ad ad

राजनीति


संविधान संशोधन गर्ने ठाउँमा पुगेँः उपप्रधानमन्त्री यादव

संविधान संशोधन गर्ने ठाउँमा पुगेँः उपप्रधानमन्त्री यादव

सागर न्यौपाने
मंसिर ९, २०७६ सोमबार ८:४२,

उपप्रधान, कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आफू संविधान संशोधन गर्ने ठाउँमा आइपुगेको बताएका छन्।

आफूसँग सत्तारुढ दल नेकपाका दुई जना अध्यक्षले गरेको सहमति कार्यान्वयनको चरणमा पुगेको भन्दै उनले अब त्यसलाई अगाडि बढाउने जिम्मा आफ्नो काँधमा आइपुगेको बताए।

सोमबार कानुन मन्त्रालयमा पदबहाली गर्दै मन्त्री यादवले संविधान संशोधन, कानुन निर्माण र विधिसँग सरोकार राख्ने ठाउँमा आइपुगेको बताए । मन्त्रालय हेरफेर गर्ने अधिकार प्रधानमन्त्री केपी ओलीलाई रहेको बताउँदै उनले भने, ‘त्यो पोलिटिकल कुरा, डिसिजन भएर अगाडि बढ्ने हो, संविधान संशोधन गर्ने भन्ने विषयमा दुईवर्ष अगाडि नै हस्ताक्षर भइसकेको हो, अब कार्यान्वयन गर्ने बेला आएको छ,’ उनले भने,‘संविधान संशोधन बेला आएको छ।’

मन्त्रालय हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको उनले प्रतिक्रिया दिए। बुधबार प्रधानमन्त्री ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति असन्तुष्ट समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले मन्त्रालय पुनर्गठन र हेरफेरको अधिकार प्रधानमन्त्रीलाई रहेको बताए।



‘परामर्श गरिराख्नु पर्दैन यो सामान्य कुरा हो, प्रधानमन्त्रीले गर्न सक्छन् ’ उनले भने, यो उनको अधिकार हो, हुनसक्छ धेरै मन्त्रालयको अनुभव होस् भनेर त्यसो गरिएको होला, सबजेक्ट मिल्ने मन्त्रालय दिऊ भनेर सोचेको पनि हुनसक्छ, (हास्दै) उहाँले अनि बढी नै माया गरेर पनि हुनसक्छ।’ उनले पार्टीले सरकार छोडिहाल्ने निर्णय नगरेको स्पष्ट पारे।

मन्त्रिमण्डल पुनर्गठनपछि समाजवादी पार्टीभित्र सरकार छाड्न यादवमाथि तीव्र दबाब थियो। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका बेला स्वास्थ्यसम्बन्धी सेमिनारमा भाग लिन भारत गएका बेला प्रधानमन्त्री ओलीले उनले समालेको मन्त्रालयबाट हटाउँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए। मन्त्रालय हेरफेरपछि यादवले शुक्रबार राति स्वदेश फर्केपछि सरकारी गाडी प्रयोग गरेका थिएनन््।

शनिबार आकस्मिक पदाधिकारी बैठक राखेर उनले तत्काल सरकार नछोड्ने बरु सत्तारुढ दलकै शीर्ष नेतासँग वार्ता गर्न ४ सदस्यीय वार्ता समिति बनाएका थिए।

आइतबार चुनावी प्रचारका लागि पोखरा पुगेका यादव राति नै काठमाडौं फर्केका हुन्। यसअघि उनको ११ गतेसम्म विभिन्न जिल्लामा चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो। तर, उनी आइतबारै राति काठमाडौं फर्केर सोमबार दिउँसो १ः४० मा पदबहाली गर्न नीजि बा १७ च २३९२ नम्बरको गाडीमा सिंहदरबार पुगेका थिए।

‘स्वास्थ्यको गाडी लगिहाले, यताको गाडी जान वाँकी छ अनि बीचको अवधिमा हिँडेर आउनु भएन’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .