मिथिलाञ्चलमा हर्सोल्लासपूर्वक साथ मनाईने छठ पर्वको तेश्रो दिन आज (मंगलबार) खरना मनाइँदै छ। साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ।
दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाका साथ खीर बनाएर आफु ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन्।
परिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी निकै नियम निष्ठा पूर्वक मनाईने यस वर्षको छठपर्वको पहिलो दिन आइतबार ब्रतालुहरुले माछामरुवा तथा तामसी भोजन बारेका थिए। सोमबार नुहाएर अरबा अरबाईन एवं चोखो खानेकुरा खाएपछि विधिवत रुपमा छठ पर्व सुरु भएको हो।
भोली बुधबार छठ पर्वको मुख्य दिन रहेको छ। भोली छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यको अर्घ दिइन्छ।
पाँच दिनसम्म मुख्य विधि गरि मनाईने छठ पर्वको पहिलो दिन माछ मरुवा बार्ने, दोश्रोदिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, तेश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने, चौथो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुनेछ।
छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ । छठ पर्व पाँच दिन मनाइए पनि माछा मरुवा बार्ने दिनलाई मुख्य विधि नमान्दा चार दिन मात्र छठ पर्व मनाउने गरेको पाइन्छ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्छन्। छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ।
मिथिलाञ्चल लगायत तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन्। छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लागेको छ।
त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम भइरहेको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाउने कार्य जारी छ।
अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ।
अस्ताउँदो र उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ। छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ। पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन्।
Shares
प्रतिक्रिया