ad ad

राजनीति


आफू सर्वसम्मत भएपछि उपेन्द्रले रोके महाधिवेशन, यसरी रोज्नेछन् अरू पदाधिकारी

आफू सर्वसम्मत भएपछि उपेन्द्रले रोके महाधिवेशन, यसरी रोज्नेछन् अरू पदाधिकारी

सागर न्यौपाने
जेठ ३१, २०८१ बिहिबार २१:२७, काठमाडौँ

एकातिर पार्टी फुटको तोड। अर्कोतिर केन्द्रदेखि प्रदेशसम्मै सत्ता गुमाउनुपरेको घडी। जनता समाजवादी पार्टी (जसपा) नेपाल निकै प्रतिकूल अवस्थामा महाधिवेशनमा होमिएको थियो, जेठ २८ गते।

भलै यो उसको पूर्वनिर्धारित कार्यक्रम थियो र महाधिवेशनको मुखमा पार्टी विभाजनदेखि सत्ताबाट बहिर्गमनसम्मका परिघटना भएका थिए।

जेठ महिनाको प्रचण्ड धुपमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरू भएको महाधिवेशनको तेस्रो दिन जेठ ३० (बुधबार) साविककै अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतरूपमा नवीकृत भए। 

महाधिवेशनको पूर्वनिर्धारित कार्यक्रम पनि बुधबारसम्मै थियो। अनि महाधिवेशनको उपयोगिता पनि बुधबार नै सकियो। किनकि, आफू अध्यक्ष चुनिइसकेपछि बाँकी पदमा उपेन्द्र यादवले हललाई जिम्मा छाड्नु नै थिएन। एक दिन बढी तन्किसकेको महाधिवेशनको खर्च बढाउनु त झनै थिएन।

२०६३ सालदेखि विभिन्न नाम र संरचना बदल्दै मधेसी जनअधिकार फोरमबाट हालको जसपा नेपाल हुँदासम्म अध्यक्ष उपेन्द्र यादव नै छन्।आफ्नो एकल नियन्त्रण कायम राख्न अब बाँकी पदाधिकारी पनि उनले नै छान्नेछन्। त्यसैले जेठ ३१ गते बिहीबार मध्यान्हतिर ११ सय ३५ जना महाधिवेशन प्रतिनिधिका माझ उनले घोषणा गरे, ‘चुनाव गरेर एकता महाधिवेशनको सन्देश दिन सक्दैनौँ। त्यसैले महाधिवेशन यहीँ रोकौँ। बाँकी पदाधिकारी पनि सर्वसम्मत चयन गरौँ।’

उपेन्द्रको रोजाइमा कोको?
जसपा नेपालको अध्यक्षमा निर्विरोध चुनिएका उपेन्द्र यादवले सहअध्यक्षमा रकम चेम्जोङलाई अघि सार्ने कोसिस थालेको सो पार्टीका नेताहरूले बताएका छन्।

चेम्जोङ अशोक राईसँगै एकतामार्फत यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा जोडिएका नेता हुन्। तर, राईले साथ छाडे पनि चेम्जोङले यादवको साथ छाडेका थिएनन्। त्यसैले यादवले चेम्जोङलाई साथ दिने नेताहरूको भनाइ छ।

यद्यपि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत र राजकिशोर यादव पनि सहअध्यक्षको दौडमा छन्। त्यसैले उपेन्द्रले के गर्छन् भन्ने अनुमान गर्न कठिन हुने सो पार्टीका एक नेताले बताए।

किनभने, बिहीबारका लागि तोकिएको निर्वाचन स्थगित गराएर उपेद्रले सर्वसम्मतिको प्रयास अघि बढाएका छन्।

‘रकमजीलाई सहअध्यक्ष बनाएर एकतालाई निरन्तरता दिने कुरा त छ,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यसैले अध्यक्ष उपेन्द्रजीले पनि रकमजीलाई नै अघि सार्ने सम्भावना छ।’

जसपा नेपालको ४ दिनसम्म (जेठ २८-३१) जनकपुरमा चलेको महाधिवेशनमा पदाधिकारी चयन नगरी काठमाडौँमा फर्केर तोक्ने निष्कर्षमा उपेन्द्र पुगेका छन्। यही कारण उनले १९ पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति घोषणा नै गरेका छैनन्।

सहअध्यक्षका अन्य आकांक्षी सबै तराई/मधेसबाटै प्रतिनिधित्व गर्ने हुनाले पहाडको जनमत आकर्षित गर्न पनि चेम्जोङलाई ल्याउनुपर्ने बाध्यता रहेको तर्क ती नेताको छ।

