दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नहुने भएका छन्।
अभियानको वार्षिकोत्सवका अवसरमा भोलि (फागुन १) काठमाडौँमा अभिनन्दन गर्ने भन्दै अभियानले निम्तो दिएको भए पनि पूर्वराजा शाह त्यसमा सहभागी नहुने भएका हुन्।
प्रसाईंले आफ्नो अभियानको वार्षिकोत्सव समारोह काठमाडौँको भृकुटीमण्डपमा गर्दै छन्। कार्यक्रममा सबै राजनीतिक दलका नेता तथा स्वतन्त्र व्यक्तित्वहरूलाई पनि बोलाइएको छ।
त्यही कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गर्न अभियानको उपत्यका समितिले विभिन्न तयारी गरेको थियो। झापाबाट करिब १२ फिटको महाद्वीप मगाइएको थियो। शाहकै हातबाट द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम थियो। अभिनन्दनका लागि ताम्रपत्रसमेत तयार गरिसकिएको थियो।
अभियानका उपत्यका इन्चार्ज राजेन्द्र लाखा भन्छन्, ‘अभिनन्दनका लागि हामीले सबै तयारी गरिसकेका छौँ। अझै पनि उहाँ (पूर्वराजा शाह) आउनुहुन्छ भन्ने नै अपेक्षा छ। तर, स्पष्ट शब्दमा वचन पाइसकेका छैनौँ।’
पूर्वराजा शाहलाई निमन्त्रणा दिन लाखा नै निर्मलनिवास पुगेका थिए। निर्मलनिवासमा शाहका स्वकीय सचिव सागरराज तिमिल्सिनाले आवश्यक परामर्शपछि उपस्थित हुने–नहुने भन्ने जानकारी गराउने प्रतिक्रिया दिएका थिए।
त्यसअघि प्रसाईं आफैले पनि बाराको सिमरामा पूर्वराजा शाहलाई भेटेर कार्यक्रमबारे जानकारी दिँदै उपस्थितिका लागि आग्रह गरेका थिए।
तर, पूर्वराजा शाह भने प्रसाईंको अभियानको पूर्वसन्ध्यामा आइतबार नै चितवनतिर लागेका छन्। सोमबार पनि उनी चितवनमै थिए।
‘हिजो मात्रै चितवन गइबक्सेको हो। आज उतै होइबक्सिन्छ,’ प्रसाईंको कार्यक्रममा उपस्थित हुने–नहुनेबारे नेपालखबरले राखेको जिज्ञासामा शाहका संवाद सचिव डा. फणिराज पाठकले भने, ‘भोलिको कार्यक्रममा भोलि नै त कसरी सवारी होइबक्सेला? मैले त त्यस्तो सम्भावना देखेको छैन। त्यस्तो तयारीका बारेमा कुनै जानकारी पनि छैन।’
प्रसाईंले गत मंसिर ७ मा गरेको शक्ति प्रदर्शनमा पनि पूर्वराजा शाहको उपस्थितिको अपेक्षा गरेका थिए। आफू उपस्थित हुन नसक्ने भए एक चिर्कटोमा लेखेर समर्थनसहित शुभकाना सन्देश भए पनि दिन उनको आग्रह थियो।
त्यसबेला पनि शाहले प्रसाईंको कार्यक्रमलाई त समर्थन गरेनन् नै, बरु काठमाडौँमा प्रसाईंको प्रदर्शन चलिरहेका बेला राप्रपाको सहजीकरणमा आयोजित एक कार्यक्रमका लागि झापातिर लागेका थिए।
Shares
प्रतिक्रिया