चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्। युरोप भ्रमणपछि वाङ मस्को पुगेका हुन्।
टेलिभिजनमा प्रशारण गरिएको भेटको छोटो फुटेजमा वाङले चीन र रुसबीचको सम्बन्धलाई अन्य मुलुकको दबाबले फरक नपार्ने बताए।
पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङको रुस भ्रमणका लागि आफू प्रतीक्षारत रहेको बताए।
वाङले समकक्षी सेर्गेइ लाभ्रोवसँग भेटिसकेका छन्।
युक्रेनमा रुसले आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा वाङले रुस भ्रमण गरेका हुन्। रुसको आक्रमण सफल नभएपछि बेइजिङले रुससँग दुरी कायम गर्न थालेको विश्लेषण भएको थियो।
राष्ट्रपति सीले त्यसबेला विदेश मन्त्रालयका रुस हेर्ने अधिकारीलाई घटुवा गरेका थिए। त्यसपछि चीनले अमेरिकाका लागि राजदूत रहेका छिन काङलाई विदेशमन्त्री बनाएको थियो।
यसलाई अमेरिकासँग सम्बन्ध सुधार गर्ने चीनको प्रयासका रुपमा हेरिएको थियो। फेब्रुअरीको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको बेइजिङ भ्रमण पनि तय भएको थियो।
तर, त्यहीबेला चीनले आफ्नो आकासमा जासुसी बेलुन पठाएको भन्दै अमेरिकाले भ्रमण रद्ध गर्यो। चीनले मौसमसम्बन्धी अध्ययनका लागि पठाइएको बेलुन बाटो बिराएर अमेरिका पुगेको स्पष्टीकरण दिएको थियो।
तर, अमेरिकाले त्यसलाई ठूलो मुद्दा बनाउँदै क्षेप्यास्त्र हानेर बेलुन फुटाएपछि दुई मुलुकबीच पुनः सम्बन्ध चिसियो।
फेब्रुअरी १७–१९ मा म्युनिख सेक्युरिटी फोरममा भेट गरेका वाङ र ब्लिंकेनले एकअर्काप्रति तीक्ष्ण टिप्पणी गरेका थिए। त्यसपछि अमेरिकी विदेशमन्त्री ब्लिंकेनले चीनले रुसलाई हतियार आपूर्ति गर्न लागेको आरोप लगाएका थिए।
चीनले भने अमेरिका यसबारेमा अरुमाथि औँला उठाउन सक्ने स्थानमा नभएको जवाफ दिएको थियो।
Shares
प्रतिक्रिया