ad ad

राजनीति


मौन अवधि सुरु हुँदै, आचार संहिता पालना गर्न आयोगको आग्रह

मौन अवधि सुरु हुँदै, आचार संहिता पालना गर्न आयोगको आग्रह

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ११:५१,

निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पुर्ण पालना गर्न/गराउन राजनीतिक दल लगायत आम मतदातामा अपिल गरेको छ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरी मंसिर १४ गते उपनिर्वाचनका लागि बुधबार राती १२ बजे देखि मौन अवधि सुरु भएको जानकारी गराउँदै सो अवधिमा आचार संहिता उलंघनका कुनै पनि क्रियाकलापमा संलग्न नहुन राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई आव्हान गरेको हो।

आचारसंहिता विपरितका कार्य गर्नेलाई निर्वाचन कसुर तथा सजायँ ऐन २०७३ अनुसार कारबाही गरिने भन्दै आयोगले मौन अवधिमा सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरि मत माग्न, प्रचार पसार लगायतका कार्य नगर्ने सचेत गराएको छ। आयोगले मौन अवधिमा आचार संहिताको पूर्ण पालना गरि निर्धक्क रुपमा मतदाताले मताधिकारको प्रयोग गर्ने अवस्था निर्माण गर्न सबैसंग अपील गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौन अवधिमा मतदातालाई आश्वासन दिने, प्रलोभनमा पार्ने, दबाब दिने, मतदाता परिचयपत्र कब्जा गर्ने जस्ता घटना भएमा तुरुन्तै जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा सम्बन्धित निकायलाई जानकारी गराई सहयोग गर्न पनि आग्रह गरे।

आयोगले उपनिर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको पनि जनाएको छ। आयोगले उपनिर्वाचन पर्यवेक्षणका लागि ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरुलाई अनुमति प्रदान गरेको छ। त्यसैगरी मतदानको दिन मतदान केन्द्र भ्रमणका लागि परराष्टमन्त्रालय मार्फत अमेरिका, जापान र अष्टे«लिया दुतावास तथा युरोपियन युनियनलाई पनि अनुमति दिएको आयोगले जनाएको छ।

प्रतिनिधिसभा तर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य, स्थानिय तह तर्फ उपमहानगरपालिका, गाउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका वडा अध्यक्ष समेत गरी ५२ रिक्त पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल, ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रयोजनका लागि हेलिकोप्टर चढेको सन्र्दभमा संचारकर्मीले सोधेको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले आयोग एक्किन भएपछि मात्रै कारवाही गर्न सक्ने भन्दै सबै क्रियाकलापलाई नजिक बाट नियालिरहेको र सम्बन्धीतलाई जानकारी पनि गराईसकेकोे प्रतिक्रिया दिएका थिए।

उनले भने, ‘एक्किन नभई कारवाही गर्न सक्ने अवस्था हुँदैन। हामी यसलाई अत्यन्तै नजिकबाट नियालिरहेका छौं। केही सूचना हामीलाई प्राप्त भएको छ। सम्बन्धित ठाउँमा हामीले भनिसकेका छौं। आचारसंहिता आम सहमतिमा बनाएको हो। आचार संहिताका अक्षरहरु राम्ररी पढ्न जान्ने र बुझ्ने व्यक्तित्वहरु नै निर्वाचन प्रचारमा हुनुहुन्छ। यदि विर्सनु भएको भए एकपटक पढिदिनका निम्ति आग्रह गर्दछौं।’

बुधबार पोखरा, धरान र भक्तपुरको चुनावी सभामा सम्बोधन गर्नका लागि अध्यक्ष दाहालले हेलिकप्टर प्रयोग गरेको तस्वीरहरु सामाजिक सञ्जालहरुमा भेटिएको भन्दै त्यसबारे प्रमुख आयुक्तसँग जिज्ञासा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .