ad ad

राजनीति


दिल्लीमा उपचार गराउन ओलीलाई मोदीको प्रस्ताव, विकल्प खोज्दै डा दिव्या अमेरिकामा

दिल्लीमा उपचार गराउन ओलीलाई मोदीको प्रस्ताव, विकल्प खोज्दै डा दिव्या अमेरिकामा

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १६:२३,

प्रधानमन्त्री केपी शर्मा ओलीको थप उपचारको विकल्प खोज्ने क्रममा निजी चिकित्सक डाक्टर दिव्या सिंह शाह अमेरिका पुगेकी छिन्।

सिंगापुरको नेशनल युनिभर्सिटि हस्पिटलमा गत साउन र भदौमा मृगौलाको चेकजाँच र ‘प्लाज्मा फेरेसिस’ गराएका प्रधानमन्त्री ओलीको कात्तिक १३ गते काठमाडौंको ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो।

प्रधानमन्त्रीको मृगौलाको डायलासिस निरन्तर गरिराख्ने वा फेरि मृगौला प्रत्यारोपण गर्ने भन्ने विकल्प सम्बन्धमा अहिले दिव्या सिंह शाहसहितका चिकित्सकले अध्ययन गरिरहेका छन्।

फेरि प्रत्यारोपण गर्ने हो भने पहिले उपचार गरेको सिंगापुरको नेशनल युनिभर्सिटि हस्पिटल नै जाने वा अन्य ठाउँमा जाने भन्ने छलफल चलिरहेका बेला दिव्या अमेरिकी गएकी हुन्।

कुनै एउटा गोष्ठीमा सहभागी हुने बाहनामा केही दिनअघि अमेरिका गएकी सिंहले त्यहाँ संभावित अस्पताल र उपचारका विकल्पबारे अध्ययन गरिरहेको प्रधानमन्त्री निकट नेकपाका एक जना स्थायी कमिटी सदस्यले बताए।

‘प्रत्यारोपण गर्ने विकल्पमा जाँदा कुन अस्पतालमा गर्दा सुरक्षित र सहज हुनसक्छ भनेर अध्ययन गर्न संभवतः दिव्यालाई अमेरिका पठाइएको हो’, स्थायी कमिटीका ती सदस्यले भने, ‘केही दिनमा उनी फर्केपछि यसबारे अलि प्रष्ट हुनेछ।’

दिव्या उतै रहेका बेला प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि अमेरिका गएका छन्। भट्टराई अर्को एउटा कार्यक्रममा सहभागी हुने क्रममा आइतबार अमेरिका गएका हुन्।

दिल्लीमा उपचार गराउन मोदीको प्रस्ताव
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र उपचारका बारेमा छिमेकी देशका नेताहरूले पनि चासो राख्दै आएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री एस जयशंकरमार्फत उपचारका लागि दिल्ली आउन ओलीलाई सन्देश पठाएको खुलेको छ।

भारतको विदेशमन्त्री नियुक्त भएपछि करिब तीन महिनाअघि नेपाल भ्रमणमा आएका जयशंकरले प्रधानमन्त्री ओलीसँगको भेटमा पहिले दिल्लीमा उपचार गराउँदाको मेडिकल रेकर्ड रहेको स्मरण गराउँदै थप उपचारका लागि दिल्ली नै आउन आग्रह गरेका थिए।

‘पहिले उपचार गराएकाले मेडिकल हिस्ट्री पनि छ, हामी उच्चस्तरीय प्रबन्ध गर्नेछौं’, ओली–जयशंकर भेटमा जयशंकरको भनाइ उद्धृत गर्दै एक उच्च स्रोतले भन्यो, ‘टाढा जानुभन्दा भारत आउनुहोस् भन्ने प्रधानमन्त्रीको सन्देश बोकेर म आएको हुँ।’

१२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा ओलीले मृगौला प्रत्यारोपण गरेका थिए। चार वर्षअघि संविधान जारी गर्ने समयमा दिल्लीको चासोलाई अस्वीकार गरेपछि जब दिल्लीसँगको सम्बन्ध बिग्रियो, त्यसबेलादेखि नै ओली फलोअप उपचारका लागि भारत गएका छैनन्।

उच्च स्रोतहरूका अनुसार राम्रा प्रविधिसहितका अस्पताल हुँदा पनि नजिकको छिमेकी देशमा उपचार नगराएर प्रधानमन्त्री ओली सिंगापुर र अन्य देश गएकामा दिल्लीले सहज मानेको छैन।

बालुवाटारमा भेट्न आएका विदेशमन्त्री जयशंकरलाई भने ओलीले कुटनीतिक जवाफ मात्र दिएका थिए।

‘अहिले सिंगापुरमा चेकजाँच गराइरहेको छु, प्रविधि पनि राम्रो छ’, ओलीले यति मात्रै भनेको स्रोतको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .