सत्तारुढ नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद थामिने लक्षण अझै देखिएको छैन। सभापति शेरबहादुर देउवा सत्तामा पुगेपछि कांग्रेसको क्रियाशील सदस्यता विवाद झनै पेचिलो हुँदै गएको छ। प्रधानमन्त्री बनेपछि सभापति देउवाले क्रियाशील सदस्यता विवाद समाधानमा चासो दिनै छाडेको उनी इतर समूहले आरोप लगाइरहेको छ।
क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेसका जिल्ला कार्यालयदेखि केन्द्रीय कार्यालयसम्म नेता कार्यकर्ताले धर्ना दिइरहेका छन्। केन्द्रीय कार्यालय सानेपामा नेता कार्यकर्ता धर्ना बसेपछि देउवा अहिलेसम्म त्यहाँ जान सकेका छैनन्। सानेपा धर्नास्थल बनेपछि देउवाले पार्टी बैठक नै बालुवाटारमा राखेका छन्। तर उनको यो कदमको पनि चर्को आलोचना भएपछि अब पार्टी बैठक बालुवाटारमा नबस्ने भएको छ।
क्रियाशील सदस्यता विवादलाई लिएर केन्द्रीय कार्यालय सानेपामा धर्नारत एकजना कांग्रेस कार्यकर्ताको परिवारकै अनौठो विवरण भेटिएको छ। क्रियाशील सदस्यता वितरणमा धाँधली भएको दाबी गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनरत सर्लाहीका रामगोविन्द रायको परिवारका १३ जना क्रियाशील सदस्य रहेको तथ्य फेला परेको छ।
कांग्रेस नेता अमरेशकुमार सिंहको समर्थनमा तीन दिनदेखि सानेपामा आमरण अनशनरत सर्लाही क्षेत्र नम्बर ४ स्थित बसबरिया गाउँपालिका-१ निवासी राय परिवार गाउँमा हुने चुनावमा समेत निर्णायक हुने देखिएको छ। रायका छोराछोरी, भाइभतिजा, ज्वाँइसम्धी गरेर १३ जना क्रियाशील सदस्य रहेको तथ्य कांग्रेसको वडा कार्यसमितिले जनाएको छ।
क्रियाशील सदस्यता वितरणका क्रममा कांग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले चारवटै निर्वाचन क्षेत्रमा धाँधली गरेको आरोप लगाउँदै राय अहिले धर्नारत छन्। रायको उक्त आरोपपछि वडा कार्यसमितिले उनको परिवारका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। वडा कार्यसमितिले राय प्रतिनिधिसभा सदस्य सिंहको उक्साहटमा बिनाकारण अनशनमा बसेको दाबी गरेको छ।
‘सर्लाही जिल्ला निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने (साविक मानपुर गाविस) बसबरिया गाउँपालिका-१ मा वडा कमिटीको निर्णय बमोजिम क्रियाशील सदस्यता वितरण र इन्ट्री भएको हो। इन्ट्री भएकामध्ये (पार्टी कार्यालय सानेपामा अनशनरत) रामगोविन्द रायको परिवारमा मात्रै १३ जना क्रियाशील सदस्य रहेका छन्', वडा कार्यसमितिले सभापति शेरबहादुर देउवालाई पठाएको पत्रमा भनिएको छ, 'तर पनि पार्टीको बदनाम गर्न र महाधिवेशन ओझेलमा पार्न सांसद अमरेशकुमार सिंहको उक्साहटमा बिनाकारण अनशनमा बस्नु भएको कुरा ध्यानाकर्षण गराइएको छ।'
तर रायले भने ‘सर्लाहीका पार्टी सभापतिले चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेकोविरुद्ध आमरण अनशन कार्यक्रम’ उल्लेख गरिएको ब्यानर राखेर बुधबारबाट सानेपामा धर्ना सुरु गरेका थिए।
आमरण अनसनस्थल पुगेर सांसद सिंहले ऐक्यबद्धता जनाएका थिए। त्यस्तै सभापतिका दाबेदार कांग्रेस नेता शेखर कोइराला पनि धर्नास्थल पुगेर अनशनकारीलाई समर्थन जनाएका थिए। सिंहले आमरण अनशनमा ऐक्यबद्धता जनाएको केही घण्टापछि बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभा सदस्य पद त्यागका लागि राजीनामा पत्र बुझाएका थिए।
‘मधेसमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनःस्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव विपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु,’ सिंहले भनेका छन्।
Shares
प्रतिक्रिया