिउँसो करिब १२ बजेतिर बालुवाटारमा बसेको सचिवालय बैठकले सर्वसम्मत रुपमा यो निर्णय लिएपनि त्यसप्रति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सन्तुष्ट थिएनन्।

बैठक सकेर सचिवालयका ओली बाहेकका सबै बालुवाटारबाट निस्के। कोटेश्वर घर पुग्नासाथ माधव नेपालको मोवाइलमा ओलीको फोन आयो।

ओलीले फोनमै भने, ‘सचिवालयको निर्णय म कार्यान्वयन गर्दिनँ, युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा सिरफारिश गर्छु। थप कुरा पनि गर्नुछ, बालुवाटार आउनुहोस्।’

नेपाल करिब पौने चार बजेतिर बालुवाटार पुगे, जहाँ पूर्वएमालेका यी दुई नेताबीच करिब पौने दुई घण्टा वार्ता भयो। जहाँ ओलीले फोनमा भनेकै कुरा बारम्बार दोहोर्याए, ‘मलाई घेराबन्दी भयो, सचिवालयको निर्णय म कार्यान्वयन गर्दिनँ।’

ओली–नेपाल भेटवार्ताबारे अपडेट रहेका नेकपाका एक नेता माधव नेपालको जवाफ उधृत गर्दै भन्छन्, ‘त्यो नगर्नुस्, त्यसरी कसरी पार्टी चलाउन सकिन्छ?’

अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको पदावधी सकिन अझै दश दिन बाँकी छ। फागुन २५ गते पदावधी सकिएर सदस्य पद रिक्त भएपछि मात्र त्यो ठाउँमा नयाँ सदस्य मनोनयनका लागि नाम सिफरिश हुने हो।

‘घेराबन्दी गरियो’, भन्दै सचिवालय बैठकको निर्णय उल्ट्याउने ओलीको चेतावनीले नेकपाभित्र ठूलै कम्पन ल्याएको छ। तर नेपालखबरले कुराकानी गरेका सचिवालयका बहुमत सदस्य अर्थात पाँच जनाको भनाइ के छ भने पार्टीको संस्थागत निर्णय ओली एक्लैले चाहेर पनि उल्ट्याउन सक्दैनन्।

पार्टी र सरकारमा समेत हलचल ल्याउने निर्णय गर्ने बालुवाटारको बुधबारको त्यो सचिवालय बैठक कसरी चलेको थियो त?

एक जना सचिवालय सदस्यका अनुसार नौ जना नै उपस्थित भएको बैठकमा भनाभन, तनाव केही भएको थिएन। सबैको प्रस्तुती शान्त थियो। बैठकको अध्यक्षता ओली र प्रचण्डले संयुक्त रुपमा गरेका थिए।

बैठक सुरु हुनासाथ नारायणकाजी श्रेष्ठले सोधे– आजको एजेण्डा के हो?

ओलीले नै पहिला जवाफ दिए– वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने।

त्यसपछि प्रचण्ड बोले– अस्ति संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल गठन गरेका थियौं। त्यो कुरा बाहिर नलैजाने भन्ने थियो। तर जसरी बाहिर आयो, त्यसले राम्रो गरेन। अब कार्यदल बिघटन गर्दिनु पर्छ कि। तर वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाउँ। अब वामदेवजीले पनि प्रधानमन्त्री हुने गरि संविधान संशोधन भएमात्र राष्ट्रिय सभामा जान्छु भनेर शर्त नबनाउनु होस्।

त्यसपछि बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पनि लगभग प्रचण्डकै भनाइ दोहोर्याए। नेपालले भने– वामदेव गौतमले पनि शर्त छोड्नुहोस्, संविधान संशोधन सन्दर्भ हेरेर पछि गर्न सकिन्छ।

त्यसपछि नारायणकाजी श्रेष्ठले संविधान संशोधनका लागि भनेर कार्यदल नै किन गठन गरेको भनेर प्रश्न गरे। (सचिवालयको शनिबारको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो, जसमा श्रेष्ठ उपस्थित थिएनन्)। उनले थपे– प्रतिनिधि सभाका समानुपातिक कोटाबाट आएका सांसद प्रधानमन्त्री बन्न हुन्छ भने राष्ट्रिय सभाका सांसद पनि प्रधानमन्त्री बन्न सक्छन् भन्ने संवैधानिक व्यवस्था गर्ने कुरा ठिक छ। तर वामदेवले आफुसँग नै जोडेर राष्ट्रिय सभामा जाने विषयमा यसलाई शर्त बनाउनु हुन्न। निशर्त राष्ट्रिय सभामा जान तयार हुनुपर्छ।

बैठकमा ईश्वर पोखरेल र विष्णु पौडेलले पनि वामदेव राष्ट्रिय सभामा जानुपर्छ भने।

तर वामदेव गौतमले भने आफुविरुद्ध पार्टीको एउटा पक्षले निरन्तर प्रचार गरेको गुनासो पोखे। उनले भने– मविरुद्ध प्रचार तीब्र बनाइयो। कि मलाई पार्टीबाट निकाल्नुस्, कि खेद्ने काम बन्द गर्नुस्।

वामदेवको यो भनाइ सचिवालयका अर्का सलस्य ईश्वर पोखरेल र ओलीतिर लक्षित थियो।

त्यसपछि फेरि ओली नै बोले– अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिने भन्ने मेरो भनाइ हो। मेरो विरुद्ध घेराबन्दी भयो। म अब सबै परिस्थिति सामना गर्न तयार छु।

‘सरकारको समर्थन नगर्ने मात्र होइन, असफल नै बनाउने खेल भइरहेको छ भन्ने प्रधानमन्त्री ओलीको बुझाई देखिन्छ’, सचिवालय बैठकपछि साँझ घर पुगेका सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘अहिले संविधान संशोधन नभएपनि वामदेव राष्ट्रिय सभाको सदस्य बन्न तयार हुनुको अर्थ युवराजलाई हुन नदिने रणनीति नै हो भन्ने छ।’

हुन पनि सचिवालयका नौ जना सदस्यमध्ये प्रधानमन्त्री ओली एक जना मात्र युवराज खतिवडालाई राष्ट्रिय सभामा निरन्तरता दिएर अर्थमन्त्री बनाइरहने पक्षमा छन्, अरु सबै विपक्षमा उभिएका छन्।

तर ओलीले जतिसुकै कार्यान्वयन गर्दिन भनेपनि सचिवालयको निर्णय अब उल्टिने सम्भावना नरहेको धेरैको भनाइ छ।

‘एकछिन घुर्की लाउनु बेग्लै कुरा हो, तर सचिवालयको संस्थागत निर्णय अब ओली एक्लैले उल्ट्याउन सम्भव छैन’, आफ्नो निर्णयमा प्रतिवद्ध एक नेताले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .