काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आम सर्वसाधरणलाई अपराधको बारेमा नै थाहा नभएको टिप्पणी गरेका छन्।
बुधबार राजधानीमा आयोजित ‘उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठि–२०७९’मा सहभागी भएका मेयर शाहले सम्बोधनको क्रममा नेपाल प्रहरीसँग सहकार्य गरेर अघि बढ्न नेपाल प्रहरी तयार भएको बताए।
काठमाडौं उपत्यकामा प्रहरीसँग सहकार्य गरेर फोहोर ब्यवस्थापनमा अघि बढ्ने शाहले बताए। साथै, सीसीटीभी विस्तार गर्दै राति फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याइने पनि शाहले बताएका छन्।
उनले सडकमा फोहोर फाल्नुलाई पनि ‘अपराध’ कै संज्ञा दिएका छन्।
गोष्ठिमा मेयर शाहले राखेको भनाई जस्ताको तस्तैः
आज निकै खुसी लागेको छ, नेपाल प्रहरीले आयोजना गरेको तेस्रोपटक कार्यक्रममा आउन पाएका छौं। पहिला पनि ट्राफिक सुरक्षासम्बन्धी विभिन्न कार्यक्रममा गएका थियौं। हालसालै पनि हामी नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनको लागि नक्सा पास भएको छ त्यही प्रयोजनमा ल्याउनका लागि, उदाहरणका लागि बेसमेन्टमा नक्सा पास हुँदा पार्किङका लागि हुने तर त्यहाँ लुगा पसल, रेस्टुरेन्ट जस्ता अरु ब्यापारिक प्रयोजनमा भएका कुराहरुलाई नियमन गर्नका लागि पनि नेपाल प्रहरीसँग सहकार्य गर्दैछौं।
यस अन्तर्गत काठमाडौं महानगरपालिकाको नगर प्रहरी, नेपाल प्रहरी लगायतले यसमा सहकार्य गर्दैछ। आज निकै खुसी लागेको छ, उपत्यकास्तरिय अपराध अनुसन्धान समीक्षामा आउन पाउँदा। यो समीक्षामा धेरै कुरा भन्दापनि, २/४ वटा कुराहरु छन्। जुन उपत्यकामा मात्र नभई देशैभर काम लाग्छन।
पहिलो कुरा, अपराध भनेको के हो? यो नै नेपालमा साधरण जनताहरुलाई भन्ने नै थाहा हुँदैन्। कतिपय क्रियाकलापहरु भइरहेका हुन्छन्, तर यो अपराध हो र? भनिन्छ। कतिपय बुवाआमाले बच्चाहरुलाई गाली गर्ने, कुट्ने अपराध हो र? भनिन्छ। मेरो बच्चा हो मैले त कुट्न पाइहाल्छु नि भनिन्छ। विद्यालयमा शिक्षकहरुले विद्यार्थीलाई ह्यारेस्ट गर्ने, गाली गर्ने लगायतका कामहरु अपराध हो र? भनिन्छ। हामी त शिक्षक हो हामीले त गर्न पाइहालिन्छ नि भनिन्छ। अपराध के हो? भन्ने कुराको लिटरेसी हुन जरुरी छ जस्तो लाग्छ। श्रीमान श्रीमतिले एक अर्कालाई मेरो श्रीमान हो जे पनि गर्न पाइहालिन्छ नि भन्नेजस्तो देखिन्छ। त्यसकारण अपराध भनेको के हो? भन्ने कुरामा ध्यान पुग्नु आवश्यक देखिन्छ।
अहिले शारिरिक क्राइम एकदमै कम देखिन्छ। चोक चोकमा, टोल टोलमा निकै झगडाहरु हुन्थ्यो। अहिले कम हुन्छ। अहिले ती झगडाहरु साइबरमा पुगिसकेको छ। हाम्रो डिजिटल लिटरेसी पनि कति छ भन्ने कुरामा ध्यान दिनुपर्छ। अपराध अनुसन्धान गर्दैगर्दा हामीलाई अुनसन्धानको विषयमा लिटरेट छौं कि छैनौं भन्ने पनि अनुसन्धान हुन जरुरी छ।
हामीले नेपालमा लिटरेसी रेट के छ भनेर बुझ्नका लागि फेसबुकमा गए पग्छ। कमेन्टमा ‘गो’ लेख्नुस अनि बस गुडेर जान्छ भनेर लेख्यो भने त्यहाँ हजार, पन्ध्र सय वटा ‘गो’ लेखेको भेटिन्छ। भनेको हाम्रो, डिजिटल लिटरेसी त्यहाँ छ। ह्वाट्सएपमा कमेन्ट आउँछ, त्यहाँ ट्रान्सफर फि १५ रुपैंया तिरिदिनुस् त्यसपछि लोट्रि पर्छ भनेर आउँछ। त्यो ट्रान्सफर फि तिर्ने धेरै हुन्छन्। त्यस्ता क्रियाकलाप गर्नेमाथि नियमन हुनुपर्छ।
हाम्रै गैरिगाउँमा, मेरै घर अगाडि विदेशीहरुले पूरै घर नै लिएर राख्नुभएको थियो। पछि थाहा भयो, उहाँहरुले यस्तै पैसाको ठगी गर्ने कल सेन्टर खोल्नुभएको रहेछ। अस्ति कार्यान्वयन पनि भयो। हामीले अनुसन्धान गर्दा अपराध भनेको के हो?, साइबर क्राइम र न्यायलयका कुराहरुमा ध्यान दिनुपर्छ।
हामीले अपराधीलाई समाइसकेका हु्रन्छौं, तर न्यायलयमा गएर पनि ढिलासुस्ति हुन्छ। धेरै केसहरुमा तुरुन्तै कारबाही गर्न सकिने कुराहरु ६ महिला, एक वर्ष लम्बिन जान्छ। हाम्रो अनुसन्धान पनि चाँडो र पुष्टि पनि चाँडो हुनुपर्छ। कारबाही चाँडो हुँदा जो कारबाहीमा पर्नपर्ने हो त्यसले कारबाही पाउनपर्ने, जसले न्याय पाउनपर्ने त्यसले न्याय पाउनपर्ने कुराहरुलाई ध्यान दियौं भने अपराध निकै कम हुन जान्छ।
मान्छेले आफ्नो काम इमानदारितपूर्वक गर्यो भने सबै चिजको समाधान हुन्छ। हामीलाई कक्षा १ देखि नै (अनेस्टि इज बेस्ट पोलिसि) भनेर किन पढाइयो भने ८ वटा सब्जेटमा जति पढेपछि इमानदार हुनु भनेको ९० प्रतिशत काम त्यहीँबाट हुन जाँदो रहेछ। त्यसकारण हाम्रा विभिन्न निकायहरु सरकारका तहहरु हामी इमानदार भएर काम गर्यौं, हाम्रो मनको काम इमानदारपूर्वक गर्यौं भने अपराध कमी गर्न सहज हुन्छजस्तो मलाई लाग्छ। यो कार्यक्रममा बोलाइदिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईंहरुलाई शुभकामना दिन चाहन्छु, अबको दिनमा नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने नै छ। आइजीसापले अघि २५ हजार सिसिटीभि चाहिएको छ भनेर भन्नुभएको छ, हामीले यसपालि काठमाडौं महानगरपालिकाको बजेटमा सिसिटीभिको लागि पनि बजेट राखिएको छ। अहिले फोहोर ब्यवस्थापनमा धेरै गाह्रो भएको छ, ट्राफिक प्रहरीसँग को अर्डिनेशन गरेर फोहोर कसले फालिरहेको छ भनेर नियमन गर्नुपर्छ। आजभोलिबाट काठमाडौंको सडकको फोहोर सबै उठिसक्छ, घरको पनि सबै फोहोरहरु उठ्दैछ। बाटोमा फोहोर फाल्नु पनि अपराध हो। मेरो घर गन्हाइरहेको थियो त्यही भएर बाटोमा फोहोर फालेको भनेर भन्न पाइएन्। यो अपराध हो कि होइन भनेर पनि हामीले भन्न सक्नुपर्छ। धन्यवाद।
Shares
प्रतिक्रिया