दशरथ रंगशालामा मंगलबार साँझ आयोजना गरिएको १३ औँ दक्षिण एसियाली खेलकुद समापन समारोहमा नेपाली खेल अधिकारीहरुले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद अल हसनलाई सागको झण्डा हस्तान्तरण गरे।
सागको विधानअनुसार अंग्रेजी वर्णानुक्रमअनुसार यो खेलकुद आयोजनाको जिम्मेवारी नेपालपछि पाकिस्तानको भागमा परेको छ। पाकिस्तानले आयोजना गर्न नचाहे मात्रै वर्णानुक्रमअनुसार त्यसपछिको मुलुकले मौका पाउनेछ। तसर्थ १४ औँ साग पाकिस्तानको कुन सहरमा कहिले हुने भन्ने निर्णय आगामी पाँच महिनाभित्र बस्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले गर्नेछ।
तर, दक्षिण एसियाका प्रमुख दुई शक्तिराष्ट्र भारत र पाकिस्तानबीचको दुश्मनीले यो प्रतियोगिताको नियति पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को जस्तै हुने हो कि भन्ने आशंका पैदा भएको छ।
सार्क शिखर सम्मेलन सन् २०१४ मा नेपालमा भएको थियो। २०१६ को सम्मेलन पाकिस्तानमा हुनुपर्ने थियो। तर, भारत सहभागी हुन नमानेपछि सो सम्मेलनमा हालसम्म पनि हनुसकेको छैन। जसका कारण सार्कको अवस्था मरणासन्न छ।
भारत–पाकिस्तानबीचको सम्बन्ध तत्काल सामान्य बन्ने अवस्था नरहेकाले सार्क र सागको भविष्य अन्यौलपूर्ण रहने देखिएको अन्तर्राष्ट्रिय मामिलाका अध्येता टीकाप्रसाद ढकाल बताउँछन्।
‘एक–अर्कोसँग तनाव बढाउँदा राजनीतिक फाइदा हुन्जेल भारत र पाकिस्तानका सत्ताधारीहरुले यो तनावलाई अझै बढाइ रहनेछन्। त्यसैले तत्कालै दुवै देशबीच सम्बन्ध सामान्यीकरण गर्ने अवस्था देखिँदैन,’ ढकालले नेपालखबरसँग भने, ‘नेपाल तटस्थ भूभाग भएको कारण सागमा दुवै देशले खेलाडी पठाएका हुन्। अवस्थामा सामान्य नहुन्जेलसम्म भारत र पाकिस्तानमा हुने खेलमा एक देशले अर्को देशमा खेलाडी पठाउने सम्भावना कम हुन्छ। जसरी विवाद बढेको छ, त्यो सामान्य अवस्थामा आउन लामो समय लाग्ने देखिन्छ।’
पछिल्लो समयमा जम्मु तथा कस्मिरलाई दिँदै आएको विशेषदर्जा खारेज गरेर केन्द्र शासनमातहत ल्याउने भारतीय निर्णय र नागरिकतासम्बन्धी कानुनमा भारतले गर्न खोजेको संशोधनले दुवै देशबीचको तनावलाई झनै बढाएको छ।
रणनीतिक मामिलाका जानकार गेजा शर्मा वाग्ले पनि सागको नियति सार्कको जस्तै बन्नसक्ने बताउँछन्।
‘सार्कजस्तै साग पनि पाकिस्तानमा पुगेर अड्किने सम्भावना बढी छ,’ उनी भन्छन्, ‘भारतले पाकिस्तानलाई दि्वपक्षीय, क्षेत्रीय र बहुपक्षीय सबै सबै मञ्चमा प्यारालाइज गराउन चाहन्छ। भारतको सुरक्षा चासो निकै उच्च छ। पाकिस्तानमा असुरक्षा छ भनेर सबैतिर भन्दै आएको छ। प्रतियोगिताको सफल आयोजनाले दिने सन्देश देश सुरक्षित छ भन्ने पनि हो। त्यसैले साग पाकिस्तानमा अड्किने देखिन्छ।’
बेलायती साम्राज्यबाट स्वतन्त्र भएसँगै भारत र पाकिस्तानबीचको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ। तीन पटक युद्ध लडिसकेका दुवै देशबीच खेल तथा अन्य माध्यमबाट बेलाबेलामा सम्बन्धलाई सुधार गर्ने कोसिस गरिएको थियो। तर पछिल्लो समय दुई मुलुकबीच खेलका लागि एक अर्को देशमा हुने भ्रमण ठप्प छ।
भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगिता बाहेक अन्यत्र क्रिकेट खेलेका छैनन्। पछिल्लो समयमा सन् २०१२–०१३ मा पाकिस्तानी क्रिकेट टोलीले अन्तिम पटक भारतको भ्रमण गर्दै तीन वटा एकदिवसीय र दुई वटा टी–२० खेलेका थिए।
पाकिस्तानसँग तनाव बढ्दै गर्दा विश्वकप क्रिकेटमा समेत पाकिस्तानसँग खेल कि नखेल्ने भन्ने विषयमा भारतमा बहस भएको थियो।
क्रिकेट मात्रै नभएर दुई देशबीच अन्य खेल पनि भएका छैनन्।
भारतीय जनता पार्टी नेतृत्वको सरकारले पाकिस्तानलाई एक्ल्याउने कोसिसस्वरुप गरिरहेको छ। त्यसैले बहुपक्षीय फोरमहरुमा भारतीय र पाकिस्तानी प्रतिनिधि एकैसाथ बस्ने गरेका छैनन्।
कतिसम्म भने राष्ट्रसंघीय महासभामा भाग लिन गएका सार्क मुलुकका विदेशमन्त्रीहरुको बैठकमा पनि भारत र पाकिस्तानका विदेशमन्त्रीहरुले एकले अर्कोलाई बाहिस्कार गरेका थिए। यसैसाता टर्कीमा आयोजना गरिएको हार्ट अफ एसिया कार्यक्रममा भारतीय मन्त्रीले सम्बोधन गर्दा पाकिस्तानी विदेशमन्त्री कार्यक्रम स्थल छाडेर बाहिर निस्केका थिए।
प्रतिक्रिया