प्रदेश १ मा नेकपा एमालेबाट विभाजित भएर नवगठित नेकपा एकीकृत (समाजवादी) को नेतृत्वमा सरकार बनेको छ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई गठबन्धनको तर्फबाट पहिलो पाँच वर्षे अवधिमै प्रदेश १ को तेस्रो मुख्यमन्त्री बनेका हुन्।
मुख्यमन्त्री राईसँगै गठबन्धनका अन्य चार मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए। गठबन्धनको ठूलो र सदनको दोस्रो दल कांग्रेसको तर्फबाट पहिलो चरणमा २ जना मन्त्री भए।
कांग्रेसबाट हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। जसले सरकारमा कांग्रेसको नेतृत्व गरेका छन्। अर्का सांसद केदार कार्की पनि काङ्ग्रेसकै तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्।
यता, माओवादी केन्द्रबाट शेरधन राईको पालामा आर्थिक मामिला मन्त्रालय सम्हालेका इन्द्र आङ्बो त्यही मन्त्रालयमा फर्किएका छन्।
आङ्बोले प्रतिनिधित्व गर्ने माओवादी केन्द्र गठबन्धन भित्रको दोस्रो ठूलो दल हो । तर, दोस्रो ठूलो दलका नेता आङ्बो नै मुख्यमन्त्रीपछिको वरियतामा पहिलो छन्।
खासमा मुख्यमन्त्री राईको दल एकीकृत समाजवादी सदनमा चौथो र गठबन्धनमा तेस्रो ठूलो दल हो।
९२ सदस्यीय संसदमा समाजवादीका १० जना मात्रै सांसद छन्। अंकगणितीय रुपमा गठबन्धनको ठूलो दल भए पनि केन्द्रले राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस ब्याक भएको थियो ।
तर, गठबन्धनको ठूलो दलको नेतृत्व गर्ने कांग्रेसका मन्त्री हिमाल कार्की वरियतामा पनि पछि परेका छन् । कार्की माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोपछिको वरियतामा छन्।
मङ्गलबार भएको शपथग्रहण पनि कांग्रेसभित्रको विवादकै कारण दुई घण्टा धकेलिएको थियो। दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको शपथ कार्यक्रम ३ बजेसम्म पनि काङ्ग्रेसबाट मन्त्री टुङ्गो लागेको थिएन।
मन्त्री चयनकै विषयमा कांग्रेसभित्र देउवा र शेखर कोइराला गुटबीच ठूलो छलफल चलेको थियो। प्रदेश मन्त्रीमा चलेको विवाद सरेर अहिले मन्त्रीहरूको वरियतामा देखिएको हो।
'गठबन्धनभित्र ठूलो दल हामी नै हौँ। जहाँसम्म वरीयताको कुरो छ, त्यो विषय संसदीय दलको नेताका हिसाबमा पनि हेरिन्छ,' कांग्रेस उपनेता समेत रहेका मन्त्री हिमाल कार्कीले भने 'तर, जे भने पनि अहिलेको परिस्थिति केन्द्रीय आवश्यकता हो, वरीयता भन्दा काममा ध्यान दिने बेला आएको छ, हामी त्यसमै ध्यान दिन्छौँ।'
'गुट' ले वरियतामा लफडा
गठबन्धनमा प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेसको दाबी थियो। तर, कांग्रेसका दलका नेता राजीव कोइराला देउवा इतर समूहमा भएकाले मुख्यमन्त्री नबनाइएको भन्दै आलोचना भइरहेको छ।
गठबन्धनका सबै दलबाट एक/एक जना मन्त्रीले शपथ लिने तयारी थियो। तर, दुवै गुटले आआफ्नो प्रतिनिधित्व दाबी गरेपछि काङ्ग्रेसबाट दुईजना मन्त्री बनाइएको हो।
काँग्रेसको नेतृत्व गरेर अहिले सरकारमा सहभागी भएका हिमाल कार्की शेरबहादुर देउवा समूह नजिकका हुन् । उनले खासमा मुख्यमन्त्री राजेन्द्र राई पछिको वरियता पाउनु पर्ने चर्चा काँग्रेसमा थियो । तर, मुख्यमन्त्री नपाएको झोँकमा देउवा इतर समूहले दोस्रो वरियतामा कार्कीलाई आउन नदिएको काङ्ग्रेसका सांसद नै स्वीकार्छन्
'ठूलो पार्टी त हाम्रो हो नि। मुख्यमन्त्री त केन्द्रले दिएन। कम्तीमा वरियतामा त राम्रो दिनुपर्छ,' ती सांसदले भने, 'खासमा यो विषयमा त्यति ध्यान पनि गएन। हामी नेतृत्वलाई यो विषय भन्छौँ।'
यता,तेस्रो स्थानमा रहेका कांग्रेसको नेतृत्व गर्ने हिमाल कार्की भने वरीयताको क्रम सामान्य रहेको बताउँछन्। इन्द्र आङ्बो माओवादीको संसदीय दलको नेता भएकोले दोस्रो वरियता पाएको होला भन्ने उत्तर उनले नेपाल खबरलाई दिए।
कार्कीले भने जस्तो नियम जनता समाजवादी संसदीय दलका नेताका रुपमा सामाजिक विकास मन्त्री बनेका जयनारायण यादवका हकमा लागु भएन। दलको नेता भएकाले उनी आङ्बोपछि तेस्रो वरियतामा हुनुपर्थ्यो।
तर, मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई पठाएको कार्य विभाजन पत्रमा यादवलाई पाँचौ वरियतामा राखिएको छ।
Shares
प्रतिक्रिया