ad ad

राजनीति


भीम रावलद्वारा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार

भीम रावलद्वारा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार ८:४१, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसबुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज (मंगलबार) हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार गरेका छन्।

उनले आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि)– १२ विपरीत भएको दाबी गरेका छन्। 

‘गुटबन्दी’का आधारमा गर्न लागिएको बैठक र यसले गर्ने निर्णय ‘अवैध र अमान्य’ हुने रावलले घोषणा गरेका छन्। 

‘आज हुने भनिएको कथित सु.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक  १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ’, रावलले मंगलबार बिहानै भनेका छन्, ‘यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि–१२ झापामा लागू हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि?’

सर्वाेच्च अदालतको फैसलाबाट तत्कालीन नेकपा भंग भएपछि पुनजीर्वित एमालेमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको पक्ष र अध्यक्ष केपी शर्मा ओलीको समूहबीच व्यापक विवाद भएको थियो। त्यस क्रममा पार्टी फुट्न नदिन भन्दै दुवै पक्षका नेता सम्मिलित कार्यदल बनाई १० बुँदे सहमति गरिएको थियो।

जसमा एमालेलाई नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनुभन्दा अगाडि (२०७५ जेठ २) को संचरनामा फर्काउने भनिएको थियो। तर पनि माधव नेपालले यसमा अविश्वास तथा अन्य कतिपय बुँदामा असहमति जनाउँदै अलग्गै पार्टी नेकपा एकीकृत समाजवादी गठन गरे भने भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत माधव नेपाल पक्षधर १० नेताचाहिँ ओलीसँगै बसे, सहमति कार्यान्वयन हुने आशमा। 

तर अन्ततः ओलीले अदालतको फैसलापछि रामबहादुर थापालगायत माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूलाई दिइएको जिम्मेवारी यथावत् राखे। त्यसमा पनि सुदूरपश्चिम प्रदेशमा पहिले एमाले इन्चार्ज रहेका भीम रावललाई पुनः त्यो पद दिएनन्। जसले गर्दा उनले दसबुँदे आफ्नै लागि मात्र कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेका हुन्। ​

यी पनि : ​

त्यसपछि कार्यदलबाट राजीनामा दिएँ : भीम रावल

भीम रावलले यसरी गुमाए सुदूरपश्चिम प्रदेशसभाको वर्चस्व

ओलीले कार्यवाहक अध्यक्ष बनाइदिन्छु भनेकाले माधव नेपालको साथ छाडेको होइन : भीम रावल

भीम रावल देख्दा माया लाग्छ : गगन थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .