राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेबीच प्रतिनिधिसभाका ३ वटा सिटमा तालमेल हुने भएको छ । बाँकी सिटहरुमा दुई दलबीच प्रतिस्पर्धा हुने गरी एमाले–राप्रवाबीच सहमति जुटेको हो।
दुई दलको छलफलबारे जानकारी दिँदै राप्रपाका एक नेताले नेपालखबरसँग भने, ‘अहिले तीनवटा सिटमा तालमेल गर्ने सहमति जुटेको छ, तर छलफल जारी रहेकाले अन्तिम टुंगो लाग्न बाँकी नै छ ।’
राप्रपालाई नेकपा एमालेले झापा, रुपन्देही र बाँकेका तीनवटा निर्वाचन क्षेत्र छाडिदिएको छ । झापामा राजेन्द्र लिङदेन, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवल शमशेर जबरालाई एमालेले सघाउने भएको हो ।
जुम्लामा ज्ञानेन्द्र शाही र चितवनमा विक्रम पाण्डेलाई पनि सघाउनुपर्ने राप्रपाको माग पूरा गर्न केपी ओली तयार नभएपछि तीनवटा सिटमा मात्र तालमेल भएको स्रोतले बतायो ।
राप्रपा नेताले दिएको जानकारी अनुसार तालमेल नभएका ठाउँमा देशैभरि राप्रपाले उम्मेदवारी दिनेछ ।
एमालेसँग वार्तामा सहभागी ती राप्रपा नेताले नेपालखबरसँग भने, ‘ ०७४ मा कमल थापाले गरेको गल्ती हामी दोहोर्याउँदैनौं । एमालेसँग तालमेल नभएका ठाउँमा आफ्नै उम्मेदवार उठ्ने छ र राप्रपा राष्ट्रिय पार्टी बन्नेछ ।’
Shares
प्रतिक्रिया