ad ad

राजनीति


कांग्रेस महाधिवेशन : स्थगित गर्ने प्रस्ताव देउवाले गर्ने कि पौडेलले?

कांग्रेस महाधिवेशन : स्थगित गर्ने प्रस्ताव देउवाले गर्ने कि पौडेलले?

केशव सावद
साउन १४, २०७८ बिहिबार १४:१३,


सत्तारुढ नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिनमा भएको ढिलाइका कारण गाउँ/नगर वडा अधिवेशन स्थगित भएपछि आशन्न महाधिवेशन अन्यौलमा परेको छ। 


योसँगै आगामी भदौ १९ सम्म महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेसले वैधानिकता कायम राख्न सक्छ कि सक्दैन भन्ने चासो बढ्दै गएको छ। महाधिवेशनबारे नेतृत्वले ठोस निर्णय गर्न नसक्दा केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेताहरुमै असन्तुष्टि बढ्दै गएको छ। 


महाधिवेशन बारे छलफल गर्न बस्दै आएका पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति पूर्वनिर्धारित मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राख्दै आएका छन्। 


वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बैठकहरूमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुनुपर्ने अभिव्यक्ति राख्दै आएका छन्। बुधबारमात्र उनले पदाधिकारी र पूर्व पदाधिकारी बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै महाधिवेशन नसर्ने जिकिर गरेका थिए। ‘महाधिवेशन सर्दैन,’ सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि वरिष्ठ नेता पौडेलले भनेका थिए। 


बैठकहरुमा सभापति देउवा पनि केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका कार्यसमितिहरुको अधिवेशन कार्यतालिका हेरफेर गर्न निर्देशन दिँदै आएका छन्। ‘तल्ला तहको अधिवेशन हेरफेर गर्नुस्।

तलमाथि पार्नुस्। जे गर्नुस्, मिलाउनुस्। तर, भदौको १६ लाई १७ मात्रै पनि बनाउन मिल्दैन। त्यो मितिमा केन्द्रीय महाधिवेशन गर्नैपर्छ,’ बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा देउवाले भनेका थिए, ‘महाधिवेशन भदौको १६ देखि नै हुन्छ, हुन्छ, हुन्छ।’


कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। उक्त कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते भनिएको थियो।


यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो।

तर, गत शनिबार सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले साउन १२ गते हुने भनिएको गाउँ÷नगर वडा अधिवेशन स्थगित गरेको थियो। शनिबारको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता छानबिन समितिले  सभापति देउवालाई प्रतिवेदन बुझाइसकेपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर नयाँ कार्यतालिका निर्धारण गर्ने बताएका थिए।

 
छानबिन समितिले गत मंगलबार प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ। तर, पदाधिकारी र पूर्वपदाधिकारीको बुधबारको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको जिम्मा फेरि छानबिन समितिलाईनै दिएको छ। 
बैठकपछि प्रवक्ता शर्माले छानबिन समितिको प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र बुधबार (भोलि) सम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए। उनले बुधबार दिउँसो २ बजे फेरि पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्ने र क्रियाशील सदस्यताबारे टुंगो लगाउने बताएका छन्।


महाधिवेशनको नयाँ कार्यतालिकाका बारे टुंगो लगाउन पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै आए पनि कांग्रेसले ठोस निष्कर्ष भने निकाल्न सकेको छैन। पदाधिकारी बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि पार्टीभित्रै पदाधिकारी र पूर्वपदाधिकारीहरुको आलोचना भइरहेको छ। आशन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उनले महाधिवेशन नभए पार्टीको वैधानिकता समाप्त हुने बताएका छन्।


‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्वपदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो? यसको जवाफ कसले दिने?,’ उनले सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका छन्।


सभापति देउवानिकटकै केन्द्रीय सदस्यहरु पनि पदाधिकारी र पूर्वपदाधिकारीले ठोस निष्कर्ष निकाल्न छोडेर महाधिवेशन अनिर्णयको बन्दी बनाएको टिप्पणी गर्दै आएका छन्। ‘पदाधिकारी र पूर्वपदाधिकारीहरु बस्दै आउनुभएको छ। कुनै निष्कर्ष भने निकाल्नुहुन्न,’ देउवानिकट एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘गर्न सकिन्न भने मिलेर सार्नु, गर्न सकिन्छ भने मिलेरै गर्नु नि।’


