भारतका उत्तरपूर्वी राज्यहरूको जक्सन मानिने दार्जिलिङको सिलगढ़ी सुन तस्करीको मुख्य स्थल र बाटो भइरहेको छ।
पछिल्ला केही समययता सिलगढ़ी तथा यसका संलग्न क्षेत्रबाट राजस्व गुप्तचर निर्देशालय (डीआरआई)-ले भकाभक सुन तस्करहरूलाई पक्राउ गरिरहेको छ भने यस्ता तस्करहरूबाट व्यापक मात्रामा सुन जफत गरिरहेको छ।
यसै क्रममा सोमबार राति डीआरआईका अधिकारीहरूले सिलगढ़ीको दार्जिलिङ मोड़ क्षेत्रबाट २५ केजी ७७६ किलोग्राम सुनसहित मणिपुरनिवासी दुई युवकलाई पक्राउ गरेका छन्।
पक्राउ परेका युवकका नाम मोहम्मद फिरोज (२१) र अमिर खान (२४) हो। डीआरआई अधिकारीहरूका अनुसार गोप्य सूचनाको आधारमा एक अभियान चलाएर दुवै तस्करलाई पक्राउ गरिएको हो। तस्करीका लागि ल्याइएको उक्त सुन लुगामा बेह्रेर वाहनको पछिल्तिरको पाइपमा लुकाइएको थियो।
बरामद सुनमा १०१ वटा सुनको बिस्कुट ९ वटा गोल्ड बार रहेको पनि बताइएको छ।बरामद सुनको भारतीय मूल्य १० करोड़ १५ लाख ९७ हजार रहेको बताइएको छ।
स्मरणरहोस्, पछिल्ला समयमा म्यान्मारबाट भारतमा सुनको तस्करी बढ़ेको छ। यो तस्करीको धन्धामा मणिपुरी युवकहरूको संलग्न देखिएको छ। पछिल्लो १५ अक्टोबरको दिनको दिन पनि गोप्य सूचनाको आधारमा एक अभियान चलाएर डीआरआईका अधिकारीहरूले सिलगढ़ीको मल्लगढ़ी क्षेत्रबाट ३६ वटा सुनको बिस्कुटसहित चारजनालाई पक्राउ गरेका थिए।
पक्राउ परेका चारैजना मणिपुरनिवासी थिए। एक बसमा यात्रा गरिरहेका ती चारैजनाले उक्त सुनको बिस्कुट स्पोर्ट्स शुमा लुकाएर राखेका थिए। जानकारीका अनुसार उनीहरूले उक्त सुन म्यान्मारबाट शिलङको बाटो भएर गुवाहाटी हुँदै सिलगढ़ी ल्याएको केरकारअवधि थाह लागेको थियो।
डीआरआईका अधिकारीहरूले पनि भारत-म्यान्मार सीमाबाट छिराएर सिलगढ़ीलगायत कोलकाता आदि स्थानमा सुनको तस्करी बढ़ेको कुरालाई स्वीकारेका छन्। उनीहरूका अनुसार सुन तस्करीलाई रोक्नका लागि कठोर दृष्टि राखिएको छ।
प्रतिक्रिया