ad ad

राजनीति


सागले जगाउला सार्क?

सागले जगाउला सार्क?

मणि दाहाल
कात्तिक २६, २०७६ मंगलबार १३:४८,

भारत र पाकिस्तानबीच चर्किएको राजनीतिक तनावका कारण दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन हुन नसकिरहेका बेला सात सार्क राष्ट्रका तीनहजार भन्दा बढि खेलाडीहरु मंसिरदेखि हुन लागेको क्षेत्रीय खेल प्रतियोगिताका लागि काठमाडौँमा भेला हुँदैछन्।

पछिल्लो समयमा थप तिक्त बन्दै गएको क्षेत्रीय राजनीतिक माहौलबीच काठमाडौंमा हुन लागेको दक्षिण एसियाली खेलकूद (साग) को आयोजनाले कम्तिमा सार्क संगठनको अस्तित्व बचाइराख्न सहयोग पुग्ने विज्ञहरुको भनाई छ।

सार्कका आठ सदस्य राष्ट्रमध्ये अफगानिस्तान बाहेक अन्य देशका खेलाडीको सहभागिता हुन लागेको हो। सन् २००५ मा सार्क संगठनमा सबैभन्दा पछि जोडिएको अफगानिस्तानले खेल क्षेत्रमा भने फरक क्षेत्रमा राखेको छ। सन् २०१६ मा भारतमा भएको सागपछि उसले आफूलाई दक्षिण एसियाली समूहबाट छुट्याएर मध्यपूर्वी एसियाली क्षेत्रीय समूहमा जोडेको हो।

भारतले जम्मु तथा कस्मिरलाई दिँदै आएको विशेष दर्जाको मान्यतालाई दिल्लीले रद्द गरेपछिको बदलिँदो राजनीतिपछि भारत र पाकिस्तानबीच तनाव झन् बढेको छ।

सीमापार आतंक मच्चाउने समूहलाई पाकिस्तानले भारतविरुद्ध परिचालन गरिरहेको आरोप लगाउँदै दिल्लीले सार्क सम्मेलनमा भाग लिन अस्वीकार गर्दै आएको छ।

जसको कारण २०७३ कातिक २९ देखि मंसिर ४ गतेसम्म पाकिस्तानको इस्लामावादमा आयोजना हुन तय भएको १९ औ शिखर सम्मेलन अहिलेसम्म हुनसकेको छैन।

भारतले पाकिस्तानी भूभागमा रहेका इस्लामिक लडाकु समूहविरुद्ध कारवाही नगरुन्जेल पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा भाग नलिने बताउँदै आएको छ।

दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले राजनीतिक विभाजनको समयमा द्वन्द्वरत् मुलुकलाई खेलले जोड्ने गरेको बताउँदै साग (दक्षिण एशियाली खेलकुद) पनि सार्कलाई बिउँत्याउन सहयोगी हुनसक्ने दाबी गरे।

‘राजनीतिले विभाजन ल्याएको अवस्थामा खेलले विभाजित पक्षहरुलाई जोड्ने काम गर्छ। खेलले मित्रता, भातृत्व, एकता र शान्तिको सन्देश दिने हो। यो सागले पनि सार्कको क्षेत्रीय भावनालाई मजबुत बनाउने छ’ श्रेष्ठले भने, ‘तनावपूर्ण सम्बन्ध भएका देशहरुले खेल आयोजना गरेर सम्बन्ध सुधार गरेको इतिहासमा प्रशस्तै घटनाहरु छन्। यो प्रतियोगिताले पनि भारत र पाकिस्तानसहित यस क्षेत्रका देशहरुलाई एकै ठाउँमा ल्याउने छ। यसले क्षेत्रीय सामूहिक भावनाको विकास गराउने छ।’

विगतमा राजनीतिकरुपमा सम्बन्ध बिग्रेका बेला पनि भारत र पाकिस्तानले क्रिकेट प्रतियोगिताको आयोजना गर्दै सम्बन्ध सुधारको प्रयास गर्ने गरेका थिए। तर पछिल्लो समयमा त्यस्ता पहल पनि गरिएको छैन। अन्तर्राष्ट्रिय प्रतियोगितामा बाहेक भारत र पाकिस्तानका टोलीबीच भेट भएको छैन किनभने यी दुई पक्षबीच दुइदेशीय खेल आयोजना भएकै छैन।

अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु भने सागबाट ठूलो आशा गरेका छैनन्। उनीहरुले आयोजनाले केहि क्षेत्रीय गतिबिधि भएजस्तो देखाएता पनि राजनीतिक तिक्तता नै मेट्ने गरि ठूलो प्रभाव नै पार्न नसक्ने बताउँछन्।

सार्कका पूर्व महासचिव तथा पूर्व परराष्ट्र सचिव अर्जुनबहादुर थापा क्षेत्रीय खेलको आयोजनाले दक्षिण एशियाली क्षेत्रमा केही गतिविधि भएको देखाए पनि पुरै सक्रिय हुन नसक्ने बताए।

‘सार्कको मन्त्रीहरुको बैठक भैरहेको पनि छ। त्यसले पुरै सार्क सक्रिय छ भन्न मिल्दैन। यो सागले पनि केही गतिविधि भैरहेको देखाउँछ तर तत्काल पुरै सक्रिय अवस्थामा फर्किहाल्ने अहिले देखिदैन,’ पूर्व महासचिव थापाले भने, ‘आशावादी हुने एउटा विषय होला। तत्काल सम्मेलन हुने अवस्था देखिदैन।’

काठमाडौं र पोखरामा सञ्चालन हुने प्रतियोगितामा २७ खेलमा ३ हजार दुई सयभन्दा बढी सात राष्ट्रका खेलाडी सहभागी हुनेछन्। जसमा भारतबाट ४ सय ६१ र पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ।

बैदेशिक मामिलाका अध्येता टीकाप्रसाद ढकालले सार्क राजनीतिक संगठन भएकाले क्षेत्रीय खेलको आयोजना हुँदैमा सार्क नै सक्रिय हुन्छ भन्ने आशा गर्न नसकिने बताए।

‘यस्तो आयोजनाले सार्कको भावनामा सानो झिल्को प्रदान गर्छ। सार्कको बाँकी रहेको अवषेशहरुलाई देखाउँछ। तर सार्क भनेको राजनीतिक संगठन हो। शिखर सम्मेलन नै नभएसम्म यो अघि बढ्न सक्दैन’ ढकालले नेपालखबरसँग भने, ‘नेपाल जस्तै तटस्थ भूभागमा भएको कारणले भारत र पाकिस्तान दुवै सहभागी भएका हुन्। भारत वा पाकिस्तानमा यस्तो खेल हुन्थ्यो भने एकले अर्कोका आयोजना गर्ने खेल बहिस्कार गर्ने संभावना बढी हुन्छ।’

पाकिस्तानमा आयोजना हुने भनिएको सम्मेलनभन्दा केही महिनाअघि भारत प्रशासित जम्मु तथा कस्मिरस्थित उरीमा रहेको सैनिक शिविरमा इस्लामिक लडाकुहरुले आक्रमण गरेको विषयलाई देखाउँदै भारतले इस्लामावादमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिने जनाएको थियो।

भारतमा आक्रमण गर्ने जैस ए मोहम्मदसहित इस्लामिक लडाकु समूहहरुलाई पाकिस्तानले संरक्षण दिने गरेको दिल्लीको दावी रहेको छ। जसको कारण सार्कको अध्यक्ष नेपाललाई भारतले पत्र लेख्दै यस्तो अवस्थामा शिखर सम्मेलन गर्दा फलदायी नहुने भन्दै सहभागी नहुने जनाएको थियो। सार्कको कुनै एक सदस्यराष्ट्रले शिखर सम्मेलनमा सहभागी नुहने जनाएपछि सम्मेलन हुन सक्तैन।

भारत र पाकिस्तान बीचको तनावका कारण दक्षिण एशियाली खेलकुद महासंघले पनि आगामी साग कहाँ गर्ने भनेर अझै निश्चित गर्न सकेको छैन। अंग्रेजी वर्णानुक्रमअनुसार नेपालपछि प्रतियोगितामा आयोजना गर्ने पालो पाकिस्तान हुन्छ। तर, यिनै दुईदेश बीचका विवादका आयोजक राष्ट्रबारे निर्णय हुन नसकेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .