औडीको क्यु७ एसयूभी भारतीय बजारमा सार्वजनिक भएको छ। कम्पनीले सीमित संस्करणको उक्त मोडलको कार भारतमा सार्वजनिक गरेको हो। भारतमै यसको मूल्य ८२ लाख १५ हजार भारु अर्थात् १ करोड ३० लाख नेपाली रुपैयाँ राखिएको छ। नयाँ औडी क्यु७ कालो रंगसँगै एक्सटेरियरमा कस्मेटिक फरकपनायुक्त रहेको छ।
स्पोर्टी र आकर्षक देखिने उक्त कार टायटन ब्ल्याक फिनिसयुक्त अलोय ह्विलयुक्त रहेको छ। हाल बजारमा बिक्री भइरहेको औडी क्यु७ सन् २०१५ मा कम्पनीले भारतमा लन्च गरेको थियो। औडीले आफ्नो नयाँ महंगो एसयूभीलाई वायरलेस चार्जिङ, लेदर सिट, नेविगेसन, पानारोमिक सनरुफ, रिभर्स पार्किङ क्यामरा र स्मार्टफोन इन्टिग्रेसनजस्ता उन्नत प्रविधियुक्त फिचर राखेको छ। कारमा स्वतः पार्क गर्न सघाउने फिचर पनि राखिएको छ। ड्राइभरको लागि अड्याप्टिभ सस्पेन्सनजस्ता सुविधादायी फिचर कारमा रहेको छ।
त्यस्तै सुरक्षालाई मध्यनजर गर्दै क्यु७ एसयूभीमा आठवटा एयरब्याग रहेको छ भने एन्टिलक ब्रेकिङ सिस्टम पनि रहेको छ। डिजेल भेरिएन्टमा ३.० लिटको भी६ इन्जिन रहेको छ। जसले २९१०–४५०० आरपीएममा २४५बीएचपी र १५००–३००० आरपीएममा ६०० एनएम टर्क जेनरेट गर्ने क्षमता राख्छ।
यो कारले ७.१ सेकेन्डमा शून्यबाट सय किमि प्रतिघण्टा गति लिन सक्छ। त्यस्तै पेट्रोल भेरिएन्टमा २.० लिटर पेट्रोल इन्जिन लगाइएको छ। २४८ बीएचपी पावर र ३७० एनएम पिक टर्क जेनरेट गर्ने क्षमता यो इन्जिनको रहेको छ। दुवै भेरिएन्टमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ।
Shares
प्रतिक्रिया