ad ad

राजनीति


ओली–प्रचण्ड विवादमा नेपाल ‘तटस्थ’

ओली–प्रचण्ड विवादमा नेपाल ‘तटस्थ’

सागर न्यौपाने
कात्तिक ६, २०७६ बुधबार ११:३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले आ–आफ्ना रणनीति अख्तियार गरेपछि अर्का नेता माधवकुमार नेपाल भने तत्कालका लागि ‘तटस्थ’ बस्ने नीति लिएका छन्।

ओली–प्रचण्डबीच बनेको नयाँ समीकरण दुई महिनामै धरमराउन थालेपछि नेता नेपाल भने उनीहरुको सम्बन्धमा आउने परिवर्तनपछि मात्रै प्रतिक्रिया जनाउने निर्णयमा पुगेका हुन्।

एकताका १७ महिनामा पटक–पटक ओली–प्रचण्डबीचमा यस्ता विवाद र सहमति भइरहेको कुरालाई विश्लेषण गरेका नेता नेपालले विगतको विवादहरुबाट शिक्षा लिँदै तत्काल दुवै अध्यक्षहरुबीच देखिएको दरारमा आफूलाई कुनै पक्षमा पनि नउभ्याउने रणनीति लिएका हुन्।

विगतमा दुवै अध्यक्षहरुले आफूलाई एक–अर्कोविरुद्ध प्रयोग गरेर फाइदा लिन खोजेको विश्लेषण गरेका उनले भिन्दै समीकरण बनाउँदा चुनौती आउने देखेका छन्। ओली–प्रचण्डको स्वभावबारे जानकार नेता नेपालले तत्काल कुनै प्रतिक्रिया नजनाउँदा फाइदा हुने आफू निकटसँग बताउन थालेका छन्।

दुई महिनाअघि मात्रै दुई अध्यक्ष, वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम मिलेर नयाँ समीकरण बनाउनुका साथै आफ्नो पार्टीभित्रको वरियता घटुवा गरेको विषयप्रति उनी असन्तुष्ट रहँदै आएका छन्।

नेता नेपाल निकट स्थायी कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख बेदुराम भुसालले पार्टीलाई विधिमा अघि बढाउन नेता नेपालले नेकपाभित्र ‘स्थिर र तटस्थ नीति’ लिएको जानकारी दिए।

 दुई अध्यक्ष पार्टीभित्र ‘चलायमान’ भइरहेका बेला नेता नेपाल भने पार्टी एकतापछि बनेको नेकपालाई बलियो, संगठित र व्यवस्थित बनाउनुपर्ने पुरानै अडानमा दृढ रहेको भुसालले दाबी गरे।

नेपालखबरसँग कुरा गर्दै स्थायी कमिटी सदस्य समेत रहेका भुसालले पार्टीलाई विधि, पद्धति र मापदण्डका आधारमा चलाउनुपर्ने एजेन्डा लिएर नेपाल अघि बढेको बताए। ‘पार्टीभित्र कसले के गर्‍यो, कुन कुन नेताहरु कहाँ गए त्यो कुरा उहाँ (नेपाल)लाई सरोकार छैन, उहाँको एउटै मान्यता भनेको पार्टीभित्र अराजकता भित्रिनु हुन्न भन्ने रहेको छ।’

विभिन्न कार्यक्रममा नेता नेपालले सरकार सञ्चालन र पार्टी सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन्। सरकारमा रहेर बोल्नेमात्रै काम भएको अराजकता, भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्दै नेता नेपालले आपत्ति जनाउँदै आएका छन्।

