रियो ओलम्पिक २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै चर्चा पाएकी कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका बुवा डाक्टर पारस सिंह कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित भएका छन्।
डा.सिंह लण्डनस्थित रोयल फ्रि अस्पतालका युरोलोजिकल सर्जन हुन्। कोरोना संक्रमण देखिएपछि उनी लण्डनस्थित आफ्नै घरमा आइसोलेसन बसी उपचार गरिरहेका छन्।
उनलाई १५ दिनअघि ज्वरो देखिएको थियो। त्यो बेला उनलाई सुक्खा खोकी पनि लागेको थयो। तर श्वासप्रश्वासमा समस्या नभएका कारण उनी पनि घरै बसेर उपचार गरिरहेका हुन्।
अहिले आफूलाई धेरै सन्चो भएको उनले नेपालखबरलाई बताए।
‘मलाई अहिले ज्वरो कम छ तर अलि कमजोरी महसुस भएको छ’, डा. सिंहले भने, ‘म निको भएपछि फेरि बिरामीको सेवामा फर्किनेछु।’
चाँडै निको भएर काममा फर्किने मनस्थितिमा रहेको सुनाउँदै उनले भने, ‘डाक्टरी पेसामा लागेपछि बिरामीको उपचारमा फर्किनै पर्छ। म सोमबारदेखि काममा जान्छु।’
उनले सावधानी अपनाउन सके कोरोनाबाट बच्न सकिने बताए।
डा.पारसकी जीवनसंगिनी गरिमा राणाले बिरामी भएपछि आफू छुट्टै कोठामा र गौरिका र छोरा पनि बेग्लै बस्दै आएको बताइन्। औषधिको रुपमा सिटामोल खाने गरेको बताउँदै श्रीमती गरिमाले भनिन्, ‘उहाँले सिटामोल र भिटामिन सी खाने गर्नुहुन्थ्यो।’
यसैगरी गौरिकाले आफ्नो बुवालाई कोरोना संंक्रमण भएपछि घरमा सबैले सावधानी अपनाएको उल्लेख गरिन्।
‘यो रोग लागेपछि लुकाउन हुन्न’, गौरिकाले भनिन्, ‘यो महामारी र लकडाउनका बेला मानसिक स्वास्थ्यका लागि योग, ध्यान उपयुक्त हुने रहेछ।’
गौरिकाले सन् २०२१ जुलाई २३ देखि अगष्ट ८ सम्म हुने टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। कोरोना महामारीका कारण पौडी खेल्न समस्या भएको उनले सुनाइन्।
‘म अहिले घरैमा अभ्यास गरेर आफ्नो फिटनेश कायम गरिरहेकी छु’, उनले भनिन्।
प्रतिक्रिया