कुटनीतिक क्षेत्रबाट आलोचना हुन थालेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशमा भूमिगत पार्टी संगठन नबनाउने भएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विदेशमा खुल्ला र भूमिगत गरी दोहोरो संरचनामार्फत् पार्टीका समर्थक र कार्यकर्तालाई संगठित गर्दै आएका थिए।
नेकपा–एमालेले २०७१ सालमा आयोजित नवौं महाधिवेशनपछि बाटै भूमिगत पार्टी संगठन निर्माण गर्न छाडेको थियो भने माओवादीमा त्यहि व्यवस्था कायम थियो।
तत्कालिन एमालेले प्रवासी नेपाली मञ्च नामको खुला संस्थाबाट आफ्नो गतिविधि गर्दै आएको छ भने माओवादी केन्द्रले नेपाल जनप्रगतिशील मञ्च नामको खुला मोर्चाबाट गरिरहेको थियो।
तर ती मोर्चाहरु विदेशमैं भूमिगत रुपमा निर्माण गरिएका पार्टि संगठनको निर्देशअनुसार सञ्चालन हुन्थे।
नेपाली कांग्रेसले उसको खुला मोर्चा नेपाल जनसम्पर्क समितिमार्फत् आफ्ना कार्यकर्ता तथा समर्थकलाई संगठित गर्दै आएको छ।
गतसोमबार सम्पन्न सचिवालय बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अबदेखि पार्टीले विदेशमा भूमिगत संगठन संरचना निर्माण नगर्ने जानकारी दिएका थिए।
‘विदेशमा पार्टीका संरचना निर्माण हुनेछैनन्। ती देशमा रहेका नेपालीहरुलाई प्रवासी नेपाली एकता मञ्चले संगठित गर्नेछ,’ नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले भने, ‘अर्काका देशमा पार्टीको संगठनात्मक संरचना बनाउनु उचित नहुने ठानेर त्यो नगर्ने निर्णय गरिएको हो।’
विदेशमा रहेका राजनीतिक पार्टीका संगठनले गर्ने गतिविधिको कारण बेलाबेलामा सरकारलाई कुटनीतिक अफ्ठेरो पर्ने गरेको थियो। अर्कोतर्फ प्रवासमा रहेका ती कमिटीहरु केहि वर्षयता राजनीतिक दलहरुका लागि बलियो आर्थिक स्रोतको रुपमा रहँदै आएका छन्।
त्यसैले नेकपाले पार्टीको संरचना नभएपनि विदेशमा रहेका पार्टीका समर्थकहरुलाई प्रवासी नेपाली एकता समाजमार्फत संगठित गर्ने तयारी गरेको छ।
‘नयाँ संरचनालाई कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यबिधि बनिसकेको छैन, छिटै बन्छ,’ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपालखबरसँग भने।
नेकपाले हङकङ, मलेसिया, कोरिया, सिंगापुर र जापानलाई पूर्वीएशिया, अस्ट्रेलिया त्यस आसपासको क्षेत्रलाई ओसियना, खाडीका देशहरुलाई मध्यपूर्व क्षेत्रमा विभाजन गरेको छ। यीबाहेक युरोप, अमेरिका र भारतलाई अलग–अलग क्षेत्रमा विभाजित गरेर प्रवासी नेपालीलाई संगठित गर्न खोजेको छ।
प्रवक्ता श्रेष्ठको नेतृत्वमा गठित प्रवास कमिटी कार्यदलको सुझावअनुसार ६ क्षेत्रमा विभाजन गर्न लागिएको हो।
प्रवासी संगठनहरुले नै पार्टीको संगठित सदस्यताका लागि सिफारिस गर्ने अधिकार समेत दिन खोजिएको छ। तत्कालीन नेकपा एमालेको ३८ वटा प्रवासी मञ्च रहेको थियो भने माओवादीका २६ वटा नेपाल जनप्रगतिशील मञ्च र १७ देशमा जिल्ला कमिटी रहेको थियो।
त्यसैगरी पूर्व एमालेको भारतमा १२ कमिटीसहित ३३ देशका कमिटी र संगठित सदस्य रहेका छन्।
पुरै भारतको राज्य कमिटीलाई जिल्ला कमिटीको मान्यता दिएको छ। जसमा दिल्ली, हरियाणा–राजस्थान, पञ्जाब–हिमाञ्चल, महाराष्ट्र–गुजरात, तामिलनाडु–पोन्डिचरी, कर्नाटक–केरला, आन्ध्र प्रदेश, मध्य प्रदेश, बंगाल–विहार–झारखण्ड, उत्तर प्रदेश, पूर्वोत्तर क्षेत्र, र उत्तराञ्चलमा कमिटीहरु रहेका छन्।
ती कमिटीलाई जिल्ला कमिटीसरह मान्यता छ। भारतमा पूर्वएमालेको १ हजार ५ सय ५९ संगठित सदस्य छन्। पूर्वएमालेतर्फ भारतपछि अमेरिकामा सबैभन्दा बढी संगठित सदस्य छन्। ४९६ संगठित सदस्य रहेको अमेरिकामा चार जिल्ला कमिटी थिए। पूर्वएमालेले भारत र अमेरिकाको संगठनको आकारका आधारमा ती देशका संगठनलाई अञ्चल कमिटी सरहको मान्यता दिएको थियो।
४०० संगठित सदस्य रहेको क्षेत्रलाई जिल्ला कमिटीको मान्यता दिनेगरी तयारी भएको छ। ‘एउटा मात्रै देशमा संगठित सदस्यको आवश्यक संख्या नपुगे दुई देश मिलाएर बनाइने कमिटीले जिल्ला कमिटी तयारी रहेको छ,’ पछिल्लो घटनाक्रमबारे जानकार एक नेताले बताए।
प्रतिक्रिया