भारतमा जातीय कविको उपमा पाएका कवि स्व अगम सिंह गिरीले भारतमा सही सम्मान नपाएको गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा) का अध्यक्ष विनय तामाङले बताएका छन्।
आज दार्जीलिङमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना एवं संस्कृति विभाग र नेपाली अकादमीद्वारा आयोजित कवि गिरीको ९२औं स्मृति समारोहलाई सम्बोधन उनको सही सम्मान नभएको बताएका हुन्।‘बङ्गाली समुदायले रवीन्द्रनाथ टेगोरलाई जस्तो सम्मान दिएको छ, त्यस्तै सम्मान हाम्रा जातीय कवि अगमसिंह गिरीलाई पनि दिन आवश्यक छ’, विनयले थपे।
यसअवसरमा तामाङले कविको गिरीको जनदिन अर्थात् २७ दिसम्बर (पुस ११) का दिनलाई सरकारी विदा घोषणा गरिनुपर्ने मागमा दार्जिलिङ पहाड़का सबै साहित्यकारले पश्चिम बङ्गाल सरकारलाई पत्राचार गर्नुपर्ने माग गरे।
दार्जिलिङका साहित्यकारले गिरी जयन्तीमा सरकारी विदाको माग गर्दै राज्य सरकारलाई पत्राचार गरेको खण्डमा यसबारे थप कार्य आफूले गर्ने पनि विनय तामाङले बताए।
कार्यक्रम दार्जिलिङस्थित लुइस जुब्लीमा सम्पन्न भएको थियो।
यसैगरी गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापाले जीटीएले राजनीतिभन्दा माथि उठेर जातीय हितका लागि कार्य गर्ने प्रतिबद्धता जताए।यसका साथै उनले उनले यस वर्षको गिरी पुरस्कार साथै जीवनकालीन उपलब्धि पुरस्कारको पनि घोषणा गरे।
यसवर्ष जीवनकालीन उपलब्धि पुरस्कार कला अनि संस्कृतिका लागि सोनाम छिरिङ, शिवकुमार राई स्मृति पुरस्कार नाट्य क्षेत्रमा खगेन्द्र दीक्षित, साहित्यमा प्रदीप गुरुङ, सङ्गीतमा अरुणा लामा स्मृति पुरस्कार दावा ग्याल्मो र नवोदित कलाकारका लागि छुजाङ डुक्पा पुरस्कार अजनिश राईलाई प्रदान गरिने भएको छ।
यसका साथै जीटीएले अर्को वर्षदेखि स्व. धनवीर मुखिया स्मृति पुरस्कार पनि दिने घोषणा गरेको छ। विशेष उत्कृष्ट नाट्यकर्मीहरूलाई नै उनीहरूको योगदानको कदर गर्दै यो पुरस्कार दिइने भएको सूचना एवं सांस्कृतिक विभागका सहनिर्देशक भानुकान्त घिसिङले जानकारी गराए।
जीटीएले यी पुरस्कारहरू नेपाली नयाँ वर्ष अर्थात पहिलो बैसाख १५ गतेका दिन एक कार्यक्रममाझ यो पुरस्कार प्रदान गर्ने भएको छ।
आज दार्जिलिङमा मात्र होइन, तर कालेबुङ, खरसाङलगायत अन्य विभिन्न स्थानमा पनि अगमसिंह गिरीको जन्मजयन्ती साहित्यिक र सांस्कृतिक कार्यक्रमको आयोजन गरी मनाइयाे।
प्रतिक्रिया