तर, चेम्जोङका प्रतिस्पर्धी लालबाबु राउत अध्यक्ष यादवका सबैभन्दा निकट नेता मानिन्छन्। उनको र राजकिशोर यादवको मधेसमा पकड बलियो भएकाले यी दुई जनालाई उपेन्द्रले कसरी सहमतिमा ल्याउँछन्, हेर्न बाँकी छ।

महासचिवमा भने विजय यादव र मनीष सुमन बलिया प्रतिस्पर्धी हुन्। 

विजय यादवले पछिल्ला दिनमा प्रतिनिधिबीच पकड राम्रो बनाएका छन्। सुमन मधेस प्रदेशका सांसद हुन्। पछिल्लो दिन जसपा नेपालको प्रवक्ताको जिम्मेवारीमा रहेकाले उनले प्रतिनिधिसँग राम्रो सम्पर्क बढाएका छन्। 

दुई महासचिवका लागि आकांक्षी भने ६ जना छन्। बोमबहादुर दर्लामी मगर (आदिवासी), रामकुमार शर्मा, विजयकुमार यादव, दीपक कार्की, मनीषकुमार सुमन र अशोककुमार यादव अध्यक्षलाई फकाएर आफू पदमा पुग्ने दौडधुपमा छन्। 

कोषाध्यक्षमा सञ्जयकुमार यादवलाई अघि सार्ने अनुमान प्रतिनिधिबीच चलेको छ। तर, निर्माण व्यवसायी समेत रहेका बलराम महतो र रेणुकुमारी यादव पनि लाइनमा छन्। 

जेठ २९ गते जसपाले विधान संशोधन गर्दै संघीय परिषद् अध्यक्ष रहने व्यवस्था हटाएर १ सहअध्यक्ष, २ महासचिव राख्ने प्रबन्ध गरेको हो। 

जसपा नेपालको अध्यक्षबाहेकका २० पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए। महाधिवेशनस्थल धनुषामा प्रतिनिधिसँग उम्मेदवारहरू मत मागिरहेका बेला एकाएक चुनावी प्रक्रिया नै स्थगन गरिएको छ।  

५ जना उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको थियो।

पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत् बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापामगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज ब्लोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी प्रतिस्पर्धामा उत्रिएका थिए।

यसैगरी, महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापा उम्मेदवार थिए। 

३ उमहासचिवको लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

उपमहासचिवमा खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, रामबाबुप्रसाद यादव, रामकिशोरप्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जयप्रकाश राई यादव र जयराम यादव छन्। यस्तै, महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उम्मेदवार थिए।

एक कोषाध्यक्षका लागि ३ र ७ सचिवका लागि ३४ जनाको उम्मेदवारी मनोनयन भए पनि अन्तिममा चुनाव नहुने भएको हो। कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवबीच प्रतिस्पर्धा हुँदै थियो।

यस्तै ७ सचिवका जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतसहित ३४ जनाले उम्मेदवारी दिएका थिए।

अध्यक्षमा उपेन्द्र यादवबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ।

अधिकांश प्रतिनिधि मधेसका भएको र पार्टीको जनाधार पनि मधेस नै भएकाले पहाडी समुदायका नेताहरूलाई पदाधिकारी बनाउन उपेन्द्रलाई सजिलो छैन। 

खास गरी एकता प्रक्रियाबाट जोडिएका चेम्जोङ, प्रकाश अधिकारी, पूर्ण बस्नेतलगायतलाई उपेन्द्रले अघि सार्ने तयारी गरिरहेका छन्। 

प्रतिनिधिको संख्याका आधारमा मधेसमै वर्चस्व कायम राखेका नेताहरू जसपा नेपालको नेतृत्व तहमा पुग्न सक्ने देखिन्छ।

निर्विरोध निर्वाचित भइसकेकाले अध्यक्ष उपेन्द्र यादवले संयोजनकारी भूमिका खेल्ने र आफूअनुकूल पदाधिकारी चयन गर्ने बाटो पनि बनिसकेको छ। ‘साथीहरूसँगको सल्लाहमा बाँकी पदाधिकारी चयन गर्ने’ भनेर जनकपुरधामको भेलाबाट बिदा भएका उनले महाधिवेशनको बाँकी कार्यभार पनि आफ्नै मुट्ठीमा आएको स्पष्ट संकेत पनि उनले गरेका छन्।

अर्थात्, जनकपुर महाधिवेशनबाट उनले स्पष्ट संकेत गरेका छन् कि जसपा नेपालमा उपेन्द्र यादवको विकल्प छैन, उनले जे चाह्यो त्यही हुन्छ र उनले नचाहेको केही पनि हुँदैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .