ad ad

राजनीति


कांग्रेसमा संस्थापनइतर समूहः विशेष महाधिवेशन गरौं, संस्थापनः हुँदैन

कांग्रेसमा संस्थापनइतर समूहः विशेष महाधिवेशन गरौं, संस्थापनः हुँदैन

फाइल तस्बिर


केशव सावद
साउन १४, २०७८ बिहिबार ७:४३,

क्रियाशील सदस्यता छानबिनमा भएको ढिलाइका कारण गाउँ/नगर र वडा अधिवेशन स्थगन भएपछि नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्योलमा परेको छ। भदौ १९ सम्म महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेसमा अहिले विशेष महाधिवेशन गर्नुपर्ने विषयले प्रवेश पाएको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा संस्थापनइतर समूहले विशेष महाधिवेशन गर्नुपर्ने बताएको हो।

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशन केन्द्रित छलफलमा विशेष महाधिवेशनको कुरा उठेको पुष्टि गरे। तर, उनले सो माग राख्ने नेताहरुको नाम भने खुलाएनन्।

स्रोतका अनुसार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले विशेष महाधिवेशनको माग राख्दै आएका छन्। उनको मागमा वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सकारात्मक देखिएका स्रोतको दाबी छ। केसीले २०१४ सालको नजिर देखाउँदै सोहीअनुसार बढीमा एक वर्षका लागि विशेष महाधिवेशन गरेर संवैधानिक संकट टार्नुपर्ने धारणा राख्दै आएका छन्। 

इतर समूहले उठाएको विषयलाई संस्थापन समूहले भने महाधिवेशन नगर्ने नियतले अघि सारिएको प्रस्तावको रुपमा अथ्र्याएको छ। संस्थापन समूहले महाधिवेशनको तयारी भइसकेका कारण अहिले आएर विशेष महाधिवेशन हुन नसक्ने प्रष्टीकरण दिएको छ। 

‘विशेष महाधिवेशन गर्ने कुरा पनि उठे। महाधिवेशन नहोस् भन्ने पनि छन्,’ सहमहामन्त्री डा. महतले भने, ‘यतिका कुरा भइसकेपछि विशेष महाधिवेशन भन्ने हुँदैन।’ 

निर्धारित मितिमै महाधिवेशन गर्न कांग्रेसमा विकल्पहरुको खोजी भइरहेको छ। सभापति देउवा र वरिष्ठ नेता पौडेलले निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। बुधबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि पनि पौडेलले महाधिवेशन नसर्ने जिकिर गरे। 

कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। 

उक्त कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते भनिएको थियो।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो।

तर, गत शनिबार बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले साउन १२ गते हुने भनिएको गाउँ÷नगर वडा अधिवेशन स्थगित गरेको थियो। 

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता छानबिन समितिले  सभापति देउवालाई प्रतिवेदन बुझाइसकेपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर नयाँ कार्यतालिका निर्धारण गर्ने बताएका थिए। 

समितिले मंगलबार पार्टीलाई प्रतिवेदन बुझाइसकेको छ। तर, पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको जिम्मा फेरि छानबिन समितिलाई नै दिएको छ।  

बैठकपछि प्रवक्ता शर्माले छानबिन समितिको प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र बुधबार (भोलि) सम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए। उनले बुधबार फेरि पदाधिकारी बैठक बुढानीलकण्ठमा बस्ने र क्रियाशील सदस्यताबारे टुंगो लगाउने बताए।

‘क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको छ। साढे चार घण्टा विषयगत समीक्षा भयो। नेताहरुले आ–आफ्ना धारणा राख्नुभयो,’ प्रवक्ता शर्माले भने, ‘छानबिन समितिका साथीहरुले प्रतिवेदन हेरेर अधुरा काम हेर्न जिम्मेवारी दिएको छ र त्यसपछि पार्टीले निर्णय गर्नेछ।’

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदनमा भएका सामान्य कुराहरुमात्रै समितिले सच्याउने प्रतिक्रिया दिए। 

‘हामीले प्रतिवेदनमा भएका केही सामान्य सच्याउनुपर्ने कुरा भए अनौपचारिक रुपले सच्याउँछौं,’ बैठकपछि उनले भने। 

संयोजक लेखकले धनुषा–४, सर्लाली–२, बारा, सप्तरीको सदस्यता विवाद र समायोजनको विषय नेतृत्व तहले नै समाधान गर्ने पनि जानकारी दिए। 

साढे आठ लाखभन्दा बढी क्रियाशील सदस्य रहेको कांग्रेसले अझै केही जिल्लामा क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। कांग्रेस महाधिवेशन आउन अब ३५ दिन मात्रै बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .