प्रदेश १ प्रदेशसभाको नया भवन बुधबार मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका छन्।
जिल्ला समन्वय समिति मोरङको सभाहलमा बस्दै आएको प्रदेशसभा बैठक अब भने नयाँ भवनमा बस्नेछ।
असोज २२ गतेबाट सुरु हुने हिउँदे अधिवेशनको बैठक बस्ने गरी नवनिर्मित प्रदेशसभा भवन उद्घाटन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नयाँ प्रदेशसभा भवन निर्माणका लागि प्रदेश सरकारले कुल ३ करोड १० लाख १८ हजार ३ सय ६८ रुपैयाँ खर्च गरेको थियो।
अहिले बस्दै आएको भवनमा बर्साको समयमा पटकपटक पानी पस्ने गरेको थियो। साँगुरो र आगन्तुक बस्न समेत नमिल्ने अहिलेको हलको विकल्पमा नयाँ भवन बनाइएको हो।
प्रदेशसभा साँघुरो भएको र कोरोना महामारीले व्यक्तिगत दूरी कायम गरेर बसाइ व्यवस्थापन गर्न सचिवालयले सकेको थिएन।
नवनिर्मित भवनमा प्रदेशसभा सदस्यहरुका लागि ११० वटा कुर्सी, टेबल र टेबलमै माइक जडान गरिएको छ । पत्रकारहरुका लागि माथिल्लो तल्ला (बाल्कोनी)मा बसाइ व्यवस्थापन गरिएको हो।
दर्शकदीर्घामा कुल ४० जना, पत्रकारहरुका लागि २० र कर्मचारीहरुका लागि २० वटा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए।
अहिले प्रदेशसभामा सत्तारुढ एमाले, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी दलहरु माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका लागि छुट्टाछुट्टै बसाइ व्यवस्थापन पराजुलीले जनाए।
Shares
प्रतिक्रिया