चीनले जुन १७ का दिन सांघाइस्थित च्याङनान पोतप्रांगणमा एउटा छोटो समारोह आयोजना गरेर पहिलो विशाल विमानवाहक जहाज (सुपरक्यारिअर) उद्घाटन गरेको छ। यो चीनको नौसैनिक शक्ति वृद्धिको महत्वपूर्ण कोशेढुंगो हो। सो जहाज अप्रिल २३ मै उद्घाटन हुनुपर्ने थियो। तर, महत्वपूर्ण पार्टपुर्जाको आपूर्तिमा भएको ढिलाइ र कोभिड–१९ का कारण कामदारहरु क्वारेन्टिनमा बस्नुपरेको कारण काममा बाधा पर्न गयो।
यो नयाँ गैरआणविक उर्जाचालित जहाजको नाम टाइप–००३ फुजियान राखिएको छ। यसले ८५ हजारदेखि एक लाख टन पानी विस्थापित गर्ने अनुमान छ। त्यस्तै, यो जहाजले ५० देखि ७० विमान बोक्न सक्ने बताइएको छ। जसले गर्दा आकार र पानी विस्थापनको हिसाबले यो जहाज अमेरिकी नौसेनाको फोर्ड र निमित्ज क्लास विमानवाहक जहाजलाई टक्कर दिने पहिलो गैरअमेरिकी क्यारिअर बन्न पुगेको छ।
चीनको यो पहिलो सुपरक्यारिअरले चिनियाँ नौसेनाको क्षमतालाई काफी मात्रामा विस्तार गर्छ र यसलाई क्षेत्रीय शक्तिबाट आंशिक मात्रामा वैश्विक शक्तिमा रुपान्तरण गर्छ।
फुजियान ‘इलेक्ट्रोम्याग्नेजिक लन्च सिस्टम’ (ईएमएएलएस) भएको पहिलो चिनियाँ क्यारिअर हो। जुन अघिल्ला क्यारिअरभन्दा निकै ठूलो फड्को हो।
चीनका यसअघिका दुई विमानवाहक जहाजका ‘फ्लाइट डेक’ भिरालो थिए। जसका कारण ती क्यारिअरमा निश्चित प्रकारका विमान मात्रै उडान र अवतरण गर्न सक्थे। त्यस्तै, तिनको इन्धन र हतियारमा समेत सीमितता थियो।
ईएमएएलएस प्रविधि परम्परागत प्रणालीभन्दा उन्नत हो। परम्परागत प्रणालीमा जहाज चालु गर्दा निकै तातो वाष्प प्रयोग गर्नुपर्ने हुन्थ्यो। त्यसको सट्टा ईएमएएलएस प्रणालीमा शक्तिशाली विद्युतचुम्बकीय शक्ति प्रयोग हुन्छ। जसले थप र अझ गह्रौँ विमान जहाजबाट छिटो उडाउन सकिन्छ। यो क्यारिअरबाट जे–१५ बी, जे–२० को नौसैनिक भेरियन्ट, एफसी–३१ र केजे–६०० विमान पनि उडाउन सकिन्छ।
यो जहाजका कारण चीनले आफ्नो नौसैनिक शक्ति पहिलेभन्दा निकै टाढासम्म प्रक्षेपण गर्न सक्छ। त्यसभन्दा महत्वपूर्ण कुरा, विमान, ड्रोन, रसद ओसार्ने जहाजलगायत चीनले सैन्य प्रविधिका अन्य क्षेत्रमा हासिल गरेका उपलब्धिहरुले यो जहाज सञ्चालनमा थप सहयोग पुग्नेछ।
यसअघि चीनले टाइप–००१ लियाओनिङ र टाइप–००२ सानदोङ नामक परम्परागत उर्जाचालित विमानवाहक जहाज सञ्चालनमा ल्याएको छ। चीनले आणविक उर्जाचालित चौथो जहाज पनि बनाउँदैछ। यो नयाँ विमानवाहक जहाज भने ती दुई प्रकारका जहाजबीचकोे संक्रमणकालीन डिजाइन भएको विश्वास गरिन्छ।
फेब्रुअरी २०१८ मा चाइना स्टेट सिपबिल्डिङ कर्पोरेसन (सीएसएससी) ले आणविक उर्जाचालित विमानवाहक जहाज निर्माण थालेको बताएको थियो। जसले चिनियाँ नौसेनालाई ‘२०३५ भित्रमा रणनीतिक परिवर्तन र खुला समुद्रमा युद्ध तयारी क्षमता हासिल गर्न’ सघाउने जनाइएको थियो।
तसर्थ फुजियान भिरालो डेक भएका लियाओनिङ तथा सानदोङ र आणविक उर्जाचालित चौथो विमानवाहक जहाजबीचको मध्यवर्ती क्यारिअर हो।
फुजियानमा चीनका पुराना विमानवाहक जहाजका केही तत्व पनि समावेश हुनसक्छन्। १९८५ मा चीनले सेवाबाट हटाइसकिएको एचएमएएस मेलबर्न नामक सानो विमानवाहक जहाज अस्ट्रेलियाबाट किन्यो। त्यो जहाजलाई भत्काउन ठिक पारिसकिएको थियो। जसका विभिन्न पार्टपुर्जामा चीनले खास चासो देखायो। जहाज खरिद गरेपछि त्यसको ‘फ्लाइट डेक’ उप्काएर किनारामा राखियो र त्यसमा चिनियाँ पाइलटहरुले उडान र अवतरण अभ्यास गरे।
सो जहाज २००२ सम्म भत्काइएको थिएन।
चीनको पहिलो विमानवाहक जहाज लियाओनिङको नाम पहिले भार्याग थियो। जुन सोभियतकालीन एड्मिरल कुज्नेत्सोभ क्लास जहाज थियो। त्यो जहाज सोभियत संघमा १९८५ मा बनाउन थालिएको थियो। तर, जहाजको काम पुरा नहुँदै सोभियत संघ पतन भयो। निर्माण कार्य रोकियो। युक्रेनको भागमा परेको त्यो अधुरो जहाज १९९८ मा चीनले किन्यो। त्यसको गहिरो अध्ययन ग¥यो, त्यसलाई बनायो र अन्ततः २०१२ मा सेवामा खटायो।
चीनको दोस्रो विमानवाहक जहाज सानदोङ पनि लियाओनिङमै आधारित थियो। तर, त्यसमा चीनले निकै सुधार गरेको थियो।
नयाँ विमानवाहक जहाजको ढाँचा यी दुई पुराना क्यारिअरभन्दा निकै फरक छ। दुई वटा विमानवाहक जहाज निर्माण गरिसकेपछि त्यसबाट सिकेको पाठले तेस्रो जहाज निर्माणमा निकै सहयोग पुग्यो। फुजियान २०१५ मा निर्माण सुरु भएको थियो।
चीन विश्वको सबैभन्दा ठूलो जहाज निर्माता मुलुक हो। त्यसैले विमानवाहक जहाजको संख्यामा सम्भवत चीनले अमेरिकालाई भेट्टाउन सक्छ। तर, विमानवाहक जहाज सञ्चालन र कारबाहीमा महारथ हासिल गर्न भने चीनलाई लामो समय लाग्न सक्छ। किनभने अमेरिकासँग यस्ता आधुनिक जहाज सञ्चालन गरेको सय वर्षभन्दा लामो अनुभव छ।
तथापि, चीनले सिक्नका लागि त्यति लामो समय गुजार्नेपर्ने देखिँदैन। किनभने ऊ अमेरिका र अन्य मुलुकको विमानवाहक जहाज सञ्चालनको अनुभव र तथ्यांकमा भर पर्न सक्छ। जबकि विमानवाहक जहाज सञ्चालनको सुरुवात गरेका अमेरिकाजस्ता मुलुकले भने पहिले काम गर्ने अनि गल्तीबाट फेरि पाठ सिक्ने घुमाउरो बाटो अपनाउनुपरेको थियो।
चीनले आक्रामक रुपमा नौसैनिक जहाज निर्माण थालेको छ। २०३५ सम्ममा ६ वटा क्यारिअर ब्याटल ग्रुप (जसमा एउटा विमानवाहक जहाज र अन्य थुप्रै जहाज हुन्छन्) बनाउने घोषणा गरेको छ। यसले चीनको सुरक्षा स्वार्थ विश्वभर फैलाउने महत्वाकांक्षा, प्रशान्त क्षेत्रमा लामो समयदेखि कायम अमेरिकाको प्रभुत्वलाई चुनौती इच्छा र ताइवानविरुद्ध सैन्य विकल्प खुला राख्ने चीनको प्रयासलाई संकेत गर्छ।
त्यस्तै, विमानवाहक जहाज थप्ने चीनको प्रयासलाई प्रशासन, राष्ट्रवाद र रणनीतिक हिसाबकिताबले पनि अघि बढाएको छ।
प्रशासनिक पक्षको कुरा गर्दा चीनको विमानवाहक जहाज थप्ने कार्यक्रमले चीनको भित्री राजनीतिक वृत्त र केन्द्रीय सैनिक आयोगमा चिनियाँ नौसेनाको बढ्दो प्रभावलाई संकेत गर्छ। फुजियानको उद्घाटनले के पुष्टि गर्छ भने चिनियाँ नौसेनाको हैसियत बढेको छ र राजनीतिक व्यवस्थाभित्र चिनियाँ सेनाका अन्य शाखाभन्दा नौसेनाले लोकप्रियता हासिल गरेको छ।
चीनको यो कार्यक्रमलाई अघि बढाउनुमा राष्ट्रवादको पनि भूमिका छ। किनभने विमानवाहक जहाज राष्ट्रिय शक्तिको प्रतीक हुन्। ऐतिहासिक रुपमा हेर्ने हो भने विमानवाहक जहाज महाशक्ति मुलुकले मात्रै सञ्चालन गर्ने गरेको पाइन्छ। तसर्थ, चीन त्यो सम्भ्रान्त क्लबमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ।
चीनको उदाउँदो समुद्री रणनीतिले पनि यो कार्यक्रममा भूमिका खेलेको छ। २०५० सम्ममा विश्वव्यापी नौसैनिक शक्ति बन्ने चीनको लक्ष्य छ। जतिबेला उसका नौसेनाको परिचालन अमेरिकाकै हाराहारीमा हुनेछ। अहिलेसम्म चीनको नौसैनिक जहाज निर्माणको गति समयतालिका अनुसार नै चलिरहेको छ।
संख्याका आधारमा चीनसँग अहिले विश्वकै सबैभन्दा ठूलो नौसेना छ तर जहाजको भारका आधारमा अझै पनि अमेरिका नै अगाडि छ।
(एसिया टाइम्सबाट)
Shares
प्रतिक्रिया