पदाधिकारी र केन्द्रीय कमिटी छनोट गर्ने विषय जटिल बन्दै गएपछि एमालेको दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेको छैन।
महासचिव ईश्वर पोखरेलको सहयोग लिएर अध्यक्ष केपी शर्मा ओली पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्न पार्क सफारी रिसोर्टमा बसिरहेका छन्।
एमाले अध्यक्ष ओली र महासचिव पोखरेल सर्वसम्मतिबाट छानिने भनिएका पदाधिकारीको सूची बनाउन पार्क सफारी रिसोर्टको दोश्रो तलामा जुटेका हुन्।
त्यही होटल परिसरमा महाधिवेशन प्रतिनिधिहरुको भिड लागेको छ। उता बन्दसत्र हुने सेभेन स्टार रिसोर्टमा भने उपाध्यक्ष भीम रावल भोट माग्न व्यस्त छन्।
महाधिवेशन प्रतिनिधिहरु सहमतिको सूची आउने आशमा पार्क सफारी परिसरदेखि राप्ती किनारसम्म प्रतीक्षारत छन्।
पार्टीको दस्तावेजमाथि पनि छलफल नहुने यो महाधिवेशनको बन्द सत्रमा सहभागी प्रतिनिधिहरु एजेन्डाविहीन र अलपत्र जस्तै देखिएका छन्। उनीहरु अहिले कोही फोटो खिचाउन व्यस्त छन् भने कोही गीतमा रमाउँदै बसेका छन्।
शनिबारकै बन्द सत्रबाट पदाधिकारी छान्ने सबै जिम्मा ओलीलाई सुम्पिएर विभिन्न होटल परिसरमा टहलिरहेका प्रतिनिधिहरू फुर्सदिला भएर फाटो खिचाउन पनि तल्लीन छन्।
रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने अडान नछाडेपछि ओली पक्षका नेताहरु नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बनाउन व्यस्त छन्। तर अझै पनि सहमतिबाटै या निर्वाचनबाट नयाँ नेतृत्व छान्ने टुंगो भइसकेको छैन।
Shares
प्रतिक्रिया