आज (बुधबार) छठ पर्वअन्तर्गत व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छन्।
यसका लागि उनीहरू दुलहीझैं सिँगारिएका नजिकका छठघाटमा भेला भएका छन्।
तर राजनीतिक नेताहरू भने यस्ता पर्वमा शुभकामना दिन मात्र होइन, यसैलाई आधार बनाएर एकअर्कालाई घोचपेच गर्न पनि पछि पर्दैनन्।
केही दिनअघि तिहारको शुभकामना दिँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अप्रत्यक्ष रूपमा आफ्नो पुरानो पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कटाक्ष गरेका थिए।
अध्यक्ष नेपालले शुभकामना सन्देशमा भनेका थिए, ‘तिहार र नेपाल संवतले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एकआपसको सम्मान अनि एकतामा जोड दिएजस्तै नेपाली समाजमा विविध क्षेत्रबाट देखाइएका दम्भ, अहंकार, घमण्ड, व्यक्तिवाद, मपाइँत्व र एकाधिकारवादी सोचको अन्त्य गरी समाजलाई सहअस्तित्वसहितको असल बाटोमा अगाडि बढाउन हामी सबैलाई अभिप्रेरित गर्न सकोस्।’
यस्तै आज छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन एकीकृत समाजवादी पार्टीकै पोलिटब्युरो सदस्य डा. विजय पौडेलले पनि आफ्नो पुरानो पार्टी नेकपा एमालेविरुद्ध व्यंग्य गरेका छन्।
डा. पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसपालि अस्ताउँदो सूर्यलाई अर्घ्य दिनु बढी सान्दर्भिक हुनेछ।’
याे भनाइ एमालेको सूर्य चिह्नप्रतिकै कटाक्ष हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ।
विदितै छ, नेकपा एकीकृत समाजवादी नेकपा एमालेबाटै फुटेर बनेको पार्टी हो।
Shares
प्रतिक्रिया