ad ad

राजनीति


सी भ्रमण लगत्तै चीन पुगे सात नेपाली टोली

सी भ्रमण लगत्तै चीन पुगे सात नेपाली टोली

मणि दाहाल
कात्तिक १२, २०७६ मंगलबार १३:१७,

चिनियाँ राष्ट्रपति सी चिनफिङले असोज अन्तिम साता नेपाल भ्रमण गरेसँगै नेपालबाट सत्तारुढ दल तथा सरकारी अधिकारीहरुको उत्तरी छिमेकी देशतर्फको भ्रमणले तीब्रता पाएको छ।

चिनियाँ राष्ट्रपति सी नेपाल आएको १५ दिनभित्रै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य र केन्द्रीय नेताहरु संलग्न सात वटा टोलीले चीन भ्रमण गरिसकेका छन्। यद्यपी तीमध्ये कतिपय टोलीको चीन भ्रमण सी भ्रमणअघि नै तय गरिएका थिए।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र यातायात तथा भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ सी चिनफिङको नेपाल भ्रमण लगत्तै चीन उडेका थिए। यही समयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि चीन भ्रमण गरेका छन्।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ्हेको निमन्त्रणमा ८ दिने चीन भ्रमण गरेर मन्त्री पोखरेल नेपाल फर्किसकेका छन्। चीन भ्रमणको क्रममा पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल अन्तर्राष्ट्रिय सैन्य सम्मेलन र अन्तर्राष्ट्रिय सैनिक खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी भएको थियो।

पोखरेलको भ्रमणको क्रममा नेपाल र चीनबीच करिब साढे दुई अर्ब रुपैयाँको सैन्य सहमतिमा हस्ताक्षर भएको छ।। सन् २००८ पछि सैन्य सहयोग बढाउँदै लगेको चीनले नेपाललाई उपलब्ध गराएको अहिलेसम्मकै यो ठूलो सैन्य सहयोग हो।

भौतिक योजनामन्त्री महासेठले नेतृत्व गरेको १४ सदस्यीय प्रतिनिधि मण्डल तिब्बतको लिञ्ची शहरमा आयोजना गरिएको सम्मेलनमा भाग लिन पुगेको थियो। जसमा कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, सांसद र सरकारी अधिकारीहरु रहेका थिए।

पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि यहीबेला चीनको भ्रमण गरेका छन्। श्रेष्ठ हुवेइ प्रान्तको वुहान र बेइजिङ पुगेर फर्केका छन्।

त्यसैगरी स्थायी कमिटीका सदस्यहरु डा. बेदुराम भुसाल, देवेन्द्र पौडेल, केन्द्रीय सदस्य ईश्वर रिजालसहितको टोलीले पनि चीन भ्रमण गरेको छ। सो टोलीले विभिन्न शहर घुमेर चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गरेको थियो।

उनीहरु चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन ग्वान्झाओ पुगेका थिए।

त्यसैगरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा अर्को टोलीले चीन भ्रमण गरेको छ।

‘हामी चीन भ्रमणमा जान लागेकै दिन पार्टी र सरकारका गरी फरक फरक तीन वटा टोली चीन उडेका थिए,’ नेकपा स्थायी कमिटी सदस्य भुसालले भने, ‘चीनसँग पहिलादेखि नै यस्तो आदानप्रदान हुँदै आएको छ। चिनियाँ पक्षले अन्तरक्रिया गर्न मात्रै होइन आफूले गरेको प्रगति देखाउन पनि यस्ता भ्रमण आयोजना गर्ने गर्दै आएको छ।’

यसअघि पनि सरकारी स्तरमा र पार्टीगत रुपमा भ्रमणहरु हुँदै आएका छन्। चीनबाट नेपालतर्फ यस्ता खालका भ्रमण कम हुने गरेको र नेपालबाट चीनतर्फ बढी हुने गरेको भुसालले बताए।

‘खर्चको विषय छँदैछ, चीनसँग देखाउने र सुनाउने विषय पनि धेरै छन्’, भुसाल भन्छन्, ‘हामीसँग त्यस्तो धेरै छैन।’

असोज २७ गते नै अर्को छुट्टै कार्यक्रममा सहभागी हुन सुरेश आलेमगर, सांसद रामनारण बिँडारी, लालबहादुर थापा लगायत जनजाति प्रतिनिधिहरुको टोली चीन भ्रमणमा गएको थियो। उनीहरू तिब्बतमा आयोजना गरिएको कार्यक्रम सहभागी भएर फर्के।

त्यसैगरी चीनको विदेश विभागको निमन्त्रणामा सत्तारुढ दलका विद्यार्थी नेताहरुसहितको टोली पनि चीन भ्रमणमा रहेको छ। १५ दिने अध्ययन भ्रमणका लागि यो टोली कात्तिक १ गते चीन उडेको हो।

चिनियाँ राष्ट्रपति सीको भ्रमणअघि नै दुवै देशका कम्युनिष्ट पार्टीबीच भ्रमणलाई अझै बढाउने विषयमा सहमति भएको थियो। नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको छ बुँदे सम्झौताको पाँच वटा बुँदा भ्रमण आदानप्रदान गर्नेमा केन्द्रीत छन्।

हुन त चीनले विश्वलाई आफुले गरेको प्रगती देखाउने प्रयास अन्तर्गत विश्वका अधिकांश देशहरूबाट यसरी आदानप्रदान बढाउन खोजिरहेको छ। पछिल्लो समय कस्तो देखिन्छ भने नेपालका राजनीतिकर्मी, सुरक्षाकर्मी, सरकारी अधिकारीहरूको सबैभन्दा धेरै भ्रमण चीन नै हुने गरेको छ। चीनले यो उच्च तहमा आदानप्रदान बढाएर के गर्न खोजेको हो भन्ने विषयमा कोही पनि प्रष्ट चाहिँ छैनन्।

‘चिनियाँ पक्षले पार्टी, सरकार तथा जनप्रतिनिधिहरुलाई छुट्टाछुट्टै प्रकृतिका कार्यक्रममा बोलाउने गरेको छ’, भुसालले भने, ‘उनीहरुले गरेको प्रगतिबाट सिक्नु पर्ने कुरा धेरै छन्। घुमघाम गर्दै रमाइलो मात्रै हेरेर आउँदा त के फाइदा होला र?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .