३४ औं मिनेटमा उज्बेकिस्तानकी काराचिक लुदमिलाले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाएकी थिइन्। मैदानको मध्यभागबाट आएको लामो पासलाई नेपाली डिफेन्सले रोक्न नसक्दा काराचिकले वान भर्सेस वानमा पोस्टमा प्रहार गरेकी थिइन्।
वान भर्सेस वानमा आएको प्रहारलाई नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाएपनि रिबाउन्डमा आएको बललाई खाली पोस्टमा प्रहार गर्दै काराचिकले पहिलो गोल गरेकी थिइन्।
खेलको ५०औं मिनेटमा साफिना रुसानियाले उज्बेकिस्तानका लागि दोस्रो गोल गरिन्। उनले नेपालका तीन खेलाडीलाई छक्याउँदै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई नेपाली गोलरक्षक सुब्बाले बचाउन सकिनन्।
खेलको १४ औं मिनेटमा नेपाली कप्तान निरु थापा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन्। मिडफिल्डमा विपक्षी खेलाडीसँग ठोकिंदा उनी घाइते भएकी थिइन्। निरु स्ट्रेचरमा मैदानबाहिर निस्केपछि उनको स्थानमा सरु लिम्बू मैदान प्रवेश गरेकी थिइन्।
प्रतियोगितामा नेपालले अब मंगलबार ताजिकिस्तानसँग खेल्नेछ। सोमबारमात्रै प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो।
प्रतिक्रिया