ad ad

कोशी


महोत्तरीको भंगाहमा कर्फ्यु कायमै

महोत्तरीको भंगाहमा कर्फ्यु कायमै

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार ८:४४, महोत्तरी

महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कर्फ्यु) कायमै राखेको छ। भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको हो। जुन आज पनि जारी छ। 

भङ्गाहा  नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। 

यस सम्बन्धमा थप अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गरेको आदेशमा उल्लेख छ।

बिहीबार दिउँसो पडरियामा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले निकालेको र्‍यालीको क्रममा भागदौड मच्चिएको थियो। सङ्गठनको र्‍यालीमा अज्ञात व्यक्तिले लुकीछिपी घुँयत्रो र ढुङ्गा हानेपछि तनाव बढेको पडरियावासी बताउँछन्। घटनालगत्तै पुगेको प्रहरी टोलीले भड्कँदो स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नुपरेको थियो। 

अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

पडरियाको घटनापछि वरपरका अन्य बस्तीमा पनि साम्प्रदायिक सद्भाव बिगार्ने मनसायका तत्वले धार्मिक आस्थाका ठाउँमा अस्वाभाविक गतिविधि बढाएका छन्। अवस्था थप जटिल हुन नदिन प्रजिअ पहाडीले जिल्लाका सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र आम नागरिकसँग अपिल  गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .