नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा छोडेका सुदूरपश्चिम ब्युरोका प्रभावशाली चार नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा लागेका छन्।
विहीबार एक विज्ञप्ती जारी गर्दै पोलिटब्युरो सदस्य एवम् सेती-महाकाली इन्चार्ज तथा किसान र सुकुम्बासी संगठन अध्यक्ष ओमप्रकाश पुन, सेती ब्युरो इन्चार्ज शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र दार्चुला–कञ्चनपुर इन्चार्ज रमेश परियारले नेकपा छोडेको घोषणा गरेका थिए।
विप्लव नेतृत्वको नेकपा छोडे लगत्तै नेपालखबरसँग कुरा गर्दै पुनले आफूहरु कम्युनिष्ट आन्दोलनको मूल केन्द्र माओवादी केन्द्रमा जान लागेको बताए।
‘हामी छिट्टै (दुई-तीन) दिनभित्र प्रचण्डले नेतृत्व गर्नुभएको माओवादी केन्द्रमा जान्छौँ,’ पुनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनको मूल केन्द्र माओवादी केन्द्र हो।’
माओवादी धारा बलियो भएमात्र अन्य पार्टीबीचको एकता बलियो हुने निष्कर्षमा आफूहरु पुगेको उनले बताए।
माओवादी धारा बलियो बनाएपछि मात्र अन्य कम्युनिष्ट घटकहरु नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा लगायतका घटकहरुबीचको एकता प्रक्रिया सुरु गर्नुपर्छ,’ पुनले थपे, ‘पहिला पूर्व माओवादीबीच एकता नगरी यो अभियान बलियो हुँदैन, अब हामी त्यसकै प्रयासमा लाग्ने छौँ।’
कम्युनिष्टको टुटफुटकै कारण नेपालको राष्ट्रियता कमजोर बनेको निष्कर्ष निकालेर नेकपा छोड्ने निर्णय गरिएको उनले बताए।
‘कम्युनिष्टको टुटफुटले राष्ट्रियताको पक्षमा लड्ने बल पुगेन, सडक, सदन र सत्ता गरी तीनै मोर्चाबाट एकैपटक नलड्ने हो भने उपलब्धि दिँदो रहेनछ,’ पुनले भने,‘अब सके एउटै कम्युनिष्ट पार्टी बनाउने हो नसके पनि एउटै मोर्चा बनाएर कम्तीमा राष्ट्रिय स्वाधीनता र जनजीविकाको सवालमा लड्छौँ।’
उनका अनुसार नेकपाका महासचिव विप्लव लगायत नेताहरु पनि प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रमै फर्किने सम्भावना छ।
‘अहिले नै त नहोला तर, प्रदेश र संघको निर्वाचनसम्म पुग्दा विप्लवजी लगायत माओवादी धाराका कम्युनिष्टबीच पार्टी एकता भइसक्छ,’ पुनले भने।
Shares
प्रतिक्रिया