उनले कांग्रेस जहिल्यै दुविधामा बस्ने पार्टी नभएको जिकिर गर्दै कार्यकर्ताहरु अधिवेशनको प्रतिक्षामा रहेका कारण अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिए। उनले यस विषयमा केन्द्रीय कार्यसमिति बैठकमा कुरा उठाइने पनि जानकारी दिए। ‘पदाधिकारी र पूर्वपदाधिकारीमात्रै बसिरहनुभएको छ। हामीसँग सल्लाह हुँदैन। केन्द्रीय कार्यसमिति बैठकमा कुरा उठाउँछौं।’


संस्थापन पक्षकै अर्का केन्द्रीय सदस्यले सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच ‘जुँगाको लडाइँ’का कारण अधिवेशन अन्योलमा परेको जिकिर गरे। ‘दुबैलाई पुरानो कार्यतालिकाअनुसार महाधिवेशन सम्भव छैन भन्ने थाहा छ। तर, खुलेर बोल्न कसैले सकिरहनुभएको छैन,’ ती नेताले भने, ‘बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने भन्ने कुरामा उहाँहरु अल्झिनुभएको छ।’


संस्थापन पक्षका एक प्रभावशाली नेताले कोरोना, वर्षात् र राजनीतिक परिस्थितिको मूल्यांकनका संस्थापन र इतर समूहबीच समझदारी भए महाधिवेशन सर्ने सम्भावना अधिक रहेको प्रतिक्रिया दिए। तर,उनको बुझाइमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच समझदारी कायम हुने सम्भावना भने न्यून छ।


‘रामचन्द्र दाइ अपोजिसन नेता हुनुहुन्छ। परिस्थिति कस्तो छ भने रामचन्द्र दाइले अधिवेशन सार्न पर्छ भन्यो भने कमजोर भएका कारण पछाडि सार्यो भन्ने जान्छ। शेरबहादुर दाइले सारौँ भन्दा यो सभापतिमा रहिरहने चाहनाले सार्यो भन्ने पर्छ,’ उनले भने, ‘रामचन्द्र दाइ कमजोर नहुने, शेरबहादुर दाइ लोभी नहुने भन्नाले रामचन्द्र दाइलाई बलियो छु भन्ने देखाउनुपर्ने र शेरबहादुर दाइलाई पदको लोभी होइन भन्ने देखाउनुपर्ने स्थिति छ। यस्तोमा सहमति होला जस्तो लाग्दैन।’


उनले महाधिवेशन गर्नुको विकल्प नभएको जिकिर गर्दै नेतृत्व तहले अहिलेको अवस्थामा महाधिवेशन आयोजना गर्न नसकिने भए गर्न नसक्नुको कारण खुलाएर अघि बढ्नुपर्ने आवश्यकतासमेत सुझाए। 


आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका युवा नेता कल्याण गुरुङ पनि आगामी भदौ १९ भित्र महाधिवेशन सम्पन्न गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिन्छन्। ‘कुनै पनि हालतमा भदौ १६ मा केन्द्रीय महाधिवेशन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि हामी सबै एकजुट भएर लाग्नुपर्छ।’


केन्द्रीय सदस्य गुरुङले साउन २५ गतेबाट अधिवेशन सुरु गरे पनि भदौ १६ मा केन्द्रीय महाधिवेशन आयोजन गर्न सकिनेसमेत दाबी गरे। ‘साउन २५ बाट सुरु गरे पनि बुथ कमिटी छाडेर छ वटै तहको अधिवेशन सम्पन्न गरेर भदौ १६ मै केन्द्रीय महाधिवेशन गर्न सकिन्छ,’ उनले भने।  

 
उनको कुरामा सभापति देउवा निकटकै नेताहरु पनि सहमत देखिन्छन्। ‘हामी सबै सहज तरिकाले काम गरेकै छौं। मान्छेहरु सहरमा घुमिरहेका छन्। गाडीहरु चलेकै छन्,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका ती नेताले प्रश्न गरे, ‘के कारणले रोक्ने ? रोक्ने भए, रोक्नुको कारणका बारेमा छलफल गर्नुपर्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .