सत्तारुढ केन्द्रीय गठबन्धनले बिहीबार संघीय मन्त्रिपरिषद विस्तार र दुईवटा प्रदेशका मुख्यमन्त्री पनि भाग लगायो।
उक्त भाग लगाउँदा बागमती प्रदेश र प्रदेश १ को एमाले सरकार ढालेर एकीकृत समाजवादीलाई जिम्मा दिने निर्णय गरिएको हो।
केन्द्रीय नेताहरु काठमाडौंमा बसेर प्रदेश मुख्यमन्त्री भाग लगाएको भन्दै प्रदेश १ मा विवाद देखिएको छ।
प्रदेश १ को मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने भएपछि नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको हो।
कांग्रेसका प्रदेश १ सचेतक रहेका केदार कार्कीले आफूहरुलाई सोध्दै नसोधी 'भाग' लगाएकोबारे सामाजिक सञ्जालमा लेखेर असन्तुष्टि जनाएका छन्।
'संघीयता को धज्जी उडाएर प्रदेश दलसँग सल्लाह नगरी आफ्नो लागि दुई राज्य मन्त्रीसँग मुख्य मन्त्री साट्नु हाम्रो लागि लज्जा हो। तुरुन्त सच्याइयोस्,' उनले भनेका छन्।
कार्कीले मात्र होइन, कांग्रेस प्रदेश १ संसदीय दलको बैठकले आफ्नो नेतृत्वको सरकारका लागि सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको छ।
बिहीबार विराटनगरमा बसेको बैठकले कांग्रेस नेतृत्वको सरकार बनाउनेबारे सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको हो।
प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले नै लिनुपर्नेमा सबै सांसद एक मत देखिएको कांग्रेसका एक नेता बताउँछन्।
प्रदेश १ मा दोस्रो ठूलो दल कांग्रेस भएकोले सरकारको नेतृत्व आफूहरूले नै पाउनुपर्नेमा कांग्रेस सांसदहरुको एक स्वर छ ।
मुख्यमन्त्री भीम आचार्य नियुक्त हुनेबित्तिकै उनीमाथि राजीनामाको दबाब बढाउने योजनामा गठबन्धन थियो।
राजीनामा नदिए अविश्वास ल्याउने चेतावनी समेत दिएको गठबन्धनले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवादको अझै पनि निरुपण गर्न सकेको छैन।
'अविश्वास प्रस्तावमा भावी मुख्यमन्त्रीको नाम हाल्नु पर्ने संवैधानिक व्यवस्थाले अविश्वास आएको थिएन,' कांग्रेसका एक नेताले भने, 'अहिले पनि प्रदेशमा मुख्यमन्त्रीको विवाद देखिन्छ, कांग्रेस आफैँ हुनुपर्छ भन्ने अडानमा यथावत छ।'
केन्द्रीय समीकरण अनुसार प्रदेश १ मा एकीकृत समाजवादी दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री पाउने चर्चा छ।
तर, आफ्नो पक्षमा मुख्यमन्त्री लिन नेपाली कांग्रेसले केन्द्रलाई दबाब दिन तथा अन्य पार्टीसँग वार्ता गर्न ७ सदस्यीय समिति पनि बनाइसकेको छ।
समितिमा संसदीय दलका नेता राजीव कोइराला, उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, संसदीय दलका सचिव चुमनारायण दवदार, सांसद शेखर थापा र विन्दिया कार्की छन्।
Shares
प्रतिक्रिया