समझदारीसँगै तीनवर्षदेखि निलम्बित क्यानको निलम्बन फुकुवा हुने बाटो खुलेको छ। आइसीसीले गठन गरेको स्वतन्त्र समूहले यसअघि असोज ३ र ४ गते चुनाव गर्ने भनि पत्रिकामा सार्वजनिक सुचना जारी गरेपछि राखेप सदस्यसचिव रमेश सिलवालले असन्तुष्टि जनाएका थिए।
उनले राखेको स्वीकृति नलिएर चुनाव नगर्न निर्देशन दिएपछि क्यानको केन्द्रीय चुनाव अन्योलमा परेको थियो। लगत्तै सदस्यसचिव सिलवालले स्वयमले आइसीसीका प्रतिनिधिहरुलाई नेपाल बोलाई चुनावका विषयमा सोमबार छलफल गरेका थिए।
आइसीसीका बोर्ड सदस्यहरु इमरान ख्वाजा र अमर शेखसँग सोमबार बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म भएको दुईघण्टा भएको छलफल सौहार्दपूर्ण तरिकाले टुंग्गिएको सिलवालले जानकारी दिए।
सिलवालले जनाए अनुसार आइसीसी प्रतिनिधि र राखेपबीच भएका चारवुदेँ समझदारी यस्ता छन्ः
१) असोज १० र ११ गते क्यानको केन्द्रीय निर्वाचन गर्ने।
२) स्वतन्त्रता, निष्पक्ष र पारदर्शी ढंगबाट चुनाव गर्नेमा दुवै पक्षको प्रतिबद्धता।
३) अक्टोबर १२ र १३ गते बस्ने आइसीसीको बोर्ड बैठकमा नेपालको प्रतिबन्ध फुकुवाको प्रस्ताव लैजाने।
४) नेपालको क्रिकेट विकासका लागि ग्रासरुट, आन्तरिक प्रतियोगिता, खेलाडी प्रशिक्षणमा आइसीसीले सहयोग गर्ने तथा नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा बढी भन्दा बढी सहभागिता सुनिश्चित गर्ने।
क्यानको केन्द्रीय कार्यसमिति १७ सदस्यीय हुनेछ। जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित १३ सदस्य चयन हुनेछन्। उनीहरुको कार्यकाल ४ वर्षीय हुनेछ।
क्यानको मतदाता भने ५९ सदस्य छन्। जिल्लाबाट १–१ जना प्रतिनिधि र प्रदेशमा दुई जिल्ला बराबर एक जना प्रतिनिधि हुनेछन्।
आइसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गरेको थियो।
क्यानको विवाद टाइमलाइन–
२०६८ पुस – माओवादी नेता टंक आङबुहाङको नेतृत्वमा क्यानको निर्वाचन
२०७२ पुस – टंक आङबुहाङको नेतृत्वको क्यानको कार्यकाल सकिदैँ।
२०७२ मंसिर– टंक आङबुहाङ पक्षले असन्तुष्टिका साथ मंसिर २९ गते भएको साधारण सभा बिथोल्ने प्रयास। मध्यराति सम्पन्न साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष, महासचिवमा अशोकनाथ प्याकुरेल चयन।
२०७२ पुस २४– राखेपले उक्त निर्वाचित क्यानलाई आफ्नो अनुमति नभएको भन्दै रमेशकुमार सिलवालको अध्यक्षमा तदर्थसमिति गठन।
२०७३ बैशाख १३ गते– सरकारी हस्तक्षेत्र र अनियमितताको आरोपमा आइसीसीद्धारा क्यानमाथि प्रतिबन्ध।
२०७३ कार्तिक– विवाद समाधान र नयाँ विधान बनाउँन विनयराज पाण्डेको अध्यक्षतामा सल्लाहकार समिति गठन। निर्वाचित क्यानको असन्तुष्टि। सल्लाहकार समितिमा असहभागिता।
२०७३ फागुन– निर्वाचित समुहका चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल सल्लाहकार समितिमा सहभागी।
२०७४ भदौ ६ गते– सल्लाहकार समितिले बनाएको नयाँ विधान, काठमाडौंमा भएको क्यानको विशेष साधारण सभाले संशोधन सहित पारित। सोही विधान अनुरुप ३७ जिल्लामा निर्वाचन। तर, आइसीसीले साधारण सभाले गरेको संशोधन मानेन्।
२०७५ बैशाख ५ गतेः क्यानको विशेष साधारण सभाले सल्लाहकार समितिले बनाएको विधान हुबहु पारित।
२०७५ जेठ २४– पारित विधानअनुसार जिल्लामा चुनाव भए नभएको हेर्न र विधानअनुसार नभएको ठाउँमा पुनः चुनाव गर्न, संघ र केन्द्रको चुनावको जिम्मासहित अनुगमन समिति गठन। उक्त स्वतन्त्र समूहको सक्रियतामा जिल्ला र प्रादेशिक चुनाव गर्नुपर्ने।
२०७६ भदौं २१– जिल्लासँगै सम्पूर्ण प्रादेशिक चुनाव सम्पन्न।
२०७६ भदौं २५– केन्द्रीय निर्वाचन असोज ३-४ गते गरिने भन्दै स्वतन्त्र समितिद्वारा सार्वजनिक सुचना गरि। सोहीदिन नै स्वतन्त्र समितीका सदस्य राजेश्वर श्रेष्ठलाई बोलाउँदै सदस्य सचिव रमेश सिलवालले आफूहरुको स्वीकृति नलिइ सुचना जारी गरेको, २१ दिने सुचना दिनुपर्ने, निर्वाचन मण्डल आफूले पठाउने लगायतका शर्तहरु राखेपछि अन्योल श्रृजना।
२०७६ भदौं ३०– राखेप, आइसीसी प्रतिनिधि र स्वतन्त्र कमिटीबीच असोज १० र ११ गते चुनाव गर्ने समझदारी।
प्रतिक्रिया