उनले पार्टीलाई व्यवस्थित बनाउने हो भने ‘एक व्यक्ति एक पद’को नीति कार्यान्वयन गर्नुपर्ने भन्दै सरकार मनोमानी ढंगले चलाइएको प्रति विरोध गर्दै आएका छन्। नेता नेपालले सरकार पार्टीको नीति र निर्देशन बाहिर गएर सञ्चालन भएको भन्दै त्यसले समस्या निम्त्याउनेमा नेतृत्वको ध्यानाकर्षण पनि गराए। उक्त कुरालाई नेपाल निकट नेता भुसालले पनि पुष्टि गरे। उनले नेपालको भनाई उधृत गर्दै भने,‘सरकार पार्टीको नीति र निर्देशनमा चल्नुपर्छ भन्ने छ, अहिले त्यस्ताे भएकाे छैन।’

तत्कालिन एमाले–माओवादीबीच पार्टी एकता हुँदा सरकार र पार्टीको नेतृत्व आलोपालेमा गर्ने लगायतका ओली–प्रचण्डबीच पाँच बुँदे सहमति भएको बताइएको थियो।

दुई जना बसेर आफ्नो व्यक्तिगत फाइदाका लागि गरेको सहमतिको विषयमा बोल्नै नहुने र पार्टीभित्र भएका मनलाग्दीका बारेमा एकको पक्ष लिँदा त्यही पक्षले उपेक्षा गर्ने गरेको विषयलाई मनन गरेर नेता नेपालले नयाँ रणनीति अख्तियार गरेका उनीनिकट एक नेताले बताए।

त्यसो त नेकपा आफ्नो मूल नीति, संगठन निर्माण र जनताप्रति प्रतिवद्ध हुन नसकेकै कारण नेताहरुमा गुटगत राजनीति भइरहेको उनको ठहर छ।

पार्टीभित्रका सबै गतिविधि मसिनो ढंगले अध्ययन गर्ने, नेताहरुको मनस्थिति अवलोकन गर्न नेता नेपाल लागि परेका छन्। सोही आधारमा उनले पछिल्लो सचिवालयका नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिएका छन्। दशैँलगत्तै अध्यक्ष प्रचण्ड र नेता नेपालबीच पटक–पटक भेटवार्ता भएको छ।

यस्तै नेपाल र अर्का नेता वामदेव गौतमबीच पनि भेटवार्ता भएको थियो। साउनको तेस्रो साता अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रचण्ड झलनाथ र गौतम बसेर नेता नेपालको मर्यादाक्रम घटुवा गरेका थिए। त्यसपछि ओली स्वास्थ्य उपचारमा जानुअघि भदौ ५ गते प्रचण्डलाई बैठक राखेर निर्णय गर्ने अधिकार दिएर ओली सिंगापुर उडेका थिए।

कार्यकारी अध्यक्ष पद पाएको भन्दै प्रचण्डले भदौ ९ गते सचिवालयको बैठक राखेर चार जना केन्द्रीय सदस्य थप गर्नुको साथै केही नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए। ती सबै निर्णयमा कुनै प्रतिक्रिया नजनाएका नेता नेपालले त्यसपछि चुलिएको ओली–प्रचण्डबीचको असन्तुष्टिमा मुख खोलेका छैनन्। ‘उहाँको मूल नीति भनेकै पार्टी विधिमा चल्नुपर्छ भन्ने हो त्यो अडानबाट टसमस गर्नुहुन्न।’ उनी निकट नेता भुसालले भने। अबको केही महिना नेताहरुसँगको भेटलाई तीव्रता दिएता पनि आफ्नो कार्यनीति र योजना बारेमा कुनै ठोस धारणा नदिने उनी निकट नेताहरु बताउँछन्।

नेकपाभित्र नयाँ समीकरण फेरबदलका लागि अध्यक्ष प्रचण्डले दौडधुप तीव्र पारेको बताइरहेको बेला उनले भने तत्काल जोखिम उठाउने योजना नबनाएका हुन्। पछिल्लो दिन रिक्त सभामुख चयन, पार्टीभित्र कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्री ओलीले आनाकानी गरेपछि प्रचण्ड–ओली नजिकिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .