मस्कोबाट मेक्सिको जान लागेका १८ जना नेपाली जर्मनीको फ्रयांकफोर्ट विमानस्थलमा अध्यागमन विभागको नियन्त्रणमा परेका छन्।
मेक्सिको जान लाग्दा फ्रयांकफोर्ट विमानस्थलमा सुरक्षा जाँचका क्रममा भिसा र कागजात नक्कली भएको शंकाले उनीहरूलाई जर्मनीको सुरक्षा निकायले नियन्त्रण लिएको बुझिएको छ।
बर्लिनस्थित नेपाली राजदूतावासले सुरक्षा निकायलाई सम्पर्क गर्दा १८ जना नेपाली विमानस्थल अध्यागमन विभागले नियन्त्रणमा रहेको जनाएको छ।
उनीहरूलाई नक्कली भिसा र कागजातका कारण नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको नेपाली राजदूतावास स्रोतले नेपालखबरलाई बतायो।
ती नेपाली मस्को भएर आएका कारण पूर्ण अनुसन्धानपछि मस्को नै फर्काउने जानकारी नेपाली राजदूतावासलाई प्राप्त भएको छ।
नियन्त्रणमा लिएका नेपालीहरूको परिचय हालसम्म गोप्य राखिएको र यसबारेमा नेपाली राजदूतावासलाई पनि कुनै जानकारी दिइएको छैन।
राजदूतावास स्रोतले भन्यो, ‘सुरक्षा निकायको नियन्त्रणमा रहेका ती नेपालीहरू बारेमा थप जानकारी प्राप्त भएको छैन। मस्को फर्काउँदा नेपालीहरू अलपत्र पर्ने र झन् ठूलो समस्यामा पर्ने देखिन्छ।’
तर नेपाली राजदूतावासका तर्फबाट उनीहरूको उद्धार गर्नेबारे भने कुनै पहल भएको देखिँदैन।
जर्मनीको फ्रयांकफोर्ट एयरपोर्टमा कार्यरत एक नेपालीले भने उनीहरूसहित ६० नेपाली पाँच दिनदेखि उक्त एयरपोर्टमा अलपत्र परेका बताएका छन्।
तीमध्ये केही मेक्सिकोबाट फर्काइका हुन् भने धेरैजसो मेक्सिको जाने तयारीमा छन्।
बर्लीनस्थित नेपाली राजदूतावास स्रोतले भने १८ जना नेपाली विमानस्थल अध्यागमन विभागको नियन्त्रणमा रहेको मात्र जानकारी दिएको हो।
Shares
प्रतिक्रिया