बेलायतको लन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक ६० वर्षीय लक्ष्मण श्रेष्ठको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ।
श्रेष्ठसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ। अहिले कोरोनाका कारण भूपू गोर्खाहरुको एक पछि अर्को मृत्युको खबरले बेलायतबासी नेपालीहरुलाई निकै दुखित बनाएको छ।
पुर्ख्यौली घर स्याङ्जाबाट पोखरा सरेका श्रेष्ठ लामो समयदेखि लन्डनको प्लमस्टिडमा बस्दै आएका थिए।
एक पारिवारिक सदस्यका अनुसार ज्वरो आएपछि घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई सुन्तला खाँदा सुन्तलाको दाना सर्केपछि एक्कसी श्वास फेर्न गाह्रो भएको थियो। त्यसपछि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो, जहाँ डाक्टरले कोरोना पोजिटिभ भएको जानकारी परिवारलाई दिएका थिए।
उपचारकै क्रममा बुधबार बिहान लन्डनस्थित गाइज अस्पतालनमा श्रेष्ठको मृत्यु भएको पासा पुच युकेका पूर्व अध्यक्ष कुमार श्रेष्ठले बताए।
बेलायतमा कोरोना संक्रमणबाट बुधबार एकैदिन ७ सय ६१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट बेलायतलमा हालसम्म १२ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ९८ हजार भन्दा बढी संक्रमित भएका छन्।
Shares
प्रतिक्रिया