ad ad

समाज


दिदीबहिनीको चाहनाः ‘दाजुभाइको सुख, शान्ति र प्रगति’

दिदीबहिनीको चाहनाः ‘दाजुभाइको सुख, शान्ति र प्रगति’

प्रकाश सिलवाल
कात्तिक १२, २०७६ मंगलबार ११:५२,

‘दाजुभाइको सँधै सुख, शान्ति र प्रगति भएको देख्न चाहन्छु, यसपालिको तिहारको भाइटीकामा पनि यही कामना गरेँ। दाजुभाइको खुशी हाम्रो पनि खुशी हो। उनीहरु तनावमुक्त रहुन् भन्ने चाहन्छु।’

स्याङ्जा माइती भएकी नवलपुरकी सरस्वती अर्यालको मन दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली माला लगाइदिएपछि चङ्गा भएको छ। 

तिहार कसरी मनाउनुभयो भन्ने राससको प्रश्नमा अर्यालको जवाफ थियो, ‘यमराजले दाजुभाइलाई छुन नसकोस् भनेर ढोकामा तेल ठोकियो। फूल, प्रकृति र पशुपंक्षीको पनि पूजा गरियो। खुशीका साथ तिहार मनाइयो।’

नेपाल मावि, नवलपुरकी शिक्षक अर्यालले करिब एक हजार ४०० आफ्ना विद्यार्थीमाझ नाँचगान गरेर, देउसी–भैलो खेलेर रमाइलो गरेको पनि सुनाइन।

सङ्कलित रकम गरिब र विपन्न समुदायका विद्यार्थीको पाठ्यसामग्री जुटाउन खर्च गर्ने उनको योजना छ। नयाँ पुस्ता र विद्यार्थीले चाडपर्व र संस्कृतिलाई नर्बिसिउन् र आपसी सद्भावका साथ मनाइरहुन् भनेर उक्त विद्यालयले देउसी–भैलो खेलाएको थियो।

प्रत्येक कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हरेक क्षेत्र र समुदायका मानिसले दिदीबहिनी र दाजुभाइका साथै पारिवारिक मिलन एवं सद्भावका रुपमा मनाउने गरेका छन्।

अरुले झैँ सप्तरीको तिलाठी घर भई हाल काठमाडौँ बस्ने करुणा झाले पनि दुई भाइलाई टीका लगाएर तिहार मनाइन। राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाकी श्रीमती झाको अनुभवमा तराईको तुलनामा काठमाडौँमा मनाइने तिहारमा खासै भिन्नता देखिएन।

कैलाली घर भई हाल काठमाडौँ निवासी चन्द्र साउदले विगतका तुलनामा यस वर्ष राजनीतिक स्थिरता र शान्ति कायम भएका कारण दसैँ र तिहारमा सन्तोष मिलेको प्रतिक्रिया दिए।

तालीम तथा रोजगार व्यावसायी महासङ्का अध्यक्ष साउदको बुझाइमा सामाजिक सद्भावमा प्रगति भएको र पट्का पट्काउने र अरुलाई हानी हुने गरी चाँड रक्सी खाएर सडकमा हिँड्ने प्रवृत्तिमा पनि सुधार आएकाले तिहार सुखद् भएको छ।

किराँत धर्मका जानकार डा चन्द्रकुमार शेर्माले हिन्दू र किराँतीहरुको केही मिल्ने चाडपर्वमध्ये तिहार पनि परेकाले आफूले हिन्दू परम्पराकै शैलीमा भाइटीका मनाउँदै आएको बताए।

किराँतहरुको चाडपर्वको मान्यताको आधारमा बेग्लै संस्कारसहित तिहार र चाडहरु कसरी मनाउने भन्नेबारेमा अध्ययन गरिरहेका उनी ‘बलिहाङ तङ्नाम तियाहा’ ग्रन्थ लेख्दै छन्।

दसैँमा जस्तो देवीदेवताका नाममा बली नदिइनुलाई तिहारको सकारात्मक पक्षका रुपमा लिने डा शेर्मा भन्छन्, ‘हत्या, हिंसा र मारकाट नभई दियो, कलश र फूलमालाको प्रयोग हुनु तिहारको सुन्दर पक्ष हो।

मन राजाले राज्य जितेर पछि दानवीर भएर बलिहाङलाई राज्य फिर्ता गरेको इतिहासका सन्दर्भमा तिहारमा राँगा, खसी र बोकाको बली दिने प्रचलन नभएको देखिन्छ।’

धार्मिक मान्यताअनुसार यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइन्छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ। तिहारकै अन्तिम दिन नेपाली समुदायको नेपाल संवत् पनि मनाइँदै आइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .