अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ। शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो।
प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएको थियो। प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिएको छ। प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायत क्षेत्रका घरायसी ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो। त्यस क्षेत्रमा धेरै विद्युत् खपत गर्ने सिमेन्ट उद्योग छन्।
प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपतकालीन पुनस्र्थापना प्रणाली (ईआरएस) अन्तर्गतको टावर जडान गरी विद्युत् आपूर्ति गराउनेछ। ईआरएस टावर जडानका लागि सर्वेक्षण टोली खटाइएको छ। टावर जडान गर्न केही दिन लाग्ने छ।
Shares
प्रतिक्रिया