ad ad

राजनीति


चिनियाँ राजदूत भन्छिन् : रेल परियोजना निकै जटिल भएकाले पहिले सडक-सुरुङ (भिडियाे)

चिनियाँ राजदूत भन्छिन् : रेल परियोजना निकै जटिल भएकाले पहिले सडक-सुरुङ (भिडियाे)

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ९:४१,

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले हिमाल पार गरेर आउने नेपाल–चीन रेल परियोजना निकै ठूलो र कठिन परियोजना भएको हुँदा त्यसअघि सुरुङ र पुलमार्फत् दुई देशबीचको ‘कनेक्टीभिटी’ लाई जोड दिइएको बताएकी छन्।

‘‘ट्रान्सबोर्डर रेलवे’ निकै ठूलो र कठिन परियोजना हो। यसको पूर्वसंभाव्यता अध्ययन जारी राख्नेछौं तर त्यसभन्दा पहिले हामिले दुई देश बीचको ‘इन्टरकनेक्टिभिटी’का काम रोक्न सक्दैनौं,’ राजदूत होउले शुक्रबार पत्रकार सम्मेलनमा भनिन्। ‘सुरुङ र पुल हामी दुई देशबीचको कनेक्टिभिटीका लागि एउटा छनौट (च्वाइस्) हुनसक्छ र कुनैपनि परियोजना संभाव्यतामा आधारित र खासगरि बैज्ञानिक आधारमा हुनुपर्छ।’

पहाडी मुलुकमा दूरी घटाउनका लागि सुरुङ र पुलहरु निकै महत्वपूर्ण हुने बताउँदै उनले त्यो अवधारणबाट अघि बढ्न लागेको बताइन्। ‘हाम्रोतर्फ (चीन) पनि निकै ठूला पहाड छन्, यस्ता पहाडमा सुरुङ र पुल निकै प्रभावकारी हुन्छन्,’ उनले भनिन्। ‘राष्ट्रपति सीको भ्रमणका बेला दुई नेताबीच काठमाडौंदेखि चीनको सीमासम्मको दूरी घटाउनका लागि चीनले केहि सुरुङ बनाउनका लागि सहयोग गर्ने सहमति भएको थियो।’

केरुङ पोर्टदेखि काठमाडौंसम्म दुइवटा सुरुङ बनाउन नेपालबाट प्रस्ताव गरिएको र ती सुरुङ बनाउन चिनिया पक्षले नेपाललाई सहयोग गर्ने सहमति जनाएको उनले जानकारी दिइन्। ‘हामीले टोखा टनेल निर्माणका लागि पूर्वसंभाव्यता अध्ययन गर्न वर्किङ टिम पठाइसकेका छौं,’ उनले भनिन्। ‘त्यसले निकै राम्रो नतिजा ल्याउनेछ र ती सुरुङहरु छिटै सञ्चालनमा आउनेछन् भन्ने अपेक्षा छ।’

'केहि पश्चिमेली राष्ट्रले नेपाल–चीनबीच राम्रो सम्बन्ध देखि सहँदैनन्'
केहि पश्चिमेली राष्ट्रहरुले स्थिर र सुरक्षित चीन देख्नै नचाहने भन्दै राजदूत होउले ती मुलुकहरुले नेपाल र चीनबीचको अत्यन्त राम्रो सम्बन्ध पनि देख्न नचाहने दाबी गरिन्।
‘यो चाहिँ एकप्रकारको सुरक्षा चासो हो। नेपाल र चीन अत्यन्त निकट मात्र होइन अत्यन्त विश्वसनीय मित्र र पार्टनर हुन् र अन्य कसैले हाम्रो सम्बन्धलाई विथोल्न सक्दैन,’ उनले भनिन्। गत अक्टुबरमा नेपाल भ्रमणका बेला राष्ट्रपति सी चिनफिङले पनि नेपाल–चीनबीच कुनै समस्या नरहेकोमा जोड दिएकाे उनले स्मरण गरिन्।

'दुइ प्लस एक भनेको त्रिपक्षीय'
भारत र चीन प्लस नेपालको (टू प्लस वन) अवधारणाबारे उनले यसको अर्थ त्रिपक्षीय नै हुने बताइन्। एउटा पक्ष नेपाल रहने र सबै सहयोग लगायतका कुराहरु नेपालको माग र आवश्यकताका आधारमा हुने उनको धारणा थियो। ‘यो पूर्णतः समानताका आधारमैं हुनेछ। यस्तो अवधारणा हामिले अफगानिस्तानमा शुरु गरिसकेका छौं। त्यहाँ चीन र भारत तथा अमेरिका र चीन मिलेर गरिरहेकै छौं। यो त्यति जटिल होइन, अत्यन्त सीधा कुरा हो,’ उनले भनिन्।

त्यसको अर्थ दुई प्लस एक भने पनि त्रिपक्षीय जस्तै हो त भन्ने थप जिज्ञासामा उनले ‘दुई प्लस एक भनेको वास्तवमा त्रिपक्षीय नै हो’ भन्ने जवाफ फर्काइन्।

 

'विदेशमा अवैध काम गर्नेलाई संरक्षण गर्दैनौं'
पछिल्लो समय चीनबाट कैयौं चिनियाँ नागरिकहरु पर्यटन भिसामा नेपाल आउने तर यहाँ आएर साइबर अपराधमा संलग्न हुने गरेको पाइएपछि नेपालमा त्यस्ता साइबर अपराधी विरुद्ध अपरेसन गर्न चीनले सहयोग गरेको उनले खुलाइन्।

‘चीनमा रहेका केहि चिनियाँ नागरिकहरु यो अपराधबाट पीडित भइसकेका छन्। त्यसैले चिनियाँ पक्षले केहि जानकारी नेपाली पक्षलाई प्रदान गरेको थियो,’ उनले भनिन्। ‘यो नेपालको सार्वभौमरुपमा नेपाल प्रहरीले गरेको कदम हो।’

अहिले हिरासतमा रहेका झन्डै १२० जना चिनियामाथि दुवै पक्षबाट छानविन भइरहेको र त्यसबारे थप जानकारी आएपछि प्रष्ट पारिने उनले बताइन्। ‘स्वस्थ पर्यटन बजारका लागि यस्ता कदम आवश्यक छ। हामीले विदेशमा रहेका चिनियाँ नागरिकको वैधानिक अधिकारको संरक्षण गर्छौ तर अवैध कामको संरक्षण गर्दैनौं,’ उनले थपिन्।

याे पनिः
एमसीसीबारे चिनियाँ राजदूतः आर्थिक सहयोग हो भने स्वागत गर्नुपर्छ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .