नेकपा एमालेले मंसिरमा गर्ने भनिएको मध्यपहाडी लोकमार्ग विशेष अभियानअगाडि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
उक्त अभियानमा केन्द्रीय नेताहरूलाई परिचालन गर्ने गरी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक पनि बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
यसअघि उक्त केन्द्रीय कमिटीको बैठक कैलालीको धनगढीमा बोलाउन भनिएको थियो। तर अभियानको काममा ढिलाई हुने भएकाले केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव ज्ञवाली बताए।
‘हामीले यसको विस्तृत योजनासहित कार्य विन्यास गर्न केन्द्रीय सदस्यहरुलाई सम्बन्धित ठाउँहरूमा खटाउन आगामी मंसिर ६ गते केन्द्रीय कमिटीको छैटौं बैठक काठमाडौंमा गर्ने निर्णय गरेका छौँ। सुरुमा धनगढीमा गर्ने भनेर छलफल गरेका थियौँ। तर तयारीको समय नपुग्ने भएकाले काठमाडौंमा अलिक अगाडि नै बैठक बस्ने निर्णय गरिएको छ’, ज्ञवालीले भने।
एमालेले अभियानमार्फत नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको उपलब्धिहरुको पनि सन्देश दिने भएको छ। उक्त अभियानका क्रममा जनतामा निराशा हटाई उत्साहको वातावरण बनाउने पनि ज्ञवालीले बताए।
Shares
प्रतिक्रिया