कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझालाई नेपाली कांग्रेसले फकाउन गृहकार्य थालेको छ।
कांग्रेसबाट कारबाहीमा परेपछि असन्तुष्ट ओझासँग दूरी घटाउँदै नेपाली कांग्रेस कैलालीका नेताहरूले बुधबार भेट गरेर समसामयिक विषयमा छलफल गरेका छन्।
०७४ सालमा कैलाली ५ बाट आकांक्षी रहेका ओझाको टिकट खोसेर कांग्रेसले शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवालाई चुनावी मैदानमा उतारेको थियो।
पहिलोपटक संसदीय चुनाव ‘फेस’ गरेकी राणा वाम गठबन्धनबाट उम्मेदवार एमालेका नारदमुनि रानासँग ४ हजार ८८० मतान्तरले हारिन्।
त्यसबेला रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन्।
०७० सालको संविधान सभाको उपनिर्वाचन जितेका ओझा ०७४ मा टिकट नपाएपछि असन्तुष्ट बने। ओझाकै कारण आरजुको पराजय भएको भन्दै कांग्रेसले उनलाई कारबाही गर्यो। जुन कारबाही अहिलेसम्म फुकुवा भएको छैन।
त्यसपछि गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले ओझाको साथ खोजेको थियो। त्यसबेला प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ओझालाई भेट्न चाहेका थिए तर उनले भेट गरेनन्।
स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका नृपबहादुर वड उम्मेदवार बने। तर, उनी स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग हारे। लामो समय कांग्रेसमा रहेर राजनीतिमा सक्रिय ओझाको समर्थन हमाललाई थियो।
कारबाहीमा परेका उनै ओझाले यसपालि आरजुको निर्वाचन क्षेत्र कैलाली ५ मा कांग्रेसबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन्। यसले यसपटकको निर्वाचनमा पनि कांग्रेसलाई क्षति हुने आकलन गर्दै कांग्रेस नेताहरू ओझालाई मनाउन लागिपरेका हुन्।
कांग्रेस कैलालीका नेताहरूले ओझा र देउवाको सम्बन्ध सुमधुर पार्न मध्यस्थताको भूमिका निर्वाह गरिरहेका छन्। बुधबारको छलफलमा ओझाले कांग्रेसबाटै कैलाली ५ मा प्रतिनिधि सभा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्।
नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, केन्द्रीय सदस्य नृप वड, सुदूरपश्चिमका सामाजिक विकासराज्यमन्त्री टेकबहादुर रैका, प्रदेश कमिटीका कोषाध्यक्ष उत्तम कठायत, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट, कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारलगायत नेताहरूले ओझाको घरमै पुगेर भेटघाट गरेका थिए।
भेटका क्रममा ओझाले कैलाली–५ मा कांग्रेसबाट चुनाव लड्न चाहेको बताएको कांग्रेस कैलाली जिल्ला सचिव नृप सुनारले जानकारी दिए।
ओझाको भनाइ उधृत गर्दै सुनारले भने, ‘नेपाली कांग्रेस पार्टी मेरो घर हो, म आफ्नो घरबाटै आगामी चुनाव लड्न चाहन्छु।’
ओझाले सभापति शेरबहादुर देउवाले बोलाए जुनसुकै बेला पनि भेट्न तयार रहेको समेत बताएका छन्। ओझासँगको भेटघाट सकारात्मक भएको कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले बताए।
‘जहाँ कमीकमजोरी भएको छ, त्यहाँबाट करेक्सन गरेर अगाडि बढौँ भन्ने आग्रह हामीले उहाँ (पुष्करनाथ) सँग गरेका थियौँ,’ उनले नेपालखबरसँग भने, ‘यसमा उहाँ पनि सकारात्मक देखिनुभएको छ।’
याे पनि : गठबन्धनविरुद्ध स्वतन्त्र मेयर उदाएको धनगढीमा आरजु कति सुरक्षित?
Shares
प्रतिक्